Logo
Logo

आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा कांग्रेस


3.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रयासमा लागेको छ । जसका लागि कांग्रेसले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेको छ ।

राष्ट्रपतिले सरकार गठन गर्न दिएको समयावधि सकिन लाग्दा कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा लागेको हो । राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री दाबी पेश गर्न ३ पुसमा दिएको समयावधि आइतबार अपरान्ह ५ बजे सकिँदैछ ।

कांग्रेसले अहिलेकै गठबन्धनमा केही दलको समर्थन जुटाएर सरकार बनाउने तयारी गरिरहेको छ । तर, को प्रधानमन्त्री बन्ने भन्नेमा गठबन्धनभित्र समझदारी हुन सकिरहेको छैन ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताउँदै आएका छन् । तर, कसले पहिलो सरकारको नेतृत्व गर्ने भन्नेमा सहमति हुन नसकेको हो । कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्नेबारे भने सहमति भइसकेको छ ।

कांग्रेसले पहिलो सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताउँदै आएको छ भने माओवादीको पनि अडान उस्तै छ । वर्तमान सरकारको नेतृत्व कांग्रेसले गर्दै आएकाले अब आफ्नो नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने माओवादीले बताउँदै आएको छ ।

यसैबेला कांग्रेस आफ्नै नेतृत्वमा सरकार गठनको प्रयासमा लागेको हो । कांग्रेसले आफ्नो सांसदहरुको हस्ताक्षर संकलन गर्नुको उद्देश्य पनि त्यही नै हो । प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न कांग्रेसले प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर लिएको एक कांग्रेस नेताले बताए । उनले ‘राष्ट्रपति कार्यालयमा पेश गर्न सांसदहरूको हस्ताक्षर लिइएको हो ।’

कांग्रेसले शुक्रबार पार्टी संसदीय दलको कार्यालयमा सांसदहरूको हस्ताक्षर लिएको थियो भने बाँकी रहेका सांसदको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार बोलाएर हस्ताक्षर गराएका छन् । कांग्रेसमा ८९ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्