Logo
Logo

माओवादीसँग सहकार्य गर्न एमाले तयार


20.2k
Shares

काठमाडौं । सत्ता सहकार्यको लागि नेकपा माओवादी केन्द्रसँग सम्वाद गर्न नकेपा एमाले तयार भएको छ । माओवादीले अहिलेका गठबन्धन छाडे एमाले सत्ता सहकार्य गर्न तयार भएको हो ।

आज बसेको एमाले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । बैठकमा ओलीले सत्ता सहकार्यको लागि कांग्रेस र माओवादी सबैसँग कुरा भइरहेको जानकारी गराएका थिए ।

एमालेका एक पदाधिकारीका अनुसार माओवादीले सत्ता गठबन्धन छाडे सहकार्य गर्न सकिने ओलीले बताएका थिए । ती पदाधिकारीले भने, ‘प्रचण्डजीले गठबन्धन छोडेर आउनुभयो भने खुला सम्वाद गर्न सकिन्छ भन्नुभएको छ ।’

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार शीतल निवास र बिहीबार संसद भवनमा हार्दिकताका साथ देखिएका थिए । त्यहाँ उनीहरुमा अर्थपूर्ण हाँसो थियो ।

मंगलबार ओलीले आफ्ना उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सत्ता समीकरणको विषयमा छलफल गर्न प्रचण्ड निवास खुमलटार नै पठाएका थिए । सो अवसरमा नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री बन्न औपचारिक रुपमा प्रस्ताव गरेका थिए ।

उपाध्यक्ष नेम्वाङले वामपन्थी दलहरुबीच एकै ठाउँमा आउनुपर्नेमा जोड दिएका थिए । उनले प्रचण्डसमक्ष सत्तारुढ गठबन्धन टुटाएर एमाले–माओवादीको सरकार बनाउनुपर्ने धारणा राखेका थिए ।

वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने गरी सरकार गठन गर्ने तयारी गरिरहेको बेला एमाले पनि सत्ता सहकार्यको लागि माओवादीलाई प्रस्ताव गरेको हो । पछिल्लो समय एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले अध्यक्षद्वय ओली र प्रचण्डलाई मिलेर जान दवाब दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्