Logo
Logo

चार्ल्स शोभराजको अपराधिक यात्रा- जेल तोड्नेदेखि नेपाल आउनेसम्म


1.9k
Shares

काठमाडौं । नेपालमा १९ वर्षदेखि कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने शोभराज सन् २००३ मा काठमाण्डूमा पक्राउ परेका थिए । दुई विदेशी पर्यटकको सन् १९७५ मा हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो ।

सन् २००९ मा पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो ।

७८ वर्षका शोभराज मुटु रोगबाट पीडित छन् । शोभराज दुई अमेरिकी पर्यटकको हत्याको आरोपमा सन् २००३ देखि नेपालको जेलमा छन् । अदालतले उनलाई रिहा भएको १५ दिनभित्र सुपुर्दगी गर्न आदेश दिएको छ ।

शोभराजको जन्म ६ अप्रिल १९४४ मा भियतनामको साइगनमा भएको थियो । पिताले उनलाई अपनाउन अस्विकार गरेका थिए । त्यतिबेला भियतनाम फ्रान्सको कब्जामा थियो । फ्रान्सेली उपनिवेशमा जन्मेर उनले फ्रान्सेली नागरिकता लिएका थिए ।

भेष परिवर्तन गर्न माहिर चार्ल्स शोभराजले पर्यटक र युवतीलाई आफ्नो निशाना बनाउँथे । चार्ल्स शोभराजलाई भारत, थाइल्याण्ड, नेपाल, टर्की र इरानमा २० भन्दा बढी हत्याको आरोप लागेको थियो । उनलाई ‘सिरियल किलर’ भन्न थालियो तर २००४ को अगस्ट अघि उनी त्यस्तो कुनै पनि मुद्दामा दोषी ठहरिएका थिएनन् ।

एक अपराधीको रुपमा शोभराज या त झुक्याएर जेलबाट बाहिर आइरहे या त अधिकारीलाई घुस दिएर जेलमा सुविधा हासिल गरिरहे ।

शोभराज भारतबाहेक अफगानिस्तान, ग्रीस र इरानको जेलबाट पनि भागेको विश्वास गरिन्छ । फ्रान्सेली पर्यटकलाई विष खुवाएको मामिलामा उनले भारतको जेलमा करिब २० वर्षको सजाय समेत काटेका थिए ।

अपराधको दुनियाँमा प्रवेश
सुरुवाती जीवनमा शोभराजले फ्रान्समा साना–तिना अपराध गरेको भेटिन्थ्यो । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार सन् १९६३ मा सिरियल किलर बनेपछि उनले एशियाको यात्रा गरेका थिए ।

उनको आपराधिक घटनाको शैली सधैँ एउटै हुने विज्ञहरू बताउँछन् । उनी ड्रग्स सेवन गर्ने फ्रेन्च र अंग्रेजी भाषी पर्यटकसँग दोस्ती गर्दथे र उनीहरुलाई लुटेर हत्या गर्ने गर्थे ।

सन् १९७२ देखि १९८२ सम्म शोभराजमाथि हत्याका २० भन्दा बढी आरोप लागेका थिए । यी सबै घटनामा पीडितहरूलाई लागूऔषध खुवाइएको थियो । उनीहरुको घाँटी थिचिएको थियो । मारिएको थियो या त जलाइएको थियो ।

उनी दुई पटक भारतको जेलबाट भागेका थिए । एक पटक तिहाड जस्तो उच्च सुरक्षा कारागारबाट पनि उनी भागेका थिए ।

जेलबाट कसरी भागे ?

सन् १९७६ मा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको थियो । तर दश वर्षपछि सन् १९८६ मा उनी तिहाड जेलबाट भागे ।

शोभराजले जेलमा जन्मदिनको पार्टी आयोजना गरेका थिए । यसमा कैदीसँगै गार्ड पनि बोलाइएको थियो ।

पार्टीमा वितरण गरिएको बिस्कुट र अंगुरमा निद्राको औषधी मिसाइएको थियो । केही बेरपछि शोभराज र उनीसँग जेलबाट भागेका चार अन्य व्यक्तिबाहेक अरु सबै निदाए ।

भारतीय सञ्चारमाध्यमका अनुसार शोभराज बाहिर आउनेमा यति ढुक्क थिए कि उनले जेलको गेटमा तस्बिरसमेत खिचाएका थिए ।

रिचर्ड नेभिलको जीवनीमा चार्ल्स शोभराजले भनेका छन्, ‘जबसम्म मसँग मानिसहरूसँग कुरा गर्ने मौका छ, म उनीहरुलाई बहकाउन सक्छु ।’

भनिन्छ कि दश वर्षको जेल सजायको अन्त्यमा, उनी जानाजानी भागेका थिए, ताकि उनी पुनः पक्राउ परुन् र जेलबाट भागेको अभियोगमा मुद्दा चलाउन सकियोस् ।

यसो गर्दा उनी थाइल्याण्ड सुपुर्दगीबाट बच्न सक्थे । थाइल्यान्डमा उनीमाथि पाँचवटा हत्याको आरोप थियो र उनलाई मृत्युदण्डको सजाय हुने लगभग निश्चित थियो ।

सन् १९९७ मा रिहा हुँदासम्म बैंककमा उनीमाथि मुद्दा चलाउने म्याद सकिएको थियो । सन् १९९७ मा भारतले उनलाई फ्रान्स सुपुर्दगी गरेको थियो ।

नेपालमा पक्राउ

सन् २००३ मा फेरि चार्ल्स शोभराज नेपाल फर्किए र यसपटक यहाँको प्रहरीले पक्राउ गर्न सक्ने अवस्थामा पनि उनी निर्धक्क थिए । उनले यसपटक पत्रकारसँग कुराकानीसमेत गरे । काठमाडौँको एक क्यासिनोबाट उनलाई पक्राउ गरियो ।

नक्कली राहदानीमा यात्रा गरी क्यानाडाली नागरिक र एक अमेरिकी महिलाको हत्या गरेको आरोपमा नेपालले उनीविरुद्ध करिब २८ वर्ष पुरानो मुद्दा फेरि खोल्यो । शोभराजले आरोप अस्वीकार गरे तर प्रहरीले आफूसँग पर्याप्त प्रमाण रहेको दाबी गर्यो ।

सन् २००४ मा उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । गत वर्ष अप्रिलमा चार्ल्स शोभराजले नेपालको जेलबाट विदेशी मिडियालाई अन्तरवार्ता दिएपछि फेरि चर्चामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्