काठमाडौं । स्थिरता, सुशासन र समृद्धिको नारा लिएर निर्वाचनमा गएको पाँचदलीय गठबन्धन भत्किएर सातदलीय नयाँ गठबन्धन बनेको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको ४४औं प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्रीको रुपमा प्रचण्डको यो तेस्रो कार्यकाल हो । उनी यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री भएका थिए । प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति भएको छ । यसअघि पनि यस्तै सहमति भएकोमा ओलीले नछाड्दा वाम सरकार मात्रै होइन, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै विभाजित भएको थियो । प्रतिनिधिसभा विघटन, तत्कालीन नेकपा भंग र एमाले विभाजनका घटनाक्रमले पानी बाराबारको स्थितिमा रहेका ओली र प्रचण्ड सत्ताका लागि फेरि मिलेका छन् । ओली र प्रचण्ड मिल्ने अवस्था कसरी आयो ? पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्नुका कारण लगायतका विषयमा राष्ट्रिय जनमोर्चामा अध्यक्ष चित्रबहादुर केसीसँग गरिएको कुराकानी प्रस्तुत छः
स्थिरता, विकास र समृद्धिको नारा लिएर पाँचदलीय गठबन्धन निर्वाचनमा होमियो । तर, निर्वाचनपछि पुरानो गठबन्धन भत्केर नयाँ गठबन्धन बन्यो । यसलाई कसरी हेर्नुभएको छ ?
निर्वाचनमा गठबन्धन गरेर गएका कारण निर्वाचनपछि पनि वाम–लोकतान्त्रिक गठबन्धन नै कायम रहनुपथ्र्यो भन्ने हाम्रो मान्यता हो । हामी निर्वाचनअघि कै गठबन्धन कायम रहोस् भन्नेमा थियौँ । तर, ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को असमझदारी र दम्भले गर्दा विद्यमान गठबन्धन टुट्यो र नयाँ गठबन्धन बन्न पुग्यो । स्वार्थ र सत्ता केन्द्रित राजनीतिले नेपालमा काम गर्दै आएको छ । अहिले पनि त्यही भयो । हाम्रो जोड गठबन्धनबाटै सरकार बन्नुपर्छ भन्ने थियो । तर, कांग्रेस र माओवादीका कारण गठबन्धन कायम रहन सकेन ।
गठबन्धनको बैठकमा पनि सहभागी हुनुहुन्थ्यो, खास समस्या के थियो ?
आलोपालो प्रधानमन्त्रीमा मुख्य दलहरूबीच सहमति थियो । तर, को पहिला प्रधानमन्त्री बन्ने भन्ने विषयमा हलो अड्कियो । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी गर्न दिएको समय घर्किँदै गर्दा पनि कुरा मिल्न सकेन । एमालेले दाउ हेरेर बसेको थियो । प्रचण्ड पुरानो गठबन्धन छाडेर नयाँ गठबन्धनमार्फत प्रधानमन्त्री बन्नुभयो । कांग्रेसले पनि राष्ट्रपति र प्रधानमन्त्री दुबै पद आफैँसँग राख्न खोज्यो । मुख्यतः पदकै कारण नयाँ गठबन्धन टुट्यो र नयाँ गठबन्धन बन्यो ।
पुरानो गठबन्धन टुटेर नयाँ गठबन्धन बनेको प्रधानमन्त्री पदका लागि मात्र हो त ?
प्रचण्डले प्रधानमन्त्री हुन पाँचदलीय गठबन्धन तोडेर सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट जनतालाई धोका भयो । एउटा गठबन्धनबाट निर्वाचन जित्ने अनि अर्को गठबन्धन गरेर सरकार बनाउने काम विल्कुल सही होइन । एमाले अध्यक्ष केपी शर्मा ओलीले त अवसर कुरेर बसेका थिए । पद पाउने भएपछि ओली मिल्ने नै भए । गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउन एमालेसित साँठगाँठ गरेको हो । स्वार्थबाहेक अरु त कुनै कारण देखिदैन ।
नेपाली राजनीतिमा जहिले पनि व्यक्तिगत स्वार्थ सत्ताकै खेल भइरह्यो होइन ?
नेपालका राजनीतिक दलहरु सत्ता प्रधान, शक्ति प्रदान, स्वार्थ प्रधान भए । राष्ट्र र जनताको स्वार्थ गौण देखियो । २००७ सालदेखि यताको समग्र राजनीतिक इतिहास हेर्नुभयो भने त्यस्तै देखिन्छ । अहिले पनि हामीले त्यही भोगिराखेका छौँ । नेपाली राजनीतिमा यो नयाँ कुरा होइन । जोगी देखेर भैंसी डराउने, भैंसी देखेर जोगी डराउने भनेजस्तो प्रचण्ड र देउवा एकअर्कासँग डराइरहेको स्थिति बन्यो । दुई वर्षपछि अविश्वास प्रस्ताव आउने, सरकार ढल्ने र मध्यावधिमा जाने डरले पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने लुछाचुँडी देखियो । मेरै गोरुको बाह्रै टक्का, मै पहिले हुनुपर्छ भन्दा टुंगो लाग्दैन । देशको तस्बिरमा सहमतिको मिलनबिन्दु खोज्नुपर्नेमा मेरो पद के हुन्छ भन्नेमा हेर्ने काम यस पटक पनि अन्त्य भएन ।
त्रिशंखु संसदका कारण धेरैले खेल्ने ठाउँ पाए ?
पाँचदलीय गठबन्धनभित्रैको बदमासीका कारण संसद् त्रिशंकु भयो । निर्वाचनमा गठबन्धन गरेर गए पनि बहुमत आएन । त्यही कारण भोलि के हुने हो भन्ने हिसावले पनि प्रधानमन्त्रीका निम्ति हानथाप भएको देखियो । पाँच दलीय गठबन्धन इमानदारीपूर्वक चुनावमा गएको भए स्पष्ट बहुमत आउन सक्थ्यो । गठबन्धनलाई सरकार बनाउन केही सिट पुगेको थिएन । त्यो सिट सजिलै मिलाउन सकिने स्थिति थियो । गठबन्धनको सफलताको दुरुपयोग गर्नु हुँदैन थियो । दुनियाँ हँसाउने काम गर्नु हुँदैन थियो । होचो अग्लो मिलाएर मुलुक सम्हालेर जानुपर्ने अवस्था थियो । मलाई नै चाहिन्छ भनेर जिद्दी गर्नुहुँदैन थियो । म बाहेक अरु के हो र भन्ने मानसिकताले नेपालमा समस्या देखिने गरेको छ । अहिले पनि भएको त्यही हो ।
झन् वामपन्थीहरूको सरकार बन्यो, तपाईं वामपन्थी नेता खुसी हुनुपर्ने होइन र ?
हामीले पृष्ठभूमि पनि हेर्नुपर्ने हुन्छ । नेपाली जनताको ००७ सालदेखिको चाहना अनुसार संविधान सभाबाट बनेको संविधानको रक्षाका लागि पाँचदलीय गठबन्धन बनेका थियो । गणतन्त्र ल्याउने त यही गठबन्धनका नेता–कार्यकर्ता हुन नि । ०७२ को संविधान बनाउने पनि यिनै हुन् नि । पञ्चायती व्यवस्थाको अन्य गर्ने पनि यिनै हुन नि । तर, एमाले त आफैँले बनाएको संविधान मान्दिनँ, त्यो संविधान अनुसार बनेको संसद असंवैधानिक रुपमा विघटन गरिदियो । त्यत्रो ठूलो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै भत्काइदियो । हामी तन, मन, धन दिएर नै वाम गठबन्धनमा सामेल भएका थियौँ । तर, एमालेले जग हसायो । ०७४ वाम गठबन्धनको नेतृत्वको नालायकीपनले अर्को गठबन्धन बनाउनु परेको हो । त्यसकारण शब्दमा भन्दा पनि हामीले सारमा हेर्नुपर्छ ।
पाँचदलीय गठबन्धनले चाहिँ के ग¥यो त भन्ने प्रश्न पनि छ नि ?
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक असंवैधानिक रुपमा भत्काएको संसदलाई पुनःस्थापना गराउने र पाँच वर्षसम्म संसदलाई टिकाउने काम पाँचदलीय गठबन्धनले नै गरेको हो । एमालेको नेतृत्व अगाडि बढिरहेको भए यो भन्दा दुर्दशा हुन्थ्यो मुलुकको । हामीले संविधान बचायौँ, देशलाई राजनीतिक स्थिरता दियौँ ।
संविधान बचायौँ भनेर मात्रै पुग्छ त ?
संविधान सभाबाट संविधान निर्माण गर्ने जनताको लामो समयदेखिको चाहना बल्ल पूरा भएको थियो । त्यही संविधान निर्माताबाट नै संविधान नमान्ने कुरा भयो । यदि, असंवैधानिक रुपमा विघटन भएको संसद पुनःस्थापना नभएको भए, देश कतातिर जान्थ्यो कल्पनासमेत गर्न सकिदैन । मान्छेहरु गणतन्त्रको अवश्यकता नै छैन भन्न थालिसके । ०७२ सालको संविधानको आवश्यकता नै छैन भन्न थालिसके । नेपालमा राजतन्त्र फर्काउनुपर्छ, हिन्दु राष्ट्र फर्काउनुपर्छ भन्ने प्रतिगामी आवाज आइरहेका छन् । जनता पनि जान– अन्जानमा त्यतैतिर होहल्ला गरिरहेका छन् । ०७२ सालको संविधान कसैले बक्सिस दिएर आएको होइन । नेपाली जनताले लडेरै ल्याएको हो । त्यसको रक्षा गर्नुपर्छ । जनताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्नुपर्छ । हामीले प्राप्त उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नुपर्छ । यसको अर्को विकल्प छैन । त्यसपछि अरु कुरा अगाडि बढ्नुपर्छ ।
मुलुकमा त अनेक समस्या छन् । ती समस्याको समाधान चाहिँ कहिले गर्ने ?
मुलुकको समस्या विकराल नै छ । ती समस्या समाधान गर्नुपर्छ । महंगी नियन्त्रण,सुशासन कायम, विकास निर्माणका काम द्रुत गतिमा हुनुपर्छ । शिक्षा, स्वास्थ्यसहित सार्वजनिक सेवामा सुधार आवश्यक छ । रोजगारीको सिर्जना गर्नुपर्ने छ । तर, राजनीतिक दलका नेताहरू व्यक्तिगत र पार्टीगत स्वार्थमा केन्द्रित हुँदा देश र जनताको पक्षमा काम हुन सकेको छैन । यथास्थितिमा जनताले मान्ने अवस्था थिएन । त्यसकारण गठबन्धन नयाँ शिराबाट अगाडि बढ्नुपथ्र्यो, गठबन्धन टुट्नु हुँदैन थियो ।
यसमा अन्तर्राष्ट्रिय शक्तिको पनि चलखेल छ कि ?
अस्थिरता, अराजकता बनाइरहने खेल नेपालमा हुँदै आएको छ । बाह्य शक्तिको चलखेल नेपाली राजनीतिमा नौलो होइन । विभिन्न शक्तिले खेलिरहने भइरहेको छ । त्यत्रो दुई तिहाई मत ल्याएको ओली नेतृत्वको सरकारले प्रतिगामी कदम चाल्दा हामी विरोधमा उत्रिनुप¥यो । आफैँले खडा गरेको वाम गठबन्धनले जनताको पक्षमा काम नगरेपछि हामीले निरन्तर खबरदारी गरेकै हौँ । बालुवाटारमा बसेर के–के काम भए भन्ने पनि त तपाईँ हामीले बुझेकै छौँ नि ।
वाम–लोकतान्त्रिक गठबन्धन निर्वाचनमा जाँदा जनताले सामान्य बहुमतसमेत नदिएको यथार्थ हो नि ?
जुन अपेक्षाअनुसार हामी निर्वाचनमा गएका थियौँ । त्यसअनुसार परिणाम नआएको स्वाभाविक हो । तर, वाम–लोकतान्त्रिक गठबन्धनलाई जनताले करिब बहुमत दिएका थिए । गठबन्धनभित्रैबाट घात भएका कारण जित्नुपर्ने कतिपय क्षेत्र गुमाउनुपर्ने अवस्था भयो । गठबन्धनले घात गरेकै कारण हामीले प्युठान गुमाउनुप¥यो । केही घात–अन्तर्घातका बाबजुत पनि अहिले गठबन्धनकै सरकार बन्नुपथ्र्यो । गणतन्त्रको सुदृढिकरणका लागि यसको विकल्प थिएन । हामी त पहिला पनि सरकारमा गएका थिएनौँ । अब पनि सरकारमा जाने सोच बनाएका छैनौँ ।
नयाँ जन्मिएका पार्टीहरू समेत सरकारमा जान खुट्टा उचालेर बसेका छन् । जनमोर्चा किन सरकारमा जान चाहेन ?
राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्वको सोचमै समस्या छ । राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनको काम जागिर खाने मात्रै भयो । उनीहरूले आफ्नो फाइदा र सुख मात्रै हेरे । देश र जनताको पक्षमा केही योगदान गर्नुपर्छ भन्ने भाव नै देखिएन । म पनि एकपटक सरकारमा गएँ । तर, त्यहाँको तौरतरिका नै मलाई मन परेन ।
प्रचण्डले जनताको पक्षमा काम गर्न सक्छन त ?
यस्तो गठबन्धन लिएर कसरी जनताको पक्षमा काम हुन्छ ? यो त पद प्राप्तिको लागि मात्रै हो । जनतासँग एक ढंगले भोट माग्ने अनि पद प्राप्तिका लागि अर्को ढंगले अगाडि बढ्नु राजनीतिक बेइमानी हो ।
अब के हुन्छ तपाईँहरूको भूमिका ?
हामी अघिल्लो पटक पनि सरकारमा गएका थिएनौँ । अहिले पनि सरकारमा जाने सोच बनाएका थिएनौँ । सरकारले गर्ने राम्रो कामको समर्थन र गलत कामको विरोध गछौँ । सत्ता नै सबै थोक हो भन्ने मान्यता हाम्रो छैन । जनसेवामा निरन्तर लागिपछौँ ।