Logo
Logo
विचार

ध्रुवीकरणको दिशामा वाम राजनीति


3.7k
Shares

सत्तारूढ गठबन्धनमा आएको नाटकीय मोडसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विपक्षी गठबन्धनमा गएर नेपालको ४४औँ प्रधानमन्त्री भए । झट्ट हेर्दा यो एक किसिमको अविश्वसनीय परिघटनाजस्तो लागे पनि कांग्रेस सभापति शेरबहादुर देउवामा बढ्दै गएको सत्तामोह, माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री भइछाड्ने हुटहुटी र एमाले अध्यक्ष ओलीको च्याँखेदाउ देख्दा यो अस्वाभाविक पनि होइन ।

अस्वाभाविक चाहिँ यतिबेला कांग्रेस सभापति देउवालाई लागेको हुनसक्छ । शायद, उनलाई अझै पनि प्रचण्ड प्रधानमन्त्री भएको र आफूले रातारात सारा गुमाउनुपरेको विश्वास हुनसकेको छैन । उनले प्रधानमन्त्री हुन दुई वर्ष पर्खेको भए कांग्रेसको पक्षमा पासा पल्टिन्थ्यो । तर, त्यसो नगर्दा ख्यालख्यालमै एमालेका पक्षमा पासा पल्टियो । निश्चित हो कि आजको परिस्थिति सिर्जना हुने थाहा पाएको भए उनले यो परिदृश्य निम्त्याउने थिएनन् । प्रचण्डलाई गलाएर पहिलो कार्यकालको प्रधानमन्त्री र राष्ट्रपति दुवै लिन खोज्दा देउवाको कारण कांग्रेसले सबै गुमाए ।

प्रस्तुत परिस्थितिमा सत्तारूढ गठबन्धन टुटेको छ । यो गठबन्धनमा रहेका कांग्रेससहित चार दल भने सत्ताभन्दा बाहिरै छन् । ती दलहरूमा नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा रहेका छन् । राष्ट्रिय जनमोर्चाको माउ पार्टीका सुप्रिमो मोहनविक्रम सिंहले प्रचण्डलाई गाली गरेर एक प्रेस विज्ञप्ति निकालेका छन् । तर, नेकपा एसका नेतापिच्छे भिन्न–भिन्न कुरा बाहिर आए पनि पार्टीको तर्फबाट जारी गरिएको प्रेस विज्ञप्तिमा भने पार्टी ‘पर्ख र हेर’ को स्थितिमा रहेको जनाइएको छ ।

सत्तारूढ गठबन्धन टुट्दा कसलाई फाइदा र कसलाई बेफाइदा भयो ? अहिले देशमा यसको हिसाबकिताब सुरू भएको छ । पहिला नोक्सानको कुरा गरौं । पार्टीगतरूपमा सबैभन्दा बढी नोक्सान कांग्रेसलाई र दोस्रो ठूलो नोक्सान नेकपा एसलाई भएको छ । कांग्रेसले राष्ट्रपति, सभामुखलगायत सर्वस्व नै गुमायो, नेकपा एसका अध्यक्ष नेपाल पनि प्रधानमन्त्री हुने अवसर पर्खँदै थिएँ । उनको पार्टी केन्द्रदेखि प्रदेशसम्म सत्तारूढ हुँदा थुप्रै पार्टी नेताहरू सत्ताका पदाधिकारी हुने थिए । तर, अब त्यो परिस्थिति रहेन । पछिल्लो स्थितिमा कुनै नाटकीय परिवर्तन नआए नेकपा एस कमजोर बन्ने दिन आउनेछ । ओलीको इच्छा पनि यही थियो ।

अब, लाभको पदबिना नेपालमा पार्टी जोगाउन गाह्रो छ । हरेक सांसदको अंकगणितीय अर्थ रहेको अहिलेको त्रिशंकु अवस्थामा साना दलका हरेक सांसद कतिबेला को कहाँ पुग्छन् भन्न सक्ने स्थिति हुँदैन । बढीमा २५ जना मन्त्री हुने हो, तर अहिले सांसद रहेका हरेकले मन्त्री हुने सपना देखेका छन् । तीमध्ये कम्तीमा आधा त सत्ताको खेल पनि खेल्न जान्नेछन् ।

यो त नोक्सान हुने पक्षको कुरा भयो । अब फाइदा हुने नयाँ सत्तारूढ गठबन्धनको कुरा गरौं । सात दल र तीन स्वतन्त्र सांसदको १६९ सदस्यीय यो गठबन्धनका पहिलो साढे दुई वर्षका किङ प्रचण्ड भए पनि किङमेकर भने एमाले अध्यक्ष ओली हुन् । कांग्रेस नेतृत्वको सत्तारूढ गठबन्धन जोगिएको भए केही पनि नपाउने हरितन्नम अवस्थामा च्याँखेदाउ थापिरहेका ओलीको पक्षमा च्याँखे बल्झियो ।

फलतः उनको हातमा राष्ट्रपति, सभामुख, कम्तीमा पाँचजना मन्त्री, तीन प्रदेशका मुख्यमन्त्री र सातै प्रदेशमा दर्जनौँ मन्त्रीहरू, केही प्रदेशमा सभामुख, उपसभामुखलगायतका थुप्रै पदहरू फालिम लागे । उनकै लागि पनि अमिलो अंगुर भइसकेको प्रधानमन्त्री पद साढे दुई वर्षपछि बनिबनाउ अवस्थामा आउने भयो । ओलीलाई पदमात्र प्राप्त भएन, एमालेबाट विभाजन भएर गएको नेकपा एससँगको प्रतिष्ठायुद्ध जित्ने मौका पनि मिल्यो । नेकपा एस र यसको नेतृत्व अप्ठ्यारो अवस्थामा धकेलियो ।

एकातिर तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न नसकेको चोट छ, अर्कोतिर प्रचण्डको अभिभावकत्व र गठबन्धनको आडमा आफ्नो महत्व कायम राखिरहेको अवस्थामा पनि बज्रपात पर्‍यो । प्रचण्ड पनि ओलीलाई मन नपरेको नेकपा एस र यसका नेताहरू लिएर नयाँ गठबन्धनका जान सकेनन् । ओलीको पूर्वशर्त नै थियो, नेकपा एसलाई लिएर गठबन्धनमा नआउनु होला ।

गठबन्धनमा घण्टीवाला रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि जोडिएको छ । घण्टी पार्टी प्रचण्डलाई सत्तोसराप गर्दै ‘नो नट अगेन’को नारा लिएर चुनावमा गएको थियो । त्यसमा पनि लामिछानेले त के भने भन्दा पनि के भन्न बाँकी राखेनन् भन्ने दशी प्रमाणका अनेक क्लिपहरू सामाजिक सञ्जालमा छ्यास्छ्यास्ती देखिएका छन् । अब उनै नयाँका मसिहा लामिछाने सरकारमा जान खुट्टा उचालेर बसेका छन् । यसले नयाँ पनि सत्ताकै लागि रहेछन् भन्ने बुझ्न कुनै आइतबार पर्खनु परेन । केही सहरिया युवा मतदाताको भ्रम तोडिन केही समय नै लागेन । नयाँ र धेरै दल देशका लागि समस्या हुन्, समाधान हैनन् भन्नेहरूलाई बल पुग्यो ।
राजेन्द्र लिङ्देनको राजा आउ देश बचाउ पार्टी पनि गणतन्त्रका ठूलो ब्राण्ड प्रचण्डकै टाङमुनि पुगेको छ । यसले उसको संवैधानिक राजतन्त्र, हिन्दू राज्य र संघीय संरचना खारेजीको नारा पनि कर्कलाको पानीजस्तै हुने संकेत देखिएको छ । सत्ताका सामु यी सबै कुरा गौण बनाएर लिङ्देनले पनि आफ्नो राजनीति सके । तर, संघीय गणतन्त्र नेपालका लागि भने अर्को ऐजेरू पनि सकियो, खुसीकै कुरा हो ।

गठबन्धनमा दुई नयाँ दल सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी पनि जोडिएका छन् । उनीहरूका लगभग उस्तै कोटीका केही माग छन् । यी दलको संख्या गठबन्धनको न्यूनतम शर्त नभएकाले यिनीहरूलाई त्यति महत्व पनि दिइँदैन । तर, सरकार बनाउने क्रममा सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी र मधेस प्रदेशमा जनमत पार्टी निर्णायक छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि यी दलको मतभारले अर्थ राख्छ ।

गठबन्धन सरकार अहिलेका लागि बाध्यकारी जनादेश हो । जनताले खण्डित जनादेशमार्फत् त्रिशंकु संसद् दिएपछि यसको अर्को विकल्प थिएन । तर, चुनावमा जाँदा एउटा गठबन्धनमा भएकाहरू सरकार बनाउँदा अर्को गठबन्धनमा हुँदा भने अलि अस्वभाविकचाहिँ लागेकै हो ।

यो चुनावका गठबन्धन वैचारिक थिएनन् । ओलीलाई विस्थापित गर्न बनेको सत्तारूढ गठबन्धन त्यसैको निरन्तरताका लागि थियो । त्यति हुँदाहुँदै पनि ओलीले काउन्टर दिएका थिए । नेपालको राजनीतिकको लागि विचारविहीन गठबन्धन र तालमेल दुवै सही थिएनन् र तिनीहरू लामो समयसम्म जानु हुँदैनथ्यो । तर सत्तारूढ गठबन्धन यसरी असामयिक टुट्नुचाहिँ सही सेफ ल्याण्डिङ होइन । यसले राजनीति भनेको सत्ता नै हो भन्ने किसिमको मन्दविषसहितको साइड इफेक्टहरू छोडेको छ ।

तर, सुखद पक्ष के हो भने ध्रुवीकरण सैद्धान्तिक धरातलमा हुन सुरू भएको छ । दुई ठूला वामघटक एक ठाउँमा आएर गठबन्धन बनाएका छन् । यसले नेपालको राजनीतिको कोर्स करेक्सन एक स्टेप अगाडि बढेको छ । समस्या के मात्र हो भने अझै पनि पूरै भेडा भेडासँग बाख्रा बाख्रासँग चाहिँ हुन सकेनन् । यदि, त्यस्तो हुन्थ्यो भने राप्रपा र रास्वपा कांग्रेस नेतृत्वको दक्षिणपन्थी गठबन्धनमा हुनुपथ्र्यो । नेकपा एस र राष्ट्रिय जनमोर्चा अहिले बनेको सत्तारूढ वामपन्थी गठबन्धनतिर हुनुपथ्र्याे । त्यसो भएको भए वैचारिक धरातलमै कित्ताकाँट हुन्थ्यो । सरकार बनाउने अंकगणित पनि पुग्थ्यो ।

त्यसो हुन सकेन । तर, अझै पनि त्यो सम्भावना सकिएको छैन । त्यो सम्भावनाको पासा पनि ओलीकै हातमा छ । यदि ओलीले ठूलो हृदय गरेर नेकपा एसका अध्यक्ष माधव नेपाल वा सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपति पदका लागि अफर गरेर पार्टी एकीकरण गर्न चाहे भने त्यो नहुने कुरै छैन । आखिर यी दुई पार्टी रहिरहनुको अर्थ पनि छैन र अहिलेको परल स्थितिमा नेपाललाई नेकपा एस जोगाएर अगाडि बढाउन सहज पनि छैन । ओलीले त्यसो गर्नेबित्तिकै नेपालको वामपन्थी ध्रुवीकरणको गतिले अरू रफ्तार लिने थियो ।

अब प्रश्न उठ्छ, के ओलीले त्यसो गर्लान् त ? ओलीको चरित्र र प्रवृत्ति हे¥यो भने गर्लान् भन्न सकिन्न । तर, प्रचण्डले यो गठन्धन बनाउने बेलामा अलिकति होस्टेमा हैसे गरेको भए नेकपा एसलाई पनि गठबन्धनमा लिएर जान सक्ने थिए । ओलीलाई जसरी पनि सत्तारूढ गठबन्धन टुटाएर च्याखेदाउ पल्टाउनु थियो र त्यसका लागि नेकपा एसकै विषय केन्द्रमा हुन्थ्यो भने उनी लचक हुन पनि सक्थे । तर, अहिले परिस्थिति फेरिएको छ । यद्यपि, प्रचण्डले नेकपा एसलाई गठबन्धनमा लैजान हरसम्भव प्रयास गरे भने त्यो ‘च्याप्टर क्लोज’ चाहिँ भइसकेको छैन ।

त्यसो त राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव आउन अझै केही समय बाँकी छ । त्यो चुनावका लागि नेकपा एससँग राम्रै मतभार पनि छ । फेरि गठबन्धनका घटक र नेताले भने भन्दैमा सबैले जो पायो त्यही उम्मेदवारलाई मत नै देलान् भन्ने पनि छैन । ह्वीप नलाग्ने गोप्य मतदानमा अन्तरघात नहोला भन्न पनि सकिन्न । यसअघि राष्ट्रियसभा सदस्य पदका लागि भएको चुनावमा पनि यस्तो भएको छ ।

माधव नेपाल वा झलनाथ खनाललाई एउटा सम्मानित बिदाइ दिन एमाले अध्यक्ष ओलीले संकेत मात्र गरे भने अहिले सम्भावित भनेर नाम बाहिर ल्याइएका एमाले नेताहरू पनि त्यसका लागि तयार नै होलान् । उनीहरूले पनि ठूलो हृदय देखाएर ओलीलाई सुझाव दिन सक्छन् ।

भनाइ नै छ, राजनीति असंख्य सम्भावनाहरूको खेल हो । झट्ट हेर्दा असम्भवजस्तो देखिए पनि रात रहे अग्राख पलाउने देशमा त्यस्तो नहोला भन्न सकिन्न । यदि त्यस्तो भयो भने वामपन्थी ध्रुवीकरण एक स्टेप अगाडि पुग्थ्यो । यो क्रियाका लागि कांग्रेस नेतृत्व दक्षिणपन्थी गठबन्धन बनाएर प्रतिक्रिया दिन बाध्य हुन्थ्यो । फलतः देश वैचारिक धरातलमा दुई ध्रुवीय गठबन्धनमा अगाडि बढ्न सक्थ्यो । वास्तवमा नेपाल र नेपालीको सर्वोत्तम हितका लागि वैचारिक धरातलमा दुईदलीय राजनीतिक ध्रुवीकरणको विकल्प छैन ।

आशा गरौं, ओलीमा त्यो सद्बुद्धि आओस् जसले गर्दा उनको निधारमा नेपालमा कम्युनिष्ट छाने एक खलनायकका रूपमा लागेको कलंकको टीका मेटिने छ, उनी एक राजनेता हुन सक्छन् । त्यस्तो अवसर बालकोटको ढोकामै उपस्थित छ । उनले ढोका उघारेर अवसरलाई स्वागत गरे भने बालकोटको बार्दलीमा अरू कम्रेडी हातहरू एकसाथ हल्लिने छन् । नेपालका वामपन्थीहरू त्यो दिनको प्रतीक्षामा छन् ।

प्रतिक्रिया दिनुहोस्