Logo
Logo

माधव नेपाललाई फकाउँदै प्रचण्ड र ओली


53.4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उप्रेन्द्र यादवलाई भेटेका थिए । त्यसलगत्तै एमाले अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारतर्फ लागेका हुन् ।

पाँच दलीय गठबन्धन टुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार गएका हुन् । प्रचण्ड र ओलीको खुमलटार बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई बोलाइएको बताइएको छ । आफूलाई खबर नै नगरि एमालेसँग गठबन्धन बनाएको भन्दै अध्यक्ष नेपालले असुन्तष्टि पोखिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र ओली उनलाई फकाउनेतिर लागेका हुन् ।

यसअघिको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालसँग सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए । एमाले अध्यक्ष ओलीकै सल्लाहमा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न प्रचण्डले नेपालसँग आग्रह गरेको एमालेका एक नेताले बताएका छन् । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनअघि एकीकृत समाजवादीलाई सरकारमा सामेल गराउने पहल भइरहेको छ ।

साथै, एकीकृत समाजवादीलाई सरकारमा ल्याउने पहलका लागि मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष नेपालसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले यही २५ पुस विश्वासको मत लिने भएका छन् । त्यसअघि नै एकीकृत समाजवादीलाई सरकारमा ल्याउन एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेको ती नेताले बताए ।

सरकारलाई समर्थन गर्न प्रधानमन्त्रीको माधव नेपाललाई आग्रह

प्रतिक्रिया दिनुहोस्