Logo
Logo

पावर सेयरिङ विवाद : फुटको संघारमा सत्ता गठबन्धन


2.1k
Shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनभित्रको विवाद उत्कर्षमा पुगेको छ । नयाँ बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा माओवादी र कांग्रेसबीच कुरा नमिल्दा गठबन्धन भित्रको विवाद सतहमा आएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको ७ दिने समयसीमा सकिन केहि घण्टामात्रै बाँकि छ । तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादर देउवाले प्रधानमन्त्री पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडान यथावत् राखेका छन् ।

आलोपालो नेतृत्व चलाउने सहमति जुटेपनि पहिले प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सहमति जुटाउन देउवा, प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल निर्णायक छलफलमा जुटेका थिए । तर, देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नमानेपछि उक्त बैठक बिना निष्कर्ष टुंगिएको छ । पावर सेयरिङका विषयमा कुरा नमिलेपछि बालुवाटार बैठकबाट निस्किएका प्रचण्ड सिधै एमाले अध्यक्ष केपी ओली निवास बालकोट प्रस्थान गरेका छन् ।

चुनावमा आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारलाई निरन्तरता दिने प्रतिबद्वतासहित जनमत लिएका सत्ता गठबन्धन दल चुनावपछि भने सरकार गठनका लागि बार्गेनिङमा छन् । गठबन्धनमा रहेका दलहरुबीच शक्ति बाँडफाँटको सहमति नहुँदा नयाँ सरकार गठन हुन सकेको छैन ।

माओवादी अध्यक्ष प्रचण्ड स्वयमले नै प्रधानमन्त्री नपाए गठबन्धनमा बस्न नसकिने नेताहरुसमक्ष ब्रिफिङ गरिसकेका छन् । उनले आइतबार बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकमा चुनावी तालमेलका क्रममा आफूहरुले धोका पाएको उल्लेख गर्दै प्रधानमन्त्री र राष्ट्रपति दुबै कांग्रेसले लिए सरकारमा जानुको अर्थ नभएको बताइसकेका छन् ।

माओवादी सचिवालयको दावीअनुसार कांग्रेसले यसअघिको सहमति तोडेको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पूर्व–सहमतिअनुसार कांग्रेसले सहमति तोडेको बताएका छन् ।

उनले भनेका छन्, ‘नेपाली राजनीतिको एउटा खराव चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमति गर्ने तर आफू माथि पुगेँ भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने ? पछिल्लो घटनाक्रमले के देखाउँछ कि इतिहासको फेरि दुःखान्त पुनरावृत्ति हाम्रासामु छ ।’

बालुवाटार स्रोतका अनुसार अहिले गठबन्धनकै सरकार बनाउने विषयमा सहमति जुटाउन अन्तिम कसरत चलिरहेको छ । तर, वर्तमान गठबन्धनको सरकार बनाउने कि भत्काउने भन्ने देउवाको हातमा छ ।

प्रतिक्रिया दिनुहोस्