माओवादीले क्रान्तिमार्फत राज्यसत्ता कब्जा गर्न सकेन । र, आफूले चाहेको जस्तो राज्यव्यवस्था लागू गर्न पनि सकेन । तर, जनयुद्ध असफल भएन । जनयुद्धको जगमा स्थापित मुद्दाहरूले वैधानिकता पाउनु जनयुद्धको सफलता हो । आजको व्यवस्था जनयुद्धको उपलब्धि हो ।
राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना माओवादीको माग थियो । जनयुद्धले यथार्थमा परिणत गरिदियो । तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा भएको १० वर्षे जनयुद्धको आलोकमा नेपालमा नयाँ युग प्रारम्भ भएको सत्य हो ।
१० वर्षसम्मको सशस्त्र संघर्षपछि शान्तिपूर्ण राजनीतिमा अवतरण हुँदा माओवादीसँग अनेक आशा र अपेक्षा थिए । अनेक सपनाहरू साँचेर बसेका नेपाली जनतालाई ‘कसैले केही गरे माओवादीले गर्छ’ भन्ने लागेको थियो । त्यसको प्रमाण २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा माओवादीले पाएको जनमत हो ।
माओवादीको १० वर्षे ‘बुलेट यात्रा’मा जनताको साथ अभूतपूर्व थियो । र, शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि माओवादीले तय गरेको ‘ब्यालेट यात्रा’मा पनि जनताको साथ अभूतपूर्व नै थियो । तर, विचार, आदर्श र सिद्धान्तबाट डगमगाउँदै जाँदा माओवादीले एक–एक गर्दै जनताको साथ गुमाउँदै गएको छ । आज, अस्तित्व रक्षाको गम्भीर संकट सामना गर्नुपरेको छ ।
माओवादीले राजनीतिक शिखर चुम्यो । तर, आफूलाई शिखरमा टिकाइराख्न सकेन । हिँड्दै जाँदा आफ्नै पाइला मेट्दै गयो, आफैले खनेका बाटोहरू भत्काउँदै गयो । जनयुद्धमा कोरलेका सपनाहरूमा चिसो पानी खनाउने काम माओवादीबाटै भयो । जुन कुराको विरूद्ध जिहाद छेड्यो आज सोही कुरा अङ्गाल्न पुग्यो । अर्थात, माओवादी आफैले प्रतिक्रान्तिको बाटो रोज्यो ।
प्रतिक्रियावादीहरूद्वारा शासनसत्ता हत्याउन गरिने हर्कत मात्रै प्रतिक्रान्ति होइन । क्रान्तिबाट स्थापित मुद्दाहरूविपरीत क्रान्तिका नायकहरूबाटै हुने हर्कत त्यो भन्दा ठूलो प्रतिक्रान्ति हो । आज सोही परिस्थिति सिर्जना भएको छ । क्रान्तिका नायकहरूले नै प्रतिक्रान्तिको बाटो समात्नुभन्दा दुःखद अरू केही हुन सक्दैन । आज माओवादीबाट भएको त्यही होइन ? माओवादीका लागि यो संगीन आरोप लाग्नसक्छ तर वास्तविकता स्वीकार गर्न क्रान्ति नायकहरू तयार हुनुपर्छ ।
माओवादीले हिँड्दै जाँदा आफ्नै पाइला मेट्दै गयो, आफैले खनेका बाटोहरू भत्काउँदै गयो । जनयुद्धमा कोरलेका सपनाहरू सत्तासँग साट्दै गयो । हिजो जेविरूद्ध जिहाद छेड्यो आज त्यही कुरा अङ्गाल्न पुग्यो । यसलाई क्रान्ति भनिन्छ या प्रतिक्रान्ति ?
जनयुद्धको एकमुष्ट मकसद सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्नु थियो । तर, माओवादीले ब्यालेट अर्थात वैधानिक तवरबाट सत्ता यात्रा तय गरेपछि यो मुद्दा कहाँ पुग्यो ? यो प्रश्नको जवाफ कुन क्रान्ति नायकसँग छ ? जनयुद्धका सुप्रिमो तथा वर्तमानका किङ मेकर प्रचण्ड यो प्रश्नको जवाफ दिन तयार छन त ? त्यस्तो लाग्दैन ।
माओवादीललाई आज भूमिहीनहरूको समस्या थाहा हुँदैन । अधिकांश माओवादी नेता, कार्यकर्ता भूमाफिया भइसकेका छन् । त्यसैले त आज माओवादीलाई वास्ताविक भूमिहीनहरू पनि नक्कली लाग्न थालेको छ । हिजो जोत्नेको हक खोज्ने माओवादी आज जोताउने भएका छन् । अब त माओवादीलाई ‘जसको जोत उसको पोत’ नारा अप्रिय लाग्छ । क्रान्तिकारी भूमिसुधार जस्ता मुद्दाहरू ब्युँझदा बिर्सने सपना जस्तै भएको छ ।
आज आर्थिक–सामाजिक असमानताहरू माओवादीका एजेण्डा होइनन् । किनकि, अधिकांश माओवादीले आर्थिक–सामाजिक उन्नति गरिसके । माओवादीले गरेका आर्थिक उन्नतिको स्रोत के हो भन्ने सवाल बेग्लै प्रश्न र बहसको विषय छ । आर्थिक उन्नतिसँगै सामाजिक प्रतिष्ठा प्राप्त गरेका माओवादीका लागि समाजवाद आइसक्यो । तर, समाजको अवस्थामा एक इञ्च पनि सुधार भाएको छैन । झन बिग्रदै गएको छ ।
माओवादीहरू थप्दै जाने वर्गमा परिणत हुँदै जाँदा माओवादीका सारथी सर्वहारा वर्गको अवस्था झनै नाजुक बन्दै गएको छ । आज कुन माओवादीलाई चिन्ता होला– आम दुःखी गरिबले कसरी छाक टार्दै छन् ? महलमा अभ्यस्त हुँदै गएका माओवादीहरूलाई आज खोलाका किनारहरूमा एक छाक खान नपाएकाहरूको वेदनाले छुँदैन । सुकुम्बासीका रोदनहरु माओवादीका लागि गोहीका आँशुतुल्य भएको छ ।
सामाजिक असमानताको पारो झनै उकालो चढ्दै छ । जनयुद्धमा असमानताविरूद्ध आगो ओकल्नेहरू अवस्था फेरिएसँगै असमानताका कारक बन्नुपर्ने परिस्थिति कल्पना बाहिरको कुरा हो । अनैतिक तवरमा हुने आर्थिक उन्नतिबाट निर्माण हुने समाजको चरित्रले सामाजिक असमानताको अवस्था झनै भयावह हुँदै गएको छ । माओवादीहरू त्यसका वाहक बन्न पुगेका छन् ।
जनयुद्धका क्रममा जातिय विभेदविरूद्ध समानताको ज्वार सिर्जन गरेका माओवादीको आधार इलाकाहरूमा जातिय विभेदको आधारमा भएका र हुने नरसंहारले सबैभन्दा धेरै माओवादीलाई गिज्याइरहेको छ । हजारौं नवराज विक र उनका परिवारको पीडामा मल्हम लगाउने अधिकार र जिम्मेवारीबाट माओवादी विमुख र विचलित भइसकेको छ । माओवादीले आफ्नो विगत नभुलेको भए रूकुमजस्तो ‘रातो गाउँ’मा नवराज विकहरू जातिय विभेदको सिकार बन्नु पर्ने थिएन ।
माओवादीले नातावाद कृपावादविद्धरू संघर्ष गरेको थियो । तर आज नातावाद कृपावादलाई परम्पराको रूपमा अङ्गालेको छ । माओवादीमा नेतासँग नाता नभएकाहरूलाई अवसर छैन । जनयुद्धमा रगत बगाएका हजारौं सहिद परिवार, घाइते–अपाङ्ग र योद्धाहरू आज माओवादीसँग छैनन् । किनकी, माओवादीले उनीहरूको योगदानलाई फगत मानिदिएको छ । यी तमाम अवस्था हेर्दा प्रश्न उब्जन्छ– आज माओवादी नै कसरी नातावाद–कृपावादको पक्षपोषक भयो ?
माओवादीले दलाल–नोकरशाहीतन्त्र विरुद्ध संघर्ष गरेको थियो । तर आज, माओवादीहरू नै नोकरशाही भएका छन् । माओवादी नेतृत्वलाई आज आलोचना होइन, जयजयकार चाहिएको छ, जयजयकार गर्ने नोकरहरू चाहिएको छ, देवत्वकरण चाहिएको छ । नेतृत्वलाई आलोचना गर्ने र चाकर नगर्नेहरूको स्थान छैन माओवादीमा । जे गर्नु हुँदै भन्दै विद्रोह गर्यो आज सोही काम गर्नुलाई माओवादीहरू क्रान्ति भन्छन् या प्रतिक्रान्ति ?
अकाट्य सत्य हो– कर्मको फल भोग्नु पर्छ । आज माओवादीले भोग्दै छ । संसदीय राजनीतिमा अवतरण गरेलगत्तै अभूतपूर्व जनमत पाएको माओवादी हरेक निर्वाचनमा झन–झन कमजोर हुँदै गएको छ । यो गति निरन्तर रहने हो भने अबका दुई–तीन आमनिर्वाचनसम्म पुग्दा माओवादी शक्तिको दुःखद अवसान हुनसक्छ ।
माओवादी कमजोर हुँदै जाँदा प्रतिस्पर्धी दल खुशी हुनु स्वभाविक हो । तर, माओवादी कमजोर हुनु भनेको वर्तमान व्यवस्था नै सङ्कटमा पर्नु हो । यो वास्तविकता अरूले पनि स्विकार्नु पर्छ । किनकी, वर्तमान व्यवस्थाको आधार माओवादीको नेतृत्वमा भएको जनयुद्ध हो ।
यस अर्थमा व्यवस्थाको रक्षा गर्ने मुख्य जिम्मेवारी माओवादीको हुन्छ । के माओवादी त्यसका लागि पुनः शक्ति आर्जन गर्न तयार छ त ? यो प्रश्नको जवाफमा माओवादी र वर्तमान व्यवस्थाको अस्तित्व निर्भर हुनेछ ।