अनपेक्षित राजनीतिक उथलपुथलले प्रतिगमन विरूद्धको गठबन्धन टुटेको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि बनेको बाम–लोकतान्त्रिक गठबन्धन अन्ततः पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भत्काउन पुगेका छन् ।
आलोचकले ‘सत्ता प्राप्तिका लागि प्रचण्ड जे पनि गर्न तयार हुन्छन्’ भन्दै आलोचना गर्दै आएका थिए । अन्ततः पछिल्लो राजनीतिक घटनाक्रमले प्रचण्ड व्यवहारबाट पनि प्रमाणित भएको छ । प्रचण्डमा देखिँदै आएको राजनीतिक उतारचढाव र अस्थिरताका श्रृङ्खला पनि उत्तिकै चाखलाग्दा छन् ।
०७५ जेष्ठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकता पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । ०७४ मंसिर १० गतेको आम चुनाव जित्ने मनसायले दुई ठूला कम्युनिष्ट पार्टीले गरेको चुनावी तालमेल पार्टी एकताको तहसम्म पुगेको थियो ।
पार्टी एकता पश्चात मुलुकमा झण्डै दुई तिहाईको कम्युनिष्ट सरकार बन्यो । २००६ सालमा निमार्ण भएको कम्युनिष्ट पार्टीको यो जित ऐतिहासिक थियो । लाखौं मतदाता र हजारौं पार्टी कार्यकर्ता यसको खुसीमा थिए ।
ओलीविरूद्ध लगाइएका तमाम आरापहरूको जवाफ नखोजि प्रचण्ड ओलीको समर्थनमा प्रधानमन्त्री बने । प्रचण्डले प्रधानमन्त्रीकै लागि हतार नगरे हुन्थ्यो । राजनीतिका चतुर खेलाडी प्रचण्डले ‘पद प्राप्तिका लागि जे गर्छन्’ भन्ने प्रमाणित भयो ।
कम्युनिष्ट पार्टीले दशकौंदेखि उठाउँदै आएका वर्गीय असमानता, विभेद, अन्याय, अत्याचार लगायतका मुद्धा मुलतः अन्त्य हुने बाम–गठबन्धनलाई मत दिने आम मतदाता र इमान्दार कार्यकर्ताको चाहना थियो । तर, नेताहरूको स्वार्थ केवल सत्ता प्राप्तिको लागि मात्र रहेछ भन्ने पुष्टि (नेकपा) भित्र देखिएको अन्तर कलहले प्रष्ट पार्छ ।
दुनियाँमा नभएको एक पार्टीका दुई अध्यक्ष, साठी–चालिसको भागभण्डा नै पार्टी एकताका सबैभन्दा खराब पक्ष हुन् । एकता वस्तुनिष्ठ, वैचारिक थिएन भन्ने विषय एकता गर्दा गरिएको संगठनात्मक पद्धतिले पनि प्रष्ट पार्छ ।
डर, त्रास र भयबीच साठी–चालिसको हिसाब एकता टिकाउनका लागि अभिसाप जस्तै भयो । त्यसैले त पार्टीको अन्तरिम विधानमा दुई अध्यक्षको हस्ताक्षर हुनैपर्ने जस्ता नितान्त व्यक्तिवाद, आत्मकेन्द्रीत, बुर्जुवा शैली घुसेको हो ।
साठी प्रतिशतको हिस्सा पाउनेको दम्भ, घमण्ड, अहंमता र चालिसको हिस्सा पाउनेलाई डर, चिन्ता, त्रास नेकपा विघटनका प्रमुख कारण थिए । निस्वार्थ रूपमा गरिएको एकता हुन्थ्यो भने, यस्ता सहायक विषय प्रधान विषय बन्दैन्थे । त्यसो हुँदा पार्टी विभाजन हुँनै सक्दैन्थ्यो ।
(नेकपा) विघटनको डिलसम्म पुग्दा कमरेड प्रचण्डद्धारा केपी शर्मा ओलीका विरूद्ध लेखिएको १९ पृष्ठको आरोप–पत्र भुल्न हुँदैन् । के कति, कुन कारणले, कसको सहयोगमा १९ पृष्ठको आरोप–पत्र लेखियो त्यो विषयभन्दा पनि अध्यक्ष प्रचण्डले लेख्न हुने थियो कि थिएन भन्ने कुरा प्रमुख हो । अन्ततः दुवै अध्यक्ष (केपी र प्रचण्ड) को पत्र हमलाले दुई लाइन संघर्ष उत्कर्षमा पुग्यो ।
पार्टीभित्र केपी ओली अल्पमतमा परे । त्यसैको रिसमा केपी ओलीले हुँदा–खादाको दुईतिहाइ बहुमतको आफ्नै सरकार विघटन गरे । त्यो संसद विघटन असंबैधानिक र अलोकतान्त्रिक थियो ।
पार्टी जीवनका अनेकन पाटामा केपी र प्रचण्ड समूहका गल्ती १९–२० थिए नै । एकले अर्कालाई गलाउने, थकाउने, सकाउने रणनीति प्रदर्शन गरिएका कुरूप चित्रका प्रमाण नेपाली जनतासामु घाम झै छर्लङ्ग छन् ।
कोभिड–१९ को महामारीमा जनता आक्रान्त भएको बेला तत्कालीन (नेकपा)भित्र देखिएको अन्तरकलह सम्झन लायक थिएन् । देश हाक्ने पाइलटबाटै नहुनुपर्ने भए पछि जनताले दुःख पाउनु स्वभाविक थियो ।
पार्टी भित्रको अन्तर संघर्षलाई संसदमा लगेर रिस साध्ने काम केपी ओलीबाट नहुनुपर्ने हो । दुबै अध्यक्षको अन्तिम हस्ताक्षर बिना केही नहुने विधानको प्रावधान केपी ओलीले सम्झनै पथ्र्यो । पार्टीको रिस सिंगो प्रणालीमा लगेर पोख्नुलाई कसैले राम्रो मान्ने विषय थिएन । त्यहीँ कमजोरीलाई टेकेर केपी ओली विरूद्ध प्रतिगमनको आरोप लागेको हो । सबैभन्दा बढी प्रतिमगनको आवाज उठाउने प्रचण्ड र माधवकुमार नेपाल समूहका नेता थिए ।
प्रचण्ड–माधव समूहले यो भन्नु स्वभाविक थियो । किनकी अन्तरकलह प्रणाली सकाउने तहसम्म आएको थियो । तर स्वतन्त्र नागरिकले पनि सिंगो प्रणालीमाथि प्रहार गर्नुलाई राम्रो मान्ने विषय नै थिएन । केपी ओलीबाट भएको संसद विघटनको चौतर्फी विरोध भएकै हो । संबैधानिक सर्वोच्चता भएको मुलुकमा संसद विघटन गर्नू गलत हो भन्ने सर्वोच्च अदालतबाट पनि फैसला आयो । यसले पनि प्रचण्ड र माधव समूह थप बलिया देखिएका हुन् ।
संसद पुनःस्थापना पश्चात पनि (नेकपा) भित्रको अन्तरकलह साम्य भएन् । सर्वोच्च अदालतमा विचाराधिन (नेकपा) नामको विवाद २०७७ फाल्गुण २३ मा फैसला भयो । उक्त फैसलाले नेकपा (एमाले) र (माओवादी केन्द्र)को एकता पूर्ववत रूपमा फर्कनु पर्ने अवस्था आयो । जुन फैसला सर्वोच्च अदालतले गलत मनसायले गरेको थियो । कतिपय कानुनविद्हरूले यसको विरोध गरिरहेकै छन् ।
(नेकपा) विभाजनपछि ब्यूँतिएका एमाले र माओवादी फरकफरक दलमा उभिए । तत्कालीन प्रचण्ड समूहमा देखिएको एमालेको माधव समूह सबैभन्दा अफ्ठ्यारो स्थितिमा रह्यो । केपी ओलीले ०७७ फाल्गुण २८ मा जुन निर्णय गरे । त्यसले झनै ठूलो दरारता एमाले भित्र ल्यायो ।
एमालेको नवौं महाधिवेशनले निर्वाचित गरेको पदाधिकारीलाई गुट भेलामार्फत बर्खास्त गर्ने काम गर्नु हुन्थेन् । एमाले भित्रको अन्तरकलह, सैद्धान्तिक मतभेद, पार्टी विभाजनको तहसम्म पुग्ने परिस्थितिको ब्याख्या पछि गरौंला ।
(नेकपा) विभाजन पश्चात बनेका एमाले र माओवादीबीच थुप्रै आरोप प्रत्यारोप भएकै हुन् । माओवादीका अध्यक्ष प्रचण्डले केपी ओलीलाई पटक–पटक प्रतिगमनकारी भएको आरोप लगाए । संसद विघटन गर्नु प्रतिगमन हो भन्ने नेता प्रचण्ड हुन् ।
यति मात्र होइन् ओली गणतन्त्रवादी नेता नभएकोसम्म प्रचण्डले खुलेरै आरोप लगाए । गणतन्त्र ओलीलाई मन नपरेको, राजावादी शक्तिलाई प्रोत्साहन गरेको, विदेशी सामु लम्पसार परेको जस्ता आरोप प्रचण्डले दिनहुँ लगाउँने गर्थे । संघीयताप्रति पनि ओली प्रचण्डको नजरमा ‘नेगेटिभ’ नेता हुन् ।
अहिलेको सिंगो परिवर्तन उल्ट्याउन खोज्ने पात्रका रूपमा प्रचण्डको नजरमा ओली ठहरिए । एमाले मुलतः दक्षिणपन्थी, अवसरवादी शक्ति भएको प्रचण्डको निष्कर्ष थियो । ओली बेइमान, धोकाधडीका नायक प्रचण्डको नजरमा उत्तिकै हुन् । (नेकपा)को सरकारमा अढाई–अढाई बर्ष नेतृत्व गर्ने भद्र सहमति उल्लङ्घन गर्ने बेइमान नेता ओली नै थिए प्रचण्डको नजरमा ।
झण्डै दुई बर्षदेखि फरकफरक पार्टी हुँदासम्म पनि दुई नेता बीचको आरोप प्रत्यारोप निरन्तर रूपमा चल्यो । प्रचण्डले ओलीको सत्ता ढाल्नका लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग्नेसम्मको अगुवाई गरे । एमाले विभाजनमा प्रचण्डको सक्रियता गज्जवकै हो । ओलीलाई पराजित गर्नका लागि बनेको ५ दलीय गठबन्धन र यसका महिनौं बसेका बैठक ओलीविरूद्ध नै थिए ।
०७९ बैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा ५ दलीय गठबन्धन आलीविरूद्ध लाग्यो । ओलीविहिन मुलुक बनाउने भाषण गर्दै प्रचण्ड देशभर कुदेँ । ७ सय ५३ स्थानीय पालिका मध्ये १ सय २१ बढी स्थान जितेर माओवादी तेस्रो शक्तिका रूपमा उदायो । नेकपाबाट माओवादी बन्दै गर्दा प्रचण्ड कमजोर बनेका थिए ।
शक्तिशाली नेताहरू रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट लगायत एमालेमै बसेका थिए । खिइदो माओवादीको साखका बीच ५ दलीय गठबन्धन पश्चात स्थानीय तहमा माओवादी दमदार बार्गेनिङको यात्रामा आयो । स्थानीय तहको नतिजाप्रति माओवादी भित्रि रूपमा खुसी भएपनि, बाहिरी रूपमा असन्तोष आवाज भने प्रचण्डले निरन्तर प्रकट गर्दै आएका थिए । तरपनि माओवादीको विजयी अनुमानभन्दा फरक नै थियो ।
स्थानीय तहको चुनाव सकिए लगत्तै आम चुनावको माहोल तात्यो । महिनौंका वार्ता पश्चात गत असोज २२ गते साँझमात्र सिट संख्या टुङ्गियो । असोज २३ गते मनोनयनको अघिल्लो रात भएको सहमति बमोजिम प्रतिनिधिसभा र प्रदेश सभामा माओवादीले गठबन्धनबाट राम्रै सिट पायो । सिट संख्यामा हौसिएका प्रचण्ड चुनावभर ओलीविरूद्ध विषवमन नै गरे । उनले गरेका तमाम अन्तर्वार्ता, अनेकौ चुनावी भाषण सामाजिक सन्जालमा छरपष्ट छन् ।
प्रचण्ड भन्ने गर्थे ओलीसँग कुनै पनि राजनीति सहकार्य सम्भव छैन् । ओली सच्चिएका छैनन्, प्रधानमन्त्री दिए पनि सम्झौता गर्दिन । चुनावताका कांग्रेससहितको गठबन्धन १५ बर्ष बढी टिक्ने भविष्यवाणी गर्ने नेता पनि यिनै प्रचण्ड थिए ।
ओली पूर्णतयाः राजनीतिक रूपमा असफल भइसकेको उद्घोष बारम्बार प्रचण्डले गरे । ओली–प्रचण्ड वाकयुद्ध नेपाली राजनीतिमा निरन्तर चलिरह्यो । दुई वर्ष बढी, दुई नेताबीचको कटुता भएको कारण पछिल्लो आरोप प्रत्यारोप कसैलाई नौलो नै लाग्दैन्थ्यो । कतिपयले भने आरोप प्रत्यारोप सुनेरै आनन्द लिन्थे ।
यी तमाम गालीगलौज र ओली सकाउने भनेर लागेका प्रचण्ड मुलतः ओलीकै शरणमा पुगेका छन् । आफ्ना विगत चटक्क भुलेर प्रधानमन्त्री पदमा प्रचण्ड टुंगिएइका छन् । राजनीतिका चतुर खेलाडी भनेर चिनिएका प्रचण्डले पद प्राप्तिका लागि जे पनि गर्दा रहेछन् भन्ने आफूलाई प्रमाणित गरेका छन् ।
प्रचण्डको रिस, कांग्रेसले घमण्ड गर्यो भन्नेमा छ । यो उनको उम्किने बाटो लाग्छ । कांग्रेसले धोका दिए प्रतिपक्षमा बस्दा प्रचण्डको ठूलो जित देखिन्थ्यो । किनकी केपी ओलीले आफूले गरेको सम्झौता उल्लङ्घन गर्दा उनी गलत ठहरिएका थिए ।
निवर्तमान गठबन्धनले दुई–दुई बर्ष प्रधानमन्त्री हुने सम्झौता गर्दै थियो । सम्झौता कार्यान्वयन पक्कै हुन्थ्यो नै । को पहिला प्रधानमन्त्री बन्ने भन्ने नाउँमा ओलीसामुु प्रचण्ड लम्पसार परेका छन् । केपी ओलीले आफू सुध्रिएको बताएकै छैनन् । तर प्रचण्ड आफूले गरेको प्रश्नको उत्तर नखोजी ओलीको शरणमा पुगेका छन् ।
प्रचण्डले ओलीलाई बारम्बार आरोपका प्रश्न गरे । त्यसको उत्तर नखोजी किन उतै टाँसिए ? आम जनताको प्रश्न छ । सत्ता प्राप्तिका लागि अवसरवादी यात्रा चुम्नु नै थियो भने यो बीचको राजनीतिक अस्थिरताको बिउँ किन रोपेको ? प्रश्न सोधे पनि उत्तर दिन प्रचण्डले पक्कै चाहदैनन् । किनकी प्रचण्डको भाषामा ‘राजनीति सम्भावनाको खेल हो’ ।
गठबन्धन भत्कनुमा कांग्रेसका पनि गल्ती छन् । ती कांग्रेसका गल्तीभन्दा ठूलो गल्ती प्रचण्डले सत्ता प्राप्तिका लागि एमालेसँग गरेको गठजोड भएको छ । प्रचण्ड–केपीसँग केवल सत्ता नपाएकै कारण रिसाएका रहेछन् भन्ने पुष्टाई अहिले आएर भएको छ ।
माधव कुमार नेपालको अडान आजसम्मको ठीक छ । एमाले सम्मिलित सरकारमा गएर नेकपा एसले ठूलो गल्ती नगरोस् कामना छ । नत्र ओलीले गरेको भनिएको प्रतिगमनको आरोप केवल मित्थ्या हो बाहेक अरू बुझ्दा फरक पर्दैन् । ओलीले गल्ती स्विकार नगर्दासम्म उनीसँग सहकार्य गर्नु हुँदैन् ।