Logo
Logo

हत्या अभियोगका फरार अभियुक्त एमाले सांसदले लिए शपथ


6.4k
Shares

काठमाडौं । हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यको रुपमा सपथ लिएका छन् ।

संसद सचिवालयका अनुसार उनले बिहीबार ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराबाट शपथ लिएका हुन् । सशस्त्र प्रहरीका असई थमन बिक हत्या अभियोगमा महतो प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुन् ।

२०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई खेतमा लखेटी–लेखेटी हत्या गरेको आरोपमा महतो अहिले पनि फरार सूचीमा छन् । तर, निर्वाचनको मुखमा जसपा छाडेर एमाले प्रवेश गरेलगत्तै उनी महोत्तरी–१ बाट उम्मेदवार बनेका थिए  ।

संविधान जारी हुनुअघि मधेसमा सुरु भएको आन्दोलनमा सुरक्षार्थ खटिएका विकको हत्या कोइरीकै योजनामा भएको अभियोग छ  । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । घटनापछि थमनका दाजु प्रेमबहादुरले कोइरीसहित २८ जनाको नाम किटेर जाहेरी दिएका थिए ।

जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशविरुद्ध पुनरावेदन परेपछि जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्यायो र महतो थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो । त्यसयता कानुनको नजरमा फरार उनी कानुन निर्माण गर्ने सभाको सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्