Logo
Logo

कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइयो


1.6k
Shares

काठमाडौं । कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज जेलमुक्त भएका छन् । अमेरिकी नागरिकसहितको हत्यामा मुछिएर जेल सजाय भोगिरहेका फ्रान्सेली नागरिक शोभराज केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन् ।

बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई जेलमुक्त गर्न र १५ दिनभित्र स्वदेश फ्रान्स पुर्याउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेशअनुसार बिहीबार काठमाडौं र भक्तपुर जिल्ला अदालतबाट शोभराजले सजाय कटाइसकेको पत्र केन्द्रीय कारागारमा पठाएका थिए । काठमाडौं अदालतले युनुसमाथिको गोलीकाण्डमा सजाय भोगिसकेको पत्र पनि पठाइदिएपछि शोभराज शुक्रबार रिहा भएका हुन् ।

उनलाई जेलबाट सिधै अध्यागमन विभागको जिम्मा लगाइएको छ । कानुनी प्रक्रिया पुरा गरेर विभागले उनलाई फ्रान्सतर्फ डिपोर्ट गर्ने छ । शोभराजले २०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका थिए ।

उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ मा मुद्दा दायर गराएका थिए । त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता देखिएको थियो ।

सोही मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल पनि भए २०६० मा नेपाल आउँदा उनी पक्राउ परेका थिए । त्यसयता उनी केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्