Logo
Logo

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने, के गर्ला माओवादी ?


4.7k
Shares

काठमाडौं । राजनीतिक दलहरु नयाँ सरकार गठनको रस्साकस्सीमा छन् । सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७ दिने समयसीमा सकिन केहि घण्टामात्रै बाँकी छ ।

यस्तोमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् । उनीहरु केहि दिनयता निरन्तर ‘पावर सेयरिङका’ विषयमा सहमति जुटाउने प्रयासमा छन्। तर, हालसम्म टुंगो भने लाग्न सकेको छैन् ।

शनिबार बालुवाटारमा बसेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको छलफलमा आलोपालो प्रधानमन्त्री बन्ने विषयमा लगभग सहमति जुटेको बताइएको थियो । तर, आज बिहानै कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति पद नछाड्ने बताएको छ ।

आइतबार बिहान खुमलटार पुगेर नेता विमलेन्द्र निधिले प्रचण्डसँगको छलफलमा कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति पद नछाड्ने बताएका हुन् । ‘कांग्रेसको बटमलाइन प्रधानमन्त्री र राष्ट्रपति हो । यसमा तपाई सहमतिमा आउनुपर्‍यो’, निधिको भनाई उदृत गर्दै एक नेताले भने । जवाफमा प्रचण्डले यदि प्रधानमन्त्री र राष्ट्रपति दुबै कांग्रेसले राखे गठबन्धन टुट्ने सक्ने भन्दै विकल्प खोज्न बाध्य हुने बताएका छन् ।

कांग्रेसले दुबै पद नदिए माओवादी के गर्छ ?

माओवादीले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए सरकारमा सहभागी नहुने निर्णय गरेको छ । आज बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिएमा गठबन्धनबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको माओवादीका एक पदाधिकारीले बताए ।

उनका अनुसार यसअघि देउवा र प्रचण्डबीच चुनाव लगत्तै प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी भएको थियो । तर, अहिले राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेस बन्न खोजे सरकारमै सहभागी नहुने र प्रतिपक्षमा बस्ने निर्णय गरिएको हाे ।

प्रतिक्रिया दिनुहोस्