Logo
Logo

सुदूरपश्चिम सरकारमा तीन दलको दावी, कसले पाउला मुख्यमन्त्री ?


1.6k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकारका लागि तीन दलले दावी प्रस्तुत गरेका छन् । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पदका लागि दाबी प्रस्तुत गरेका हुन् ।

प्रदेशसभामा सत्ता गठबन्धनले सरकार बनाउन चाहेमा सहजै सरकार बनाउन सक्ने अवस्था छ । तर, गठबन्धनभित्र प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने अन्योल बढेपछि माओवादी, कांग्रेस र एकीकृत समाजवादीले दावी पेश गरेका हुन् ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने दाउमा छ । विगतमा माओवादी केन्द्रले पाँच वर्ष पूर्ण कार्यकाल प्रदेश सरकारको नेतृत्व गरेकाले अब आफूले नेतृत्व गर्न पाउनुपर्ने अडानमा कांग्रेस छ ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेशसमेत रहेकाले कांग्रेस नेताहरुले प्रदेशको नेतृत्व पाउनुपर्ने दबाब देउवालाई दिइरहेका छन् । त्यहाँ दिवानसिंह विष्ट, कमल शाह र बहादुरसिंह थापा मुख्यमन्त्रीका आकांक्षी हुन् । तर, बहादुरसिंह थापालाइ प्रमुख दावेदारका रूपमा हेरिएकाे छ ।

सुदूरपश्चिम प्रदेशसभाको दोस्रो ठूलो दल माओवादी केन्द्र पनि मुख्यमन्त्री पद नछाड्ने अडानमा छ । हालै सम्पन्न आम निर्वाचनमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका खगराज भट्टलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरेका थिए ।

त्यसकारण पनि माओवादी केन्द्रले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सशक्त दाबी गरेको छ । देउवासँगको समझदारीअनुसार माओवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने माओवादीको अडान छ ।

नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पदमा दाबी गरेको छ । त्यहाँ कैलाली–४ को प्रदेशसभा ‘क’बाट निर्वाचित दीर्घबहादुर सोडारीले मुख्यमन्त्रीका आकांक्षी हुन् ।

समाजवादीका नवनिर्वाचित सांसदसमेत रहेका आर्थिक मामिलामन्त्री प्रकाश रावलले सुदुरपश्चिममा आफ्नो पार्टीले नेतृत्व पाउनुपर्ने बताए । उनले भने, ‘हामीले गठबन्धनको भागबन्डामा अन्य प्रदेशभन्दा सुदूरपश्चिममा नेतृत्व पाउनुपर्छ भनेर प्राथमिकतामा राखेका छौं ।’

सुदूरपश्चिममा नेपाली कांग्रेस १९ सांसदसहित पहिलो दल बनेको छ । नेकपा माओवादी केन्द्रका ११ र नेकपा एकीकृत समाजवादीका ४ सांसद प्रदेशसभामा छन् ।

कूल ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । सत्तारुढ गठबन्धनसँग ३४ सांसद छन् । यस्तो अवस्थामा त्यहाँ गठबन्धनको सरकार सहजै बन्न सक्छ । तर, नेतृत्व कसले लिने भन्ने विषयमा सहमति हुन नसक्दा तीनै दलले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्