Logo
Logo

गठबन्धन तोडिए एमालेको समर्थन कसलाई ?


11.8k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनभित्रका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पहिला को प्रधानमन्त्री बन्ने ? भन्ने विषयमा अझै सहमति हुन सकेको छैन ।

केही दिनयता नयाँ सरकार गठन गर्ने विषयमा दलहरु लगातार छलफल गर्दै आएका छन् । ती छलफलमा ओलोपालो सरकारको नेतृत्व गर्ने विषयमा मात्र सहमति जुटेको छ ।

सत्ता गठबन्धनका दलहरुबीच शक्ति बाँडफाँटको विषयमा समेत विभिन्न चरणमा छलफल गर्दै आएका छन् । तर, कांग्रेस र माओवादीले अडान नछाड्दा राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयावधिसमेत घर्किन लागेको छ ।

राष्ट्रपतिले दलहरुलाई पुस ३ गते संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दिएको एक साताको समय सीमा आज आइतबार ५ बजे अपरान्ह सकिँदैछ । तर, अझै कांग्रेस र माओवादीबीच सहमति हुन सकेको छैन ।

सहमति जुटाउन आइतबार कांग्रेस नेताहरू बालुवाटारमा छलफलमा जुटिरहँदा माओवादी केन्द्रका नेताहरू अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा छलफलमा थिए । माओवादी बैठक चलिरहेकै बेला कांग्रेस नेता विमलेन्द्र निधि खुमलटार पुगेर प्रचण्डलाई मनाउने प्रयास गरेका थिए ।

प्रचण्डसँगको छलफलमा नेता निधिले गठबन्धन कायम राख्नका लागि पनि सहमति जरुरी रहेको भन्दै विकल्प नसोच्न आग्रह गरेका थिए । स्रोतका अनुसार त्यसक्रममा निधिले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले छोड्न नसक्ने बताएका थिए ।

निधिको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘कांग्रेसको बटमलाइन प्रधानमन्त्री र राष्ट्रपति हो । यसमा तपाई सहमतिमा आउनुप¥यो ।’ तर, जवाफमा प्रचण्डले यदि प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले राख्ने हो भने गठबन्धन टुट्न सक्छ भन्दै विकल्प खोज्न बाध्य हुने बताएका थिए ।

यसअघि निधि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको विशेषदूत बनेर एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए । बालकोटबाट फकेपछि निधि आइतबार बिहानै प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

माओवादी केन्द्रका प्रचण्डले पहिला आफू पहिला प्रधानमन्त्री हुनुपर्ने अडान राख्दै आएका छन् । प्रचण्डले प्रधानमन्त्रीको बटमलाइन छाडेका छैनन । यस्तै, कांग्रेस सभापति देउवाले पनि आफू नै पहिला प्रधानमन्त्री हुनुपर्ने अडान लिएका छन् ।

कांग्रेसका नेताहरुले प्रधानमन्त्री पद माओवादीलाई छाड्न नहुने दबाब देउवालाई छ । सोही दबाबका कारण प्रधानमन्त्री देउवाले पुनः प्रधानमन्त्री बन्ने दावी कायमै राखेका हुन् ।

प्रधानमन्त्रीमा कांग्रेस र माओवादीले आ–आफ्नो दाबी नछाडेर सहमतिमा सकस भइराख्दा दुबै दलले ‘विकल्प खोज्ने चेतावनीयुक्त सन्देश’समेत दिन थालेका छन् ।

आफू प्रधानमन्त्री बन्नकै लागि प्रचण्डले एमाले अध्यक्ष ओलीसँग सम्पर्क बढाएका छन् । केही दिनअघि अब बन्ने सरकारको नेतृत्व माओवादीले गर्नुपर्ने एमालेले बताएको थियो । एमालेले प्रधानमन्त्री पदका लागि माओवादीलाई प्रस्ताव गरेको भन्दै माओवादीले गठबन्धनमा ‘बार्गेनिङ पावर’ बढाएको समेत कांग्रेसको बुझाइ छ ।

यस्तै, कांग्रेसले पनि एमालेसँग सम्बन्ध बढाएको छ । कांग्रेस नेता विमलेन्द्र निधि शनिबार साँझ एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । गठबन्धन तोड्ने शर्तमा एमालेले कांग्रेसलाई समर्थन जनाउने आश्वासन दिएको कांग्रेस स्रोत बताउँछ ।
गठबन्धन दलहरु आज निर्णायक बैठक बस्दैछन् । तर, निर्णायक बैठक बस्नु केही घण्टा बाँकी रहँदासम्म कांग्रेस र माओवादी आफ्नो अडानमै छन् ।

कांग्रेस र माओवादीले आफ्नो अडान कायम राखेको खण्डमा एमालेले कसलाई समर्थन गर्छ भन्ने विषय अगाडि आएको छ । र, आगामी सरकारको नेतृत्व कसले गर्छ भन्ने निर्धारण हुनेछ ।

यही अवस्थामा सत्तारुढ गठबन्धन टुटेमा आश्चर्य मान्नु पर्दैन । तर, कांग्रेस र माओवादी दुवैलाई समर्थन जनाउने आश्वासन दिएपनि अहिलेसम्म एमालेले कसलाई समर्थन गर्छ भन्ने प्रस्ट भएको छैन ।

प्रतिक्रिया दिनुहोस्