काठमाडौं । गीतकार टेक तामाङको ‘तिमी सागर’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । कन्काइष्ट राईको संगीत, रामकृष्ण ढकाल र मेलिना राईको स्वर, साहस शाक्यको सङ्गीत संयोजन रहेको गीतलाई टेक तामाङ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा जलचक्रको माध्यमबाट हिमाल र सागरको अनवरत मिलन भए जस्तै प्रेम एक अनुभूति हो । जसलाई भौगोलिक दूरीले त्यति फरक पार्दैन भन्ने भाव भूमिमा सृजना भएको छ । प्रेमीले भन्छ- तिमी सागर, तिमी गहिरिंदैजाऊ, तिमी फैलिदैजाऊ अनि प्रेमिकाले भन्छ- तिमी हिमाल, तिमी अग्लिदैजाऊ, तिमी चम्किँदैजाऊ ।
समर्पित भाव बोकेको गीतमा हिमालको रूपमा प्रेमी र सागरको रूपमा प्रेमिकालाई चित्रण गरिएको छ । नदी र बादलको माध्यमबाट हिमाल र सागरको मिलन भए जस्तै दुई प्रेमी बीचको हिमाल र सागरको बिम्बात्मक मिलनलाई यौनिक प्रतिकात्मक मिलनको रूपमा समेत लिन सकिन्छ ।
गीतले भनेको छ– हिमाल सागरको मिलनझैँ हाम्रो प्रेमको यात्रा, जुगौँ जुग बाँचोस् हाम्रो मिलनको अनन्त अनन्त चक्र ।
गीतकार तामाङको यसअघि ‘नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरी र पछिल्लो कोशेली ‘तिमी सागर’सहित आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत रेकर्डिङ र प्रकाशन भइसकेका छन् ।
नेपाल प्रहरी सेवाको डिआइजी पदमा कार्यरत तामाङले एक हातमा कर्तव्यबोध बन्दुक भएपनि अर्को हातमा कलम बोकेर निरन्तर सिर्जना गरिरहेका छन् ।
एभरेस्ट ग्यालरीको ब्यानरमा बनेको म्युजिक भिडियोमा सनम कठायत र रिचा थापाले अभिनय गरेका छन् । दीपक गिरिले छायाङ्कन, विकास दाहालले भिडियो सम्पादन र जनक सिंहले निर्देशन गरेका हुन् ।