Logo
Logo

करुणाले ल्याउँदै गरेको अदृश्य मोड


3.3k
Shares

… ‘मजदुर आन्दोलनले मलाई ठूलो पाठ सिकाइसकेको थियो । बिना तयारी कुनै ठूलो कुरा निर्णय गर्नु गलत हुने रहेछ । समय नै सबैभन्दा ठूलो गुरु रहेछ !

त्यो समयले मलाई अर्को कुरा पनि सिकाइरहेको थियो– सकारात्मकता र करुणाका कारण कहिल्यै पछुताउनु पर्दैन भनेर । विभिन्न कारण र परिस्थितिले गर्दा जानी नजानी राजनीतिको बाटो पकडे पनि मभित्र हुर्किँदै गएको त त्यही करुणाको बीऊ रहेछ, जो ‘जनताको सेवा’, ‘सकारात्मक परिवर्तन’, ‘सामाजिक न्याय’ जस्ता उद्देश्यमा अनुवाद भइरहेको थियो ।

यी सब घटनाहरूले डोर्याएरै म उपयुक्त संगठन खोज्दै हिंडेकी थिएँ । जो तत्कालीन भूमिगत पार्टी नेकपा (माले)का रूपमा प्रकट भएको थियो । संगठनप्रति म कृतज्ञ थिएँ । तर, व्यवहारबाटै मान्छे चिन्ने काम पनि भइरहेको थियो । नजिक आइपुगेका मान्छेमा को संगत गर्न र भरपर्न लायक छन् भनेर पनि समयले नै सिकाउँदै लग्यो ।

हस्पिटलमा ‘आफ्नै मान्छे’ मजदूर नेताकी बिरामी श्रीमतीको कुरुवा बस्न थालेपछि अस्पतालकै बारेमा पनि नयाँ जानकारी थपिंदै थियो । म स्वास्थ्यकर्मी होइन । तर, कुनैबेला डाक्टर या नर्स भएर जनताको सेवा गर्न सकिन्छ भन्ने विश्वास म मा पलाएको थियो ।

सानो स्कूलमा कापी–कलम बिना जबर्जस्ती पढ्नु परेकोले मेरो पढाइमा राम्रो जग बस्न पाएको थिएन । त्यसले गर्दा पनि स्वास्थ्यसेवाको क्षेत्र मेरो निम्ति टाढा भयो । त्यसपछिको अर्को आदर्शको बाटो भनेको मेरो निम्ति शिक्षण नै थियो ।

आफूले जे जानेको हो त्यही कुरा अरुलाई सिकाउँदै अगाडि बढें । पछि मजदूरै हुनुमा राजनीतिक उद्देश्य देखिए पनि जीवनको यात्रामा तय हुँदै गएको उही दिशाले त्यहाँ पुर्याएको थियो । त्यसले जीवनमा ठूलो पाठ सिकायो । मजदूरका अवस्था, ब्यथा र नेताहज्ञलाई पनि चिनायो ।

यतिबेला एकजना बाहिर नाम नचिनिएका एक सच्चा मजदूर आन्दोलनकारीकी श्रीमतीलाई सेवा पुर्याउने क्रममा हस्पिटलका असल डाक्टरहरू पनि चिन्न पाएँ ।

देशमा राजनीतिक परिवर्तन नभई अरु कुनै क्षेत्रमा परिवर्तन सम्भव छैन भन्ने निर्णयमा पुगेपछि पार्टीलाई समाएर अगाडि बढें । समानताको मूल नाराबाट प्रभावित भएर नै वामपन्थ समातेकी थिएँ । कामकै क्रममा पार्टीका नेताहरुलाई एक एक गर्दै चिन्ने अवसर पनि पाउँदै गएँ । सच्चा जनताको सेवाले प्रेरित भएका नेता कार्यकर्ताहरु त्यो बेला नभएका पनि होइनन् ।

अहिले देखिएका लोभले ग्रस्त नेताहरू पनि त्यो बेला त राम्रै थिए । एक पछि अर्को पाठ सिक्दै अगाडि बढ्ने रहेछ जीवन ! कसैको भने त्यहीबेला देखि नै आफ्नो प्रवृति देखिसकेको थियो । नजिक हुँदै गएपछि नै व्यवहारबाट देखिने कुरा हो त्यो ।

त्यो बेलाको भक्तपुर अस्पताल सामान्य नै थियो । त्यहीँ भर्ना भएकी एकजना बिरामीको अभिभावकको भूमिका निभाउनुका कारण क–कसले राम्रो सेवा दिंदा रहेछन्, त्यो पनि थाहा पाउँदै गएँ ।

खाली समयमा अरु बिरामीहरूसँग पनि गफ गर्न थालें । एकजना गफाडी क्षयरोगीले मसँग भने –‘यहाँ एउटा इण्डियन डाक्टर छ । उसले धेरै नै हेरविचार पुर्याउँछ हाम्रो । उसले त हाम्रो रोग मात्र होइन, खानेकुरा पनि पुगेको छ कि छैन भनेर वास्ता राख्छ …’ यो कुराले मलाई छोयो ।

को हुन् त त्यो डाक्टर उनको नाम के हो भनी सोधें । उनले भने ‘…मान्छे त इण्डियन हो, उसको नाम– ‘सरल’ हो । पुरा नाम त थाहा छैन’ भने । मैले ‘ए…’ भनें । मैले सुनेका डाक्टरहरू भन्दा असल डाक्टर पनि यहाँ रहेछन् भन्ने कुराले मनमा ढुक्क भयो ।

अन्य, जिम्मेवारीहरू पनि पुरा गर्दै जानु पर्ने हुँदा म भक्तपुर र काठमाडौं ओहर–दोहर गर्न थालें । म हिड्ने क्रममा नै थाहा पाउँदै गएँ– अब धेरै खतरा छैन भन्ने कुरा पनि । पुलिसले पछ्याउन छोडिसकेको थियो ।

म खुल्ला हुन थालें । भूमिगत जीवनबाट मुक्ति पाइसकेको कुराले पनि मनमा उत्साह बढ्न थाल्यो । संधैभरी त्यहाँ कुरुवा बस्ने कुरा पनि थिएन । बिरामीको आमा नै कुरुवा बस्न थाल्नु भयो । पछि त्यहाँका जिम्मेवार डाक्टरहरूसँग कुरा गर्न पर्यो भने मात्र आफै कुरा गर्थें । पछिपछि त बिरामीका श्रीमान लक्ष्मीबहादूर कारञ्जित आफै नै आउन–जान गर्न सक्ने स्थिति भयो । क्षयरोगको औषधि लामो समय गर्नुपर्ने, अस्पतालको हेरविचार पनि पुगेकै थियो । डा. अशोकानन्द मिश्रप्रति म आभारी थिएँ ।

पार्टीले भनेको ती ‘युवा डाक्टर’लाई पनि भेटेर बिरामीको बारेमा थप जानकारी लिने र थप वास्ता पुर्याउने काम भइरह्यो । उनको बिरामी प्रतिको सद्भाव पनि प्रत्यक्ष देखें । मेरै अगाडि पनि त्यो बेला चलेको एकथरी ‘टनिक’ ल्याएर बिरामीलाई दिएको देखेँ ।

पार्टीको नजिक पुग्दै गरेको एकजना युवा डाक्टरको त्यो व्यवहारर देख्दा खुसी लाग्यो । मैले ‘धन्यवाद’ पनि भनें । अस्पतालमा हुनुपर्ने जस्तो सफाई हुन नसकेको कुरा पनि आलोचनात्मक तरिकाले भनें, स्वीकारे ती डाक्टरले । ‘देशको अवस्था नै यस्तै छ । यहाँ यत्तिको सेवा दिन सकेको पनि ठीकै छ भनौँ न ! यो पनि डा. अशोकानन्दको मेहनतका कारण सम्भव भएको हो ।..’ भने ।

देशको अवस्था यत्तिको बुझेको डाक्टर पनि मैले पहिलोपटक नै भेटेकी थिएँ । पछि थाहा पाएँ ती क्षयरोगीले भनेको ‘सरल’ डाक्टर त उनी नै पो रहेछन् ! मान्छे पनि नाम जस्तै नै सरल लाग्यो । तर, उनको वास्तविक नाम चाहिँ ‘सरल’ होइन रहेछ, बिरामीले उच्चारण गर्दा त्यसो भनेका रहेछन् । उनी ‘इण्डियन’ पनि होइन रहेछन् । यो थाहा पाएपछि म आफै नै मज्जैले हाँसें । मान्छेले गर्ने अनुमान सबै सही हुँदैनन् …।

ती डाक्टरले मेरो नाम त सोधेनन्, तर ‘तपाई बिरामीको को हुनुहुन्छ?’ भनेर चाहिँ सोधे ।

‘…नाताले केही पर्दिन । मजदूर नेताकी श्रीमती हुन्, साथी भएकोले म आएकी’ भनेपछि केही छक्क परेको भाव उनको अनुहारमा देखेँ । विस्तारै म हस्पिटल जाने काम पनि पातलिंदै गयो ।

यही बेला मैले पार्टीका संगठकहरूसँग राखेको प्रस्ताव– महिला नेतृत्वको सशक्तिकरणका निम्ति सैद्धान्तिक कक्षा चलाउन प्रशिक्षकको प्रस्ताव राखेको कुरा पनि कार्यान्वयन हुँदै थियो । त्यसमा सामेल हुन छानिएका महिला कार्यकर्ताहरू सबै उत्साहित थियौँ । काठमाडौंकै युवा महिला कार्यकर्ता त्यसमा सामेल भयौँ । कलेजमा साइन्स पढाइरहेकी रविलक्ष्मी चित्रकार, एमए पास भैसकेकी स्वस्ती बज्राचार्य, शिक्षिका मिरा ध्वंजु, पढाई राम्रो हुँदाहुँदै पनि हाम्रो अतिगोप्यतावादी पूर्व संगठनको नीतिअनुसार ‘बुर्जुवा पढाई छोड्ने’ आन्दोलनमा परेका पूर्णशोभा र शारदा कोइराला, अनि म थियौँ ।

‘कक्षा’ सञ्चालनका निम्ति ठाऊँ खोज्ने जिम्मा मलाई नै आइलाग्यो …

प्रतिक्रिया दिनुहोस्