Logo
Logo

सातै प्रदेशमा पाखा लाग्यो कांग्रेस, यसरी बन्दैछ एमाले-माओवादी गठबन्धनको सरकार


23.8k
Shares

काठमाडौं । आइतबार दिउँसो १ बजेसम्म आफ्नै नेतृत्वमा सरकार गठन गर्ने आँटसहित ढुक्क कांग्रेस २ बज्दानबज्दै संघ र प्रदेशमा सत्ताविहीन बन्यो । 

तत्कालीन गठबन्धन आवद्ध पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्वसहमतिअनुसार पहिलो कार्यकालको प्रधानमन्त्री स्वीकार गर्न सभापति शेरबहादुर देउवा तयार नहुँदा कांग्रेसले सबै सत्ता गुमाएको हो ।

एमाले–माओवादीसहित अन्य दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भइसकेका छन् । यो सँगै कांग्रेसले संघीय सरकार र सातै प्रदेश सरकार गुमाएको छ ।

माओवादीसँगको गठबन्धन कायम रहेको अवस्थामा कांग्रेसले राष्ट्रपतिसहित कम्तिमा ४ प्रदेशको नेतृत्व गर्ने सम्भावना थियो । तर, अब ति सबै पदमा एमाले–माओवादी गठबन्धनले सरकार बनाउने छन् ।

९३ सदस्यीय प्रदेश १ प्रदेशसभामा सरकार बनाउन ४७ सदस्य आवश्यक पर्छ । एमालेको ४०, माओवादीको १३, राप्रपाका ६ र जसपाको १ गरी एमाले–माओवादी गठबन्धनको पक्षमा ६० मत पुगेको छ । यहाँ कांग्रेसको सरकार बन्ने कुनै सम्भावना छैन ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा प्रदेश सरकार गठन गर्न ५४ मत आवश्यक पर्छ । यहाँ एमालेको २३, माओवादीको ८, जसपाको १६, जनमतको १३, राप्रपाको १ र नागरिक उन्मुक्ति पार्टीको १ गरी गठबन्धनको पक्षमा ६२ सिट पुगेको छ । यहाँ पनि गठबन्धनले सहजै सरकार बनाउने अवस्था बनेको छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ मत चाहिन्छ । यहाँ एमालेको २७, माओवादीको २१ र राप्रपाको १३ गरी ६१ मत एमाले–माओवादी गठबन्धनसँग छ । यहाँ पनि कांग्रेसले सरकार बनाउने सम्भावना छैन ।

त्यस्तैगरी, ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ मत आवश्यक हुन्छ । यहाँ एमालेको २२, माओवादीको ७, राप्रपाको २ गरी एमाले–माओवादी गठबन्धनको ३१ मत पुगेको छ । जुन सरकार गठनका लागि पुग्दो मत हो ।

त्यस्तै, लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ ।  यहाँ सरकार गठनका लागि ४४ मत चाहिन्छ । यहाँ पनि एमालेको २९, माओवादीको ९, जसपाको ३, राप्रपाको ४, जनमतको ३, उन्मुक्तिको ४ गरी एमाले–माओवादी गठबन्धनको पक्षमा ५२ मत पुगेको छ । 

त्यसैगरी, कर्णाली प्रदेशसभा ४० सदस्यीय रहेको छ । यहाँ सरकार बनाउन २१ मत आवश्यक पर्छ । यहाँ एमालेको १०, माओवादीको १३, राप्रपाको १ गरी एमाले–माओवादी गठबन्धनकाे मत २४ पुगेको छ । यहाँ पनि कांग्रेस नेतृत्वको सरकार बन्दैन । 

सुदूरपश्चिम प्रदेशमा पनि एमाले–माओवादी गठबन्धनकै सरकार बन्ने भएको छ । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ मत चाहिन्छ । यहाँ एमालेको १०, माओवादीको ११, नागरिक उन्मुक्तिको ७ र राप्रपाको १ गरी २९ मत एमाले–माओवादी गठबन्धनले तय गरेको छ । यसरी सुदूरपश्चिममा पनि कांग्रेस सत्ताविहीन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्