कैलाली । धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट अवैध लागूऔषध चरेससहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङ खप्तडछान्ना गाउँपालिका-३ घर भएका १९ वर्षीय क्षितिज रावल र छविस पाथीभेरा गाउँपालिका-२ बस्ने ३६ वर्षीय जक्सन रोकाया रहेका छन् । उनीहरूकाे साथबाट २ किलोग्राम अवैध लागुऔषध चरेससहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रावलको साथबाट १ किलो २ सय ग्राम र रोकायाको साथबाट ८ सय ग्राम उक्त चरेस फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी दाङको लमही नगरपालिका-८ सतबरीयाबाट अवैध लागूऔषध गाँजा ५ किलो ६ सय ग्राम सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ हापुर बस्ने ३३ वर्षीय रूपक पुन र अर्का एक जनाको परिचय नखुलेको समेत २ जना छन् । रा.१ प ५०३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।