एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री बन्लान् भन्ने कुरा सायद कसैले सोचेका सम्म थिएनन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी गठबन्धन भएपछि झण्डै दुईतिहाइ मतसहित एमाले अध्यक्ष ओली प्रचण्डको प्रस्तावमा दोस्रोपटक प्रधानमन्त्री बनेका थिए ।
त्यतिबेला ओली र प्रचण्डबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री बाँडफाँट गर्ने लिखित सहमति भएको थियो । त्यो सहमतिमा एमाले अध्यक्ष ओली इमान्दार नहुँदा ओली र प्रचण्डबीच विवाद सुरु भयो ।
राष्ट्रियसभा गृहबाट दुई जना पाइलटले उडाएको जेट विमान गन्तव्यमा पुग्न नपाउँदै २०७७ जेठ ५ गते दुर्घटनाग्रस्त बन्यो । नेपालको कम्युनिष्ट इतिहासमा पुस ५ गते ‘कालो दिन’को रुपमा अंकित हुनेछ । प्रचण्डलाई नेकपाको अध्यक्ष र प्रधानमन्त्री बन्न नदिने देशी, विदेशी षड्यन्त्रस्वरुप पुस ५ गतेको घटना गराइएको थियो ।
राजावादी पार्टीको समर्थनमा प्रचण्डजस्ता क्रान्तिकारी साढे दुई वर्षका लागि मात्र प्रधानमन्त्री बन्नु भनेको जोकर फाल्तु हुनु नै हो । आखिर, ओलीको भित्री मनले चाहेको कुरा पनि यही नै हो ।
अहिले फेरि समयले ओली र प्रचण्डलाई एक ठाउँ उभ्याएको छ । आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने शर्तसहित प्रचण्ड, ओलीको प्रस्तावमा प्रधानमन्त्री बनेका छन् । प्रचण्डको कार्यकाल कति सफल हुन्छ भन्ने कुरा ओलीको हातमा छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एमालेलाई प्रतिपक्षमा बस्ने जनादेश प्राप्त भएको थियो । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सबै पद गुमाउनु परेको छ ।
त्यतिबेला ओलीको हठले एमाले प्रतिपक्षमा पुग्यो भने अहिले देउवाको हठले कांग्रेस प्रतिपक्षमा पुगेको छ । राजनीतिमा संयमता, धैर्यता र दीर्घकालीन सोच हुनुपर्छ ।
सम्पूर्ण शक्ति आफैँले सञ्चय गर्न खोज्दा दुईतिहाइको सरकार बालुवाटारबाट बालकोट पुगेको कसैले बिर्सेको छैन । त्यस्तै, अहिले पाँचदलीय गठबन्धनबाट सबैभन्दा बढी फाइदा उठाएको कांग्रेसले गठबन्धनको शक्ति सन्तुलन मिलाउन नसक्दा जे उद्देश्यका लागि पाँचदलीय गठबन्धन भएको थियो, त्यसविपरीत परिणाम आएको छ ।
यस परिणामले प्रतिगामी शक्तिलाई थप बलियो बनाएको छ । प्रचण्ड निरीह र कमजोर बनेका छन् । किनभने, २०७४ सालमा प्रचण्डलाई प्रयोग गरेर ओलीले दुईतिहाइ मत ल्याए भने अहिले फेरि ओलीले तिनै प्रचण्डलाई प्रयोग गरेर राष्ट्रपतिदेखि प्रदेश सरकारको जिम्मेवारी आफूले लिएका छन् ।
नेपाली राजनीतिमा ओली चतुर खेलाडी हुन् । प्रचण्ड ‘जता मल्कु उतै ढल्कु’ प्रवृत्तिका नेता हुन् । उनको यस्तै अस्थिर स्वभावले माओवादी पार्टी कमजोर, उनी एक्लै बलियो बनेका हुन् ।
२०७४ सालमा एमालेसँग गठबन्धन नगरेको भए माओवादीको अवस्था अहिलेभन्दा कमजोर हुने थियो, अहिले पाँचदलीय गठबन्धनमा नभएको भए तेस्रो पार्टी बन्ने हैसियत पनि प्रचण्डको हुने थिएन ।
भन्न त प्रचण्डले जसको नीति उसको नेतृत्व भन्ने गरेका छन् । तर, नेतृत्व कमजोर हुँदा नीति अलपत्र परेको उनलाई होस छैन । कम्तीमा आफू प्रधानमन्त्री हुने पक्का भइसकेपछि उनले वामपन्थी नेतृत्वको गठबन्धन सरकार गठन गरेको भए नीति कार्यान्वयन गर्न सजिलो हुन्थ्यो ।
दुर्भाग्य, राजावादी पार्टीको समर्थनमा प्रचण्डजस्ता क्रान्तिकारी साढे दुई वर्षका लागि मात्र प्रधानमन्त्री बन्नु भनेको जोकर फाल्तु हुनु नै हो । आखिर, ओलीको भित्री मनले चाहेको कुरा पनि यही नै हो ।