जनताले जुन आशा अपेक्षा राखेका छन्, म त्यसलाई त्यति धेरै अन्यथा भन्दिनँ । तर, अहिलेको परिस्थितिमा कति आशा अपेक्षा पूरा हुन्छन् भन्ने कुरा परिस्थिति सापेक्षा पनि हुन्छ । परिस्थितिको आँकलन गर्दा नेपाल लामो समयदेखि अर्धसामन्ती, आर्धऔपनिवेशिक अवस्थाबाट गुज्रिएर आयो । नेपालले सम्पन्न गर्नुपर्ने क्रान्ति सामन्तवाद र अर्धउपनिवेशवादलाई विस्थापित गरी समाजवाद स्थापनाको हो । सामन्तवादको प्रतिनिधिको रूपमा रहेको राजतन्त्र विस्थापित गर्न त एकहदसम्म सफल भइयो, तर अर्धऔपनिवेशिक प्रणाली विस्थापित भएको छैन । अझ पछिल्लो समयसम्म आइपुग्दा एकप्रकारको नवउपनिवेशमा रुपान्तरित भएको अवस्था छ । त्यसकारण, नवउपनिवेशिक प्रणालीभित्र हामीले कति धेरै जनताका आशा अपेक्षा पूरा गर्न सक्छौँ भन्ने कुरा हेर्नुपर्छ भन्ने लाग्छ ।
निश्चय पनि नेपालमा पूर्णतया लोकतान्त्रिक प्रणाली स्थापित भएको अवस्थामा जनताले दिएको मतको आधारमा नेकपा सरकारको सरकार बनेको छ । त्यसरी हेर्दा जनप्रतिनिधिहरूले जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न सक्नु पर्ने हो । तर, किन भएन त ? किनभने राज्यसत्ताको चरित्र सामन्तवादबाट मुक्त भए पनि साम्राज्यवादी प्रभुत्व अथवा औपनिवेशिक खालको प्रणालीको प्रभुत्वबाट नेपाल मुक्त भइसकेको छैन । त्यसैले नेपालको नीति निर्माण, कानुन निर्माणमा, सरकारका नीति कार्यक्रम तथा बजेट निर्माणमा, राज्यका अंगहरूको संरचनाहरू गठन, पुनर्गठन तथा विघटनमा समेत एकाधिकार दलाल पुँजीवादको प्रभुत्वले काम गरिराखेको छ । नवउपनिवेशवादमा जनताको अभिमतको कदर हुँदैन, सम्मान हुँदैन । सम्पूर्ण रूपमा बहुराष्ट्रिय कम्पनीहरूको एकाधिकार पुँजीको प्रभुत्व हुन्छ । उसको एकाधिपत्य हुन्छ । उसको प्रभुत्व हुन्छ । त्यसैले एनसेलजस्ता प्रकरण देखा पर्छन् । त्यसैले एकाधिकार दलाल पुँजीवादको प्रभुत्व भइरहेको राज्यको संरचनाबाट जनताको हितमा अपेक्षाकृत काम हुन नसकेको हो । अहिले गर्न सकिने भनेको सानातिना सुधार हो । त्यो पनि, एकाधिकार दलाल पुँजीवादको स्वार्थमा टक्कर नपर्ने खालका विषयमा मात्र । एकाधिकार दलाल पुँजीवादको स्वार्थमा टक्कर पर्ने बित्तिकै त सरकारबाट हात धुनुपर्ने अवस्था आइहाल्छ ।
जनताको स्तरबाट हेर्दा अवश्य हो । निर्वाचनका बेला चुनावी मतलाई ध्यानमा राखेर कतिपय नेताहरूले दुईतिहाइ बहुमत ल्यायौँ भने यसो गर्छौँ, उसो गर्छौं, देशमा क्रान्ति भइसकेको छ भने । आमुल परिवर्तन भइसकेको छ भने । सबै कुरा हाम्रो हातमा आइसकेको छ भन्ने ढंगले सम्प्रेषण गरे । अहिले दुईतिहाइको सरकार छ, हिजोका बाचा किन पूरा नगरेको भनेर जनताले समातेका छन् । यसो नगरी, हामीले राज्यको यथार्थ वर्गचरित्रको कुरा जनताको बीचमा लैजानुपर्छ । जनताको बीचमा यथार्थ स्थिति लैजान नसकेकै कारण एकहदसम्म भ्रम छ । त्यो भ्रममै परेर जनता निराश भएका हुन् । हामीले जनतालाई भन्न सक्नुपर्छ, एकाधिकार दलाल पुँजीवादविरुद्धको लडाइँ सम्पन्न भएको छैन । त्यो भनेको नवउपनिवेशवाद हो । विदेशी साम्राज्यवादको प्रभुत्व हो । विश्व महाशक्तिहरूको प्रभुत्व हो । त्यो प्रभुत्वका विरुद्ध हामीले राष्ट्रिय स्वाधीनताको आन्दोलन चलाउनुपर्नेछ । जनताले विश्वास गर्छन् र साथ पनि दिन्छन् भन्ने मलाई लाग्छ । किनभने, जनतासँग हिजो हामीले राजतन्त्रलाई अन्त्य गर्न सक्यौँ भने एउटा खालको लोकतन्त्र आउँछ भनेर आह्वान ग¥यौँ । जनताले अपार साथ दिए र सामन्तवाद पराजित गर्न सकियो । अब साम्राज्यवाद र विस्तारवादी शक्तिहरू र एकाधिकार प्रभुत्वका विरुद्ध राष्ट्रिय स्वाधीनताको पक्षमा जनतालाई अपिल गर्दै गोलबन्द गर्न सकियो भने जनताको एकताको तागतमा विदेशी एकाधिकार दलाल पुँजीवादलाई पनि पराजित गर्न सकिन्छ । (कुराकानीमा आधारित)