Logo
Logo

अनलाइनबाट सट्टाबाजी गराउने एक व्यक्ति पक्राउ


756
Shares

काठमाडौं । ‘रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’ मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न रहेको अभियोगमा महोत्तरीकाे महोत्तरी गाउँपालिका-१ घर भई ललितपुर महानगरपालिका-२ सानेपा बस्ने २० वर्षीय आदर्श ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

फिफा विश्वकप २०२२ लगायत विश्वमा संचालन हुने खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्न प्रयोग हुने उक्त एप्लिकेसनमार्फत सट्टाबाजी लगाउने रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले विगत ८ महिनादेखि सट्टाबाजी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट एकाउन्ट कारोबार गरेको प्रहरीले जनाएको छ । उनले विभिन्न व्यक्तिका नागरिकताको प्रतिलिपि समेत खरिद गरी सोबाट विभिन्न सेवा प्रदायकहरुको सिमकार्ड समेत खरिद गरेर वालेटमा संकलन गरेको रकम आफ्नो खाता रहेको विभिन्न बैंकमा रकमान्तर गरेको पाइएको प्रहरीको भनाइ छ ।

उनले नविल, सिद्दार्थ र एन.आई.सी.एसिया बैंकमा क्रमश ६९ लाख ६ हजार ७ सय ७० रुपैयाँ, ४५ लाख ५३ हजार ५ सय २३ रुपैयाँ र ८८ लाख २४ हजार १ सय ५५ रुपैयाँ गरी जम्मा २ करोड २ लाख ८४ हजार ४ सय ४८ रुपैयाँ वालेटबाट रकमान्तरण गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई सट्टाबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्