Logo
Logo

अमेरिकन टिकटक ग्रुपद्धारा बालबालिकालाई ‘न्यानो कपडा’ वितरण


630
Shares

काठमाडौँ । अमेरिकन टिकटक ग्रुपले नेपाली बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । गोकर्णस्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका ५७ बालबालिका र बसुन्धरास्थित फिलासोफिस्का नेपालका ५४ बालबालिकालाई ट्याक सुट वितरण गरेको हो ।

समाजसेवी सोनाम गेल्बु शेर्पाको अगुवाईमा अमेरिकन टिकटक ग्रुपमा आवद्ध गोविन हुमागाई, टेक गुरुङ, सर्मन आले, मणि बाङदेल राई र राजन श्रेष्ठले सहयोग गरेका हुन् ।

हुमागाईले २००, गुरुङले २००, आलेले १४०, राईले १०१ र श्रेष्ठले ५१ डलर सहयोग गरेको शेर्पाले जानकारी दिए । नेपाल आएको अवसर पारेर प्राप्त सहयोग रकममा थप गरेर बालबालिकाका लागि ट्याक सुट, बिस्कुट र चकलेट वितरण गरिएको शेर्पाले बताए ।

शेर्पाले समस्यामा परेका समुदाय र व्यक्तिका लागि निरन्तर सहयोग गर्दै आएका छन् । ‘मान्छे भएपछि सकेको सहयोग गर्नुपर्छ । प्रचारको हिसाबले हामी काम गर्दैनौँ,’ शेर्पाले भने, ‘वास्तविक पीडितसम्म सहयोग पुग्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।’

आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने उनले बताए । शेर्पाको अगुवाईमा अमेरिकामा बस्ने नेपालीहरुले नेपालका कोराना प्रभावितहरूलाई सहयोग गरेका थिए । यसअघि मुसहर र चेपाङ बस्तीमा पनि राहत वितरण गरिएको थियो ।

चर्चित हास्य कलाकार सुरवीर पण्डित ‘दाह्री बा’, सुरज चापागाई ‘बान्द्रे’ र यादव देवकोटा ‘सरापे’ले कलि युगमा निस्वार्थ भावले सहयोगी हातहरू अगाडि बढेको भन्दै प्रशंशा गरे । आगामी दिनमा पनि यस्ता सहयोगलाई जारी राख्न दाह्री बा र बान्द्रेले आग्रह गरे ।

संयुक्त अपाङ्ग एकता आवाज केन्द्रले द्धन्द्ध प्रभावित, आमाबाबु नभएका, आमाबुबा जेलमा परेका र सडकमा अलपत्र परेका बालबालिकालाई संरक्षण दिँदै आएको छ । केन्द्रमा बसेर अध्ययन गरेका १० जनाले रोजगारी पाइसकेको केन्द्रका संस्थापक तिलबहादुर कार्कीले जानकारी दिए ।

सहयोगी हातहरूको साथ र सहयोगले संस्थाले आफ्नै भवन बनाएर अनाथ बालबालिकाको संरक्षण गर्ने उद्देश्य रहेको उनले बताए । ‘म आफैँ पनि अनाथ अवस्था पार गरेर आएको हुँ । कोही पनि सडकमा अलपत्र नपरोस भन्ने मेरो चाहना छ । त्यसैका लागि मैले दुःख गरेर यो काम गरिरहेको छु,’ उनले भने, ‘संस्थाको आफ्नै भवन भयो भने मेरो शेषपछि पनि निरन्तर काम अघि बढ्थ्यो ।’

फिलासोफिस्का नेपालले बालबालिकालाई निःशुल्क शिक्षा दिँदै आएको छ । यहाँ हाल ५४ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्