Logo
Logo

गण्डकी प्रदेश : कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल


252
Shares

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

प्रदेशमा कांग्रेसका तर्फबाट गण्डकी प्रदेशमा प्रतिनिधिसभामा दिइएका १२ जना उम्मेदवारमध्ये १० जना र प्रदेशसभाको सदस्यमा दिएका २१ जनामध्ये १८ जना विजयी भएको र प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ नौजना निर्वाचित भएको भन्दै कांग्रेसका उम्मेदवारले प्राप्त गरेको विजयमा अपेक्षाकृत सफलता प्राप्त भएकोमा बैठकले खुसी व्यक्त गरेको छ ।

प्रदेशसभामा पार्टीको संसदीय दलको नेताको निर्वाचन गर्नुपर्ने र यसका लागि नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ४ को ३ मा प्रदेश समितिले बनाएको निर्वाचन समितिले निर्वाचनको प्रक्रिया निर्धारण तथा निर्वाचन सम्पन्न गर्ने छ भन्ने प्रावधान रहेकाले नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि निर्वाचन समिति बनाउन पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी अनुशासनमा नरही पार्टीका उम्मेदवारलाई असहयोगी भूमिका गर्ने कार्यकर्ताको बारेमा वडा, प्रदेश, क्षेत्र, जिल्ला, प्रदेश तहबाट प्रतिवेदन माग गर्न अनुशासन समितिलाई निर्देशन दिँदै समितिले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका नेपाली कांग्रेसका विजयी उम्मेदवारलाई उपयुक्त समयमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको पार्टीका प्रवक्ता माधवप्रसाद बास्तोला(मधु)ले जानकारी दिए ।

बैठकले निर्वाचनमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मत प्रदान गरी विजयी गराउने मतदातालाई धन्यवाद व्यक्त गरेको छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, पर्यवेक्षक र अन्य सङ्घ संस्थाले पु¥याएको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै बैठकले निर्वाचित उम्मेदवार आम मतदाताको भरोसा र आकांक्षालाई पूरा गर्ने, देश र जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेको छ ।

पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको विशेष उपस्थिति रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्