Logo
Logo

शेरबहादुर देउवा राष्ट्रपति बन्ने चर्चा र सम्भावना


25k
Shares

काठमाडौं । सरकार गठनको सन्दर्भलाई लिएर सत्तारुढ गठबन्धनले निक्कै पेचिलो समय सामना गरिरहेको छ । थोरै मात्र गल्ती हुँदा गठबन्धनबाट सत्ताको साँचो फुत्किन सक्छ ।

गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई सुप्रिमो शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयमा गठबन्धनको भविष्य र सत्ताको साँचो निर्भर रहन्छ ।

पछिल्लो परिघटनाहरूले प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना बलियो बन्दै गएको देखिन्छ । यस्तो अवस्थामा देउवाले के गर्ने ? देउवासँग तीन विकल्प रहन्छ । एक, दोस्रो कार्यकाल पर्खने । दुई, राष्ट्रपति बन्ने । तीन, राजनीतिमा बिदा लिने ।

कम्तिमा देउवाबाट अन्तिम विकल्प कल्पना गरिन्न । किनकी, सत्ता र देउवा पर्याय नै बनेको छ । देउवा सत्ताभन्दा बाहिर बस्न सक्दैनन् ।
त्यसो भए पहिलो विकल्प मानिएको पालो पर्खन देउवा तयार होलान् त ? यो विकल्पमा पनि देउवा आफूलाई सुरक्षित देख्दैनन् । किनकी, यसपटकको जनमतको भर छैन । कुनै पनि बेला समीकरण फेरबदल हुनसक्छ ।

बाँकी रह्यो, दोस्रो विकल्प । अर्थात, राष्ट्रपति बन्ने । र, उमेर र राजनीतिक जीवनको उत्तरार्द्धमा सर्वोच्च पद चुमेर स–सम्मान बिदा हुने । देउवाका लागि यो अत्ति उपयुक्त र उत्तम विकल्प मानिएको छ ।

के त्यसो भए आलङ्कारिक पद राष्ट्रपतिका लागि देउवा तयार होलान् ? यो प्रश्नको जवाफ जटिल छ । तर, असम्भव होइन । देउवाले इमानदारीपूर्वक स्वअवमूल्याङ्कन गर्ने हो भने राष्ट्रपति बन्न तयार हुनुपर्छ ।

देउवा दर्जनौँ पटक मन्त्री र पाँचौं पटक प्रधानमन्त्री भइसकेका राजनीतिज्ञ हुन् । समकालीन नेतृत्वमध्ये सबैभन्दा धेरै प्रधानमन्त्री बनेकाे रेकर्ड कम्तिमा आजको मितिसम्म देउवासँग मात्र छ । यस अर्थमा पनि देउवालाई चित्त बुझाउने ठाउँ छ ।

अहिलेका प्रधानमन्त्रीका दाबेदार देउवा र प्रचण्डबीच निक्कै सौहार्द सहमति भएको पनि मानिन्छ । र, दुवैको निष्कर्ष– यसै पटक प्रधानमन्त्री नबने बाँकी दिनमा सम्भावना छैन । किनकी, यसपटकको जनमतले जे पनि गर्नसक्छ ।

यस आधारमा देउवा–प्रचण्डबीच करिबकरिब अन्तिम इनिङका लागि निक्कै मजबुत सम्झौता भएको समेत चर्चा हुन्छ । पछिल्लो एक छलफलमा प्रचण्डले देउवालाई राष्ट्रपतिको रुपमा देशलाई अभिभावकत्व प्रदान गर्न आग्रह गरेका थिए ।

प्रचण्डको आग्रहमा देउवा असहमत थिएनन् । तर, देउवाले पार्टीभित्रको शक्ति सन्तुलनले अप्ठ्यारो पार्ने हो कि ? भनेर थोरै चिन्ता व्यक्त गरेको सुनिन्छ । तर, दलको नेता निर्वाचित भएसँगै देउवाले परिस्थिति काबुमा ल्याइसकेका छन् । त्यसैले देउवाले दुनियाँलाई ‘सक्ड’ बनाउने निर्णय पनि लिन सक्छन् ।

यदि, देउवा राष्ट्रपतिका लागि तयार हुने हो भने वर्तमान सत्ता गठबन्धन झनै सहज रुपमा अघि बढ्न सक्छ । तर, त्यस्तो अवस्थामा देउवाले भावी प्रधानमन्त्रीका लागि पार्टीका अरू नेतालाई नै तयार पार्नुपर्ने हुन्छ ।

तर, देउवाले दास्रो कार्यकालको प्रधानमन्त्री नै पर्खने अवस्थामा भने कांग्रेसबाट रामचन्द्र पौडेललाई राष्ट्रपतिका लागि निर्भिकल्प मानिएका छन् । यस, विकल्पमा पनि देउवा तयार देखिन्छन् । किनकी, रामचन्द्रले १४औं महाधिवेशनबाटै त्यो बाटो बनाएका छन् । होइन, देउवा नै राष्ट्रपति भएको खण्डमा प्रधामन्त्री बन्ने रामचन्द्रको चाहना पनि पुरा हुन सक्छ ।

उमेर र राजनीतिक जीवनको उत्तरार्द्धमा देउवाले प्रधानमन्त्री रोज्ने हो भने यो भन्दा उत्तम निर्णय कम्तिमा उनका लागि अरु हुन सक्दैन । र, एक पाका र अनुभवि राजनीतिज्ञबाट देशलाई अभिभावकत्व प्रदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्