Logo
Logo
ओली–प्रचण्ड सौहार्दताको तरंग

कांग्रेसी मनमा हुरीबतास, एमालेजनमा आशाको भाव


8.2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिलेकै अवस्थामा सहकार्यको सम्भावना छ ?

प्रस्तुत प्रश्नको जवाफ– जटिल र सरल दुवै हुन्छ । तिक्ततापूर्ण विगत हेर्दा सहकार्य जटिल देखिन्छ । तर, नेपाली राजनीतिमा जे पनि हुन्छ भन्ने मान्यतामा यो सरल पनि छ ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको ७ दिने उर्दी अब तीन दिन मात्र बाँकी छ । तर, सत्तारुढ गठबन्धनबीच बाँडफाँटका लागि औपचारिक छलफल नै भएको छैन ।

अनौपचारिक रुपमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच बाक्लै छलफल चलिरहेको छ । तर, उनीहरूको छलफल गठबन्धनसम्म पुग्न सकेको छैन । त्यसैले के पाक्दैछ ? भन्ने अनुमान गर्न मुस्किल छ ।

देउवा र प्रचण्ड दुवैले प्रधानमन्त्री दाबी गरेका छन् । र, यो दाबीले नै गठबन्धनमा खटपट होला कि ! भन्ने आशङ्काको वातावरण बन्ने गरेको छ ।
यति नै बेला विपक्षी ध्रुवबाट सत्तासयरको बाटो ढुकिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच ‘अतिसौहार्द सम्बन्धभाव’ प्रकट भएको देखिन्छ ।

ओली–प्रचण्डले उन्मुक्त मुद्रामा खुलेरै संवाद गरेको दृश्यले धेरैको मनमा उत्साह गजाएको हुनसक्छ । अझ, एमाले जनमा त्यो भाव धेरै नै देख्न पाइन्छ । तर, कांग्रेसजनको मनमा ठूलै बेगको हुरीबतास चलेको हुनुपर्छ ।

संयोग मान्नुपर्ने हुन्छ । बुधबार संसद्का जेष्ठ सदस्यलाई राष्ट्रपतिद्वारा सपथ गराउने क्रममा ओली–प्रचण्ड सँगै थिए । हाँसीखुसी नै देखिए । र, बिहीबार संसद्हरूको शपथपछि आयोजित चियापानमा ओली–प्रचण्ड एउटै सोफामा देखिए । बिहीबार झनै उन्मुक्त देखिए ।

बुधबारभन्दा बिहीबारको ओली–प्रचण्ड संवाद र हाउभाउ निक्कै रोमाञ्चक देखियो । दुवै अध्यक्ष सुन्तला केलाउँदै मुसुमुसु हाँस्दै संवाद गरेको तस्बिरले धेरैको ध्यान तान्यो ।

रमाइलो त के भने दुईदिने ओली–प्रचण्ड भेट र संवादको तस्बिर एमालेजनले निक्कै उत्साहकासाथ सामाजिक सञ्जालमा सेयर गरे । र, कतिपयले राजनीतिमा नयाँ तरङ्गको संकेतसमेत भन्न भ्याए । के त्यस्तो हो त ?

पुष ५ को ओली कदमपछि ओली र प्रचण्डको सम्बन्ध सौहार्द देखिन्न । र, विरलै मात्र एउटै मञ्चमा पनि देखिन्छन् । सँगै देखिए पनि खुलेर संवाद गर्दैछन् । निर्वाचनमा दुई नेताबीच भएको वाक–वार र खुइल्याइ सम्झँदा भेट्दा कुस्ती नै खेल्लान् झै लाग्छ । 

यस्तो अवस्थामा ओली–प्रचण्ड उन्मुक्त मुद्रामा खुलेरै संवाद गरेको दृश्यले धेरैको मनमा उत्साह गजाएको हुनसक्छ । अझ, एमाले जनमा त्यो भाव धेरै नै देख्न पाइन्छ । वर्तमान गठबन्धन भत्के सत्ताबाहिर बस्नुनपर्ने स्वप्नका कारण पनि होला ।

सत्ता गणितको अवस्थाले एमालेजन एमाले–माओवादी मिलोस् भन्ने चाहन्छन् । तर, त्यो सम्भावना पनि सहज छैन । किनकी, वर्तमान सत्ता गठबन्धन त्यति सहजै भत्किने देखिँदैन । गठबन्धनलाई निरन्तरता दिने सहमति भइसकेको छ । सोहीअनुसार ‘पावर सेयरिङ’को छलफल जारी छ ।

प्रचण्ड–ओली भेट र हाउभाउले कांग्रेसजनको मनमा ठूलै बेगको हुरीबतास चलेको हुनुपर्छ । कतै ओली–प्रचण्ड मिलेर सत्ताबाहिर पार्ने त होइनन् ? भन्ने प्रश्नले कांग्रेसीजनलाई बारम्बार घोचिरहेको हुनुपर्छ !

तर, सार्वजनिक भेटमा देखिएको हाउभाउकै आधारमा ओली–प्रचण्ड सहकार्यको सम्भावना सहज छैन । किनकी, ओली–प्रचण्ड सहकार्यका लागि नेकपा विभाजनदेखि संसद विघटनसम्मको हिसाकिताब हुनुपर्ने हुन्छ । अहिलेकै अवस्थामा त्यो सम्भव छैन । तर, एउटा अवस्थामा त्यो सम्भव पनि हुन सक्छ ।

यदि, ‘पावर सेयरिङ’को सन्दर्भमा कांग्रेसले ठालूपन देखाए कांग्रेसले भनेकै मानेर बस्ने अवस्थामा रहन सक्दैनन्, प्रचण्ड । र, कांग्रेससँग छुटाएर माओवादीलाई आफ्नो पक्षमा पार्न एमालेले प्रधानमन्त्री बनाउन बेर पनि छैन । यस्तो अवस्थामा ओली–प्रचण्ड सहकार्यको झिनो सम्भावना रहन्छ ।

त्यसो त एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले ‘प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न एमाले तयार छ’ भनिसकेका छन् । यसका आधारमा पनि एमाले गठबन्धन भत्काउन चाहन्छ भन्ने सहजै बुझ्नुपर्ने हुन्छ । त्यो स्वभाविक पनि हो । किनकी, वर्तमान संसदमा माओवादी निर्णायक शक्ति हो ।

नेपाली राजनीतिमा यो नै हुन्छ भन्न सकिन्न । त्यसैले, ओली–प्रचण्डबीच ‘मिराकल शैली’मा तय भएको ‘सौहार्दभाव सम्बन्ध’ले केही न केही तय गर्नसक्ने अनुमान भने लगाउन मिल्ला कि ?

प्रतिक्रिया दिनुहोस्