काठमाडौँ, २९ भदौ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ । ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा शनिबार भएको विशेष साधारणसभाबाट श्रेष्ठ चार वर्षको लागि अध्यक्ष पदमा पुनः निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठलाई सात मतले पराजित गर्दै जीवनराम निर्वाचित हुनुभएको हो ।
कूल २७ मतदाता रहेको निर्वाचनमा जीवनरामले १७ मत पाउनुभयो । त्यस्तै उमेशलालले १० मत प्राप्त गर्नुभयो । जीवनराम र उमेशलालबीच अघिल्लो कार्यकालमा पनि प्रतिस्पर्धा हुँदा जीवनराम नै विजयी हुनुभएको थियो । योसँगै जीवनराम ओलम्पिक कमिटीमा लगातार दुई कार्यकाल निर्वाचित हुनुभएको हो ।
त्यस्तै एनओसीको उपाध्यक्षमा ज्योति राणा (२६), तेजबहादुर गुरुङ (२०), अशोकराज बज्राचार्य (१५), सुनिल श्रेष्ठ (१८) र चतुरानन्द वैद्य (२२) मतसहित विजयी हुनुभयो । पाँच उपाध्यक्षका लागि आठ जनाले प्रतिस्पर्धा गर्नुभएको थियो ।
त्यसैगरी महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित हुनुभयो । उहाँँले १५ मत ल्याउनुभयो । श्रेष्ठले पुरेन्द्रविक्रम लाखेलाई तीन मतले पछि बनाउँदै महासचिव पदमा निर्वाचित हुनुभयो । लाखेले १२ मत ल्यानुभएको थियो ।
सचिवमा रामजी श्रेष्ठ (१८), दीपकहर्ष बज्राचार्य (२५) र तुलसी थापा (२१) मत ल्याएर निर्वाचित हुनुभयो । तीन सचिवका लागि चार जनाले प्रतिस्पर्धा गर्नुभएको थियो । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्वसदस्यसचिव केशकुमार विष्टले १७ मत ल्याएर पराजित हुनुभयो ।
महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टन्डन यसअघि नै निर्विरोध भइसक्नुभएको थियो । सदस्यमा रमेशप्रसाद शिवाकोटी (२६), राम अवाले (२०), प्रकाशशम्शेर राणा (२६), गोपालसुन्दरलाल कक्षपति (२६), टाँसी घले (२४), होमबहादुर दोङ (२५) र दीर्गबहादुर केसी (२६) मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । सात सदस्यका लागि आठ जनाले उम्मेदवारी दिनुभएको थियो । जसमा नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा पराजित हुनुभयो । उहाँले नौ मत प्राप्त गर्नुभएको थियो ।