काठमाडौं । कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज आज (बिहीबार) रिहा नहुने भएका छन् ।
उनलाई आजै केन्द्रीय कारागारबाट बिहीबार अध्यागमन विभाग लैजाने तयारी थियो । तर अध्यागमनले जिम्मा जमानीमा छाड्ने भएपछि शोभराजले रिहा हुन नमानेका हुन् ।
शोभराजलाई कानुनी सहयोग गरिरहेका गोपाल शिवाकोटीका अनुसार उनी बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बस्नेछन् ।
बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई जेलमुक्त गर्न र १५ दिनभित्र स्वदेश फ्रान्स पुर्याउन आदेश दिएको थियो ।
सर्वोच्चको आदेशअनुसार बिहीबार काठमाडौं र भक्तपुर जिल्ला अदालतबाट शोभराजले सजाय कटाइसकेको पत्र केन्द्रीय कारागारमा पठाएका छन् ।
शोभराजले २०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका थिए ।
उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ मा मुद्दा दायर गराएका थिए । त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता देखिएको थियो ।
सोही मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल पनि भए २०६० मा नेपाल आउँदा उनी पक्राउ परेका थिए । त्यसयता उनी केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका छन् ।