काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आगामी २१ देखि २४ फेब्रुअरी २०२० सम्म नेपाल इण्डिया चाइना एक्सपो (नाईस) आयोजना गर्ने भएको छ ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । विश्व पर्यटन इतिहासमै पहिलो पटक तीन वटा मुलुक समावेश भई आयोजना गरिने नाईस सम्भवतः पहिलो पर्यटन मेला हुनेछ, जुन नेपालको पर्यटन प्रवद्र्धन तथा विकासका लागि सबैभन्दा महत्वपूर्ण निकट छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत) बाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवालाहरु एवम् संघ संस्थाहरुलाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवद्र्धन, सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयामहरु उजागर गराउन प्रेरणा प्रदान गर्ने महत्वपूर्ण मञ्च बन्ने विश्वास पाटाले लिएको अध्यक्ष शाक्यले बताए ।
उनले अगाडि भने– दक्षिण एशिया तथा विश्वकै दुई ठूला अर्थव्यवस्था एवम् बृहत पर्यटन स्रोतबजारहरुको बिचमा नेपालको अवस्थिति, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधता एवम् प्राकृतिक सौन्दर्यता नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धन, विकास र विस्तारका लागि महत्वपूर्ण आधार एवम् स्रोत हुन । चीन र भारत विश्वकै दुई ठूला बृहत पर्यटन स्रोतबजार हुनुका साथै नेपालका निम्ति पनि प्रमुख पर्यटक आगमन हुने र प्रचुर सम्भावना भएका पर्यटकीय स्रोत बजार पनि हुन् ।’
पत्रकार सम्मेलनमा शाक्यले भने– ‘सन् २०१८ को तथ्याङ्क अनुसार चीनबाट वार्षिक १५० मिलियन पर्यटकले विश्व भ्रमण गर्ने गरेकोमा जम्मा ०.१ % प्रतिशतले र २५.८५ मिलियन भारतीय आउटबाउण्ड पर्यटकहरु मध्ये ०.७५% प्रतिशतले मात्र नेपाल भ्रमण गरेका छन् । दुई छिमेकी मुलुकको पर्यटक आगमन हेर्दा नेपालले सम्भावना अनुरुप अपेक्षित लाभ लिन नसकेको प्रष्ट देखिन्छ । लामो समय देखि नै छिमेकी राष्ट्रहरु नेपाल भारत र चीनबीच दुईपक्षीय व्यापार विस्तार एवम् पारस्परिक सम्बन्ध रहदैँ आएको छ । तर, त्रिदेशीय पर्यटन पर्वद्धनका निम्ति यथोचित पहल नभएको सन्दर्भमा नाइस कार्यक्रमले तीनवटै मुलुकबीच विद्यमान एकीकृत पर्यटकीय सम्भावना र ब्यापारीक अवसरहरु उत्थान एवम सहजीकरण गर्दै तीन देश बीचको सम्बन्ध थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्ने विश्वास लिएका छौँ । नाइस कार्यक्रमले नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्ति तथा सन् २०३० सम्ममा ५० लाख पर्यटक ल्याउने लक्ष्य प्राप्तिको लागि महत्वपूर्ण आधारशीला तयार पार्ने अपेक्षा गरेका छौं ।’
उनले अगाडि भने– यस ऐतिहासिक एक्स्पोमा हामीले २०० भन्दा बढि क्रेताहरु, १०० बिक्रेताहरु, चीन र भारतका ५० भन्दा बढि सञ्चारकर्मी, विज्ञ वक्ताहरु लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी १००० भन्दा बढि सहभागिहरु तथा अतिथिहरुको सहभागि हुने अपेक्षा गरेका छौं ।
कार्यक्रमको सफल आयोजनका लागि नेपाल, भारत तथा चीन तिनवटै मुलुकका पर्यटन सम्बद्ध व्यवसायी तथा सरोकारवालाहरु लगायत हामीलाई निरन्तर रुपमा सहयोग पुर्याउने संघसंस्थाहरु, प्रायोजक, एयरलाईन्स, होटल, मिडिया साथीहरु एवम् सम्पूर्ण नेपाली पर्यटनक्षेत्रमा आबद्ध व्यवसायी साथीहरुलाई ‘नाईस’ कार्यक्रम लाई भब्यरुपमा सफल पार्न आवस्यक सहकार्य, समन्वय र सहयोगका लागि हार्दिक अनुरोध गर्दछौ ।’