काठमाडौं । भ्रष्टाचार लगायत आरोपमा निलम्बनकै अवस्थामा प्रधानन्यायाधीशबाट अवकशा पाएका चोलेन्द्रशमशेर जबराले सरकारी निवास छाडेका छन् । बुधबार दिउँसो उनले बालुवाटारस्थित निवास छाडेका हुन् ।
महाअभियोगका कारण १० महिना निलम्बनमा रहेर उनले अवकाश पाएका हुन् । अब अवकाशसँगै उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्न पाउने भएको छ । अवकाशप्राप्त न्यायधीशमाथि अख्तियारले छानबिन गर्न पाउने प्रावधान छ ।
चोलेन्द्र उनको परिवार र गिरोहमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गर्दै आएको छ । तर, त्यो प्रभावकारी हुन सकेको छैन ।
पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोग राणामाथि छ । जबरा प्रधानन्यायाधीश भएलगत्तै भाइ प्रभुशमशेर जबराको नाममा अरबौंको सम्पत्ति थपिएको थियो । त्यो सम्पत्ति छानबिन कानुन व्यवसायीले माग गर्दै आएका छन् । अख्तियारले जबरामाथि छानबिनको आँट गरेकामा न्याय क्षेत्रमा हुने भ्रष्टाचार धेरै हदसम्म नियन्त्रण हुने कानून व्यवसायी बताउँछन् ।