Logo
Logo

यी ६ मन्त्री, जसलाई जनताले पत्याएनन्…


3.1k
Shares

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा वर्तमान सरकारमा रहेका ६ जना मन्त्री पराजित भए । प्रतिनिधिसभा निर्वाचनमा जितेर फेरि पनि संसदीय यात्रा तय गर्ने सपना बोकेका बहालवाला ६ जना मन्त्रीलाई यसपटक जनताले भने पत्याएनन् ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, गृहमन्त्री बालकृष्ण खाँण, उर्जामन्त्री पम्फा भुसाल, खानेपानीमन्त्री उमाकान्त चौधरी, खेलकुदमन्त्री महेश्वर गहतराज र राज्यमन्त्री उमेश श्रेष्ठ आगामी पाँच वर्षका लागि संसद बाहिरै हुनेछन् ।

निर्वाचनमा पराजय भएसँगै उनीहरुले पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेको छ । जनमतबाट अस्वीकृत भएपछि ‘नैतिकताका आधारमा राजीनामा दिनु’को साटो उनीहरु आफुअनुकुल काम गराउनकै लागि ‘पद छाड्न’ अस्वीकार गरिरहेका छन् ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं–८ बाट स्वतन्त्र उम्मेदवारसँग प्रतिनिधिसभा निर्वाचनमा पराजित भए । तर पनि सरकारमै छन् । अहिले उनी आफूअनुकूल निर्णय गरेर ‘पैसा बाँड्ने योजनामा लागिपरेको’ मन्त्रालय स्रोतको दाबी छ ।

स्रोतका अनुसार उनी सचिवस्तरीय निर्णय गरेर राजनीतिक दलका नाममा खोलिएको प्रतिष्ठान र संघसंस्थामा पैसा वितरण तयारी गरिरहेका छन् । उनले आफू अनुकूल ५ लाखदेखि १ करोड २५ लाखसम्म रकम उपलब्ध गराउन लागिएको स्रोतले बतायो ।

त्यस्तै गृहमन्त्री बालकृष्ण खाँण रूपन्देही–३, मा राप्रपाका उम्मेदवार दीपक बोहरासँग पराजित भए । एमालेको समर्थन रहेका बोहराले ३६ हजार ७ सय १७ मत ल्याउँदै जित हात पारे भने पराजित कांग्रेसका गृहमन्त्री खाँणले ३४ हजार ३६ मत पाए ।

उता, खानेपानीमन्त्री उमाकान्त चौधरी पनि चुनावमा पराजित भएर पनि मन्त्रीको कुर्सीमै छन् । उनी कांग्रेसबाट उम्मेदवार बनेका उनी नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीबाट पराजित भएका हुन् । नैतिकताका आधारमा राजीनामा दिनुपर्ने जनआवाज उठिरहेका बेला मन्त्री चौधरी पनि पद छाड्ने विषयमा मौन छन् ।

निर्वाचनमा पराजित भएपछि मन्त्री पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यात्मक व्यवस्था भने छैन । तर, निर्वाचन गराउने सरकार आफैं ‘काम चलाउ’ हुने भएकाले जनमतबाट अस्वीकृत मन्त्रीले राजीनामा दिनु नै उत्तम हुने देखिन्छ ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषाल पनि ललितपुर ३ बाट उम्मेदवार थिइन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीसँग पराजित भइन् ।

प्रतिनिधिसभा निर्वाचनमा तेस्रो नम्बरमा पुगेकी मन्त्री भुसालले पनि राजीनामा दिएकी छैनन् । उनी दैनिकजसो कार्यकर्ता भेटघाट र मन्त्रालयका काममा व्यस्त छिन् ।

मन्त्रीमा युवा तथा खेलकुदमन्त्री महेश्वर गतहराज पनि प्रतिनिधिसभा निर्वाचनमा पराजित भए । माओवादी केन्द्रका उम्मेदवार गहतराजलाई एमालेका सूर्य ढकालसँग पराजित भएका हुन् । मन्त्री गहतराजले पनि हालसम्म राजीनामा दिएका छैनन् ।

निर्वाचनमा पराजित हुने सूचीमा राज्यमन्त्री उमेश श्रेष्ठ पनि छन् । चितवन–२ बाट उम्मेदवार रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग पराजित भएका हुन् । श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवाका ‘विश्वास पात्र’का रूपमा चिनिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्