एजेन्सी । उत्तर कोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ । जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चार दिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो ।
जापानको सुरक्षा रणनीतिले आफ्नो सैन्य क्षमता तथा प्रतिआक्रमणलाई विफल बनाउन नीतिलाईं उच्च महत्व दिएको छ भने चीन र उत्तर कोरियाविरुद्ध थप आक्रामक बन्ने लक्ष्य लिएको छ ।
उत्तर कोरियाली विदेश मन्त्रालयले राष्ट्रिय सुरक्षा रणनीतिमार्फत जापानले आत्मरक्षाका निम्ति नभई अन्य देशमा हमला गर्न आफ्नो सैन्य शक्ति विस्तार गरेको टिप्पणी गरेको छ । मन्त्रालयका अज्ञात प्रवक्ताले जारी गरेको विज्ञप्तिमा अमेरिकाले जापानको सैन्य महत्वाकांक्षा बढाएर कोरियाली प्रायद्वीपको शान्तिलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाइएको छ ।
उत्तर कोरियाविरुद्ध आक्रमण गर्ने अमेरिकी प्रयासलाई विफल तुल्याउन नयाँ रणनीतिक हतियार विकास गर्न आफूलाई बाध्य पारिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘जापानको रणनीतिका कारण उत्पन्न भएको क्षेत्रीय सुरक्षाको जटिलतालाई दृष्टिगत गरी आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न दृढ एवम् निर्णायक सैन्य कदम चाल्न उत्तर कोरिया तयार छ’, विज्ञप्तिमा भनिएको छ ।
सन् १९१० देखि १९४५ सम्म जापानको उपनिवेश रहेको कोरियाली प्रायद्वीपमाप जापानविरोधी भावना अद्यापि कायम छ । विशेष गरी उत्तर कोरियाले जापानको कठोर शब्दमा आलोचना गरिरहेको छ । जापानका कारण आफ्नो देशले अकल्पनीय पीडा झेल्नुपरेको प्योङयाङको ठम्म्याइ छ ।