Logo
Logo

प्रहरीमा के होला ३० वर्षे सेवाहद ?


639.1k
Shares

काठमाडौं । शेरबहादुर देउवा सरकारले प्रहरीमा ३० वर्षे सेवाहद हटाउने अन्तिम तयारी गरेको थियो । तर, अकस्मात एमाले–माओवादी गठबन्धन बनेपछि त्यो प्रक्रिया अवरुद्ध भएको छ ।

यसअघिको कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन् । प्रचण्ड प्रहरीमा ३० वर्षे सेवाहदले निम्त्याएको समस्याबारे जानकार रहेको बताइन्छ । त्यसकारण संगठनमा सुधारका लागि नयाँ सरकारले सेवाहदको विभेद हटाउने विश्वास प्रहरी अधिकारीको छ ।

राजश्व ज्यादै कम उठेकाले देशमा चैतदेखि कर्मचारीलाई तलब खुवाउन समस्या हुने अवस्था छ । सुरक्षा निकायमा ३० वर्षे सेवाहदका कारण एकातर्फ पेन्सनको भार बढेको छ भने अर्काेतर्फ अनुभवी सुरक्षाकर्मीलाई राज्यले छिट्टै गुमाउनुपर्ने अवस्था छ । अर्थतन्त्रको अवस्था र सुरक्षा निकायमा प्रहरीको मनोबल बढाउनका लागि सेवाहद हटाउनु अनिवार्य देखिएको छ ।

विगतमा सेवाहद हटाउने र हटाउन नहुने पक्षबीचको संघर्षका कारण संगठनमाथिको विभेद हट्न सकेको थिएन । अहिले सेवाहद हटाउन प्रहरीमा एकमत रहेकाले पनि सेवाहद हट्ने र अवकाशको उमेर, पदावधि लगायत विषयमा संशोधन हुने सम्भावना छ ।

केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेलामा पनि सेवाहद हटाउन लागिएको थियो । तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पदावधि लम्बाउन त्यसबेला सेवाहद हटाउन लागिएको थियो । तर, सहमति नहुँदा निर्णय हुन नसकेको बताइन्छ ।

अहिले नयाँ आइजिपी नियुक्ति हुने समय पनि नभएको र कसैलाई असर पनि नगर्ने भएकाले संगठन र देशको हितका लागि यो विषय बहसमा छ ।

प्रतिक्रिया दिनुहोस्