Logo
Logo

आफन्त र सहयोगीबाटै बदनाम हुँदै गृहमन्त्री


- दृष्टि न्युज/संवाददाता

4.3k
Shares

काठमाडौं, ३१ भदौ । ‘जसले आफ्नै परिवार र सहयोगीमाथि नियन्त्रण राख्न सक्दैन, उसले गृह जस्तो संवेदनशील मन्त्रालय कसरी चलाउन सक्लान् ?’

गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई लक्षित गरी उनकै शुभेच्छुकहरुले आजभोलि यस्तो टिप्पणी गर्न थालेका छन् । आफन्त र सहयोगीका कारण मन्त्री थापा एकपछि अर्काे विवादमा पर्दै गएका छन् । विगतमा छोरा प्रतिक तथा सल्लाहकार सूर्य सुवेदी ‘पथिक’का कारण विवादमा परेका मन्त्री थापा यसपटक आफ्नै भाइ नरेशका कारण विवादमा परे । गुन्डागर्दीमा संलग्न एक समूहलाई सहयोग गर्न लागेको खुलेपछि उनका भाइ नरेश दुई साताअघि पक्राउ परे । आफ्नै भाइलाई समेत थुनेर उनले कानूनी शासनको सन्देश त दिएका छन् । तर, आफ्नै परिवार र सहयोगीलाई समेत नियन्त्रण गर्न नसकेपछि उनको क्षमतामाथि भने प्रश्न उठेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई लक्षित गरी उनकै शुभेच्छुकहरुले आजभोलि यस्तो टिप्पणी गर्न थालेका छन् । आफन्त र सहयोगीका कारण मन्त्री थापा एकपछि अर्काे विवादमा पर्दै गएका छन् । विगतमा छोरा प्रतिक तथा सल्लाहकार सूर्य सुवेदी ‘पथिक’का कारण विवादमा परेका मन्त्री थापा यसपटक आफ्नै भाइ नरेशका कारण विवादमा परे । गुन्डागर्दीमा संलग्न एक समूहलाई सहयोग गर्न लागेको खुलेपछि उनका भाइ नरेश दुई साताअघि पक्राउ परे । आफ्नै भाइलाई समेत थुनेर उनले कानूनी शासनको सन्देश त दिएका छन् । तर, आफ्नै परिवार र सहयोगीलाई समेत नियन्त्रण गर्न नसकेपछि उनको क्षमतामाथि भने प्रश्न उठेको छ ।

जेलबाटै व्यवसायीहरुलाई धम्काएर करोडौं फिरौती माग्दै आएका गुन्डा नाइके समिरमानसिंह बस्नेतको गिरोहमा गृहमन्त्री बादलका भाइ नरेशकुमार थापा र प्रहरी जवान वीरवल भट्टराईसमेत सहभागिता रहेको अनुसन्धानमा खुलेको हो । थापा र भट्टराईसहित सीआईबीले पवन खड्का, सुरेन नगरकोटी, शैलेस प्रजापति, विनोद लामा, समिरमानसिंह बस्नेत र मनबहादुर पुनविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाएको छ । उनीहरु मिलेर निर्माण व्यवसायीलाई धम्क्याएर करोडौं मागेको सीआईबीको दाबी छ । उनीहरुविरुद्ध आपराधिक लाभ तथा संगठित अपराध मुद्दा दायर गरिएको छ ।

पक्राउ परेकामध्ये पवन खड्का र सुरेन नगरकोटी गुन्डा नाइके बस्नेतका साथी हुन् । त्यस्तै खड्काका साथी रहेका शैलेस प्रजापति र विनोद लामाले धम्कीमा प्रयोग भएको मोबाइल लुकाउन सहयोग गरेका थिए । प्रजापति सिटी सेन्टरस्थित फुड स्टेसनका सञ्चालक र लामा व्यवस्थापक हुन् । मनबहादुर पुन भद्रगोलका कैदी हुन् । उनी मानवबेचबिखन मुद्दामा जेल परेका हुन् ।

निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचन हत्याका प्रमुख योजनाकार बस्नेत हाल सुन्धारास्थित जेलमा छन् । उनले दुबईमा रहेका जावेद अनवर दिनमार्फत निर्माण व्यवसायीलाई धम्काएर पैसा मागेको सीआईबीको अनुसन्धानमा खुलेको छ । जावेदविरुद्ध समेत फरार अभियुक्तका रुपमा मुद्दा दायर गरिएको छ । बाग्लुङ घर भएका उनी वैदेशिक रोजगारीको क्रममा दुबई गएका हुन् । बस्नेतले नै निर्माण व्यवसायीको नाम र नम्बर दिएर धम्काउन लगाउका थिए ।

गृहमन्त्रीका भाइ कसरी जोडिए ?

यो प्रकरणमा गृहमन्त्रीका भाइ नरेशको सम्बन्ध सिटी सेन्टरमा १९७७ नामक फुड स्टेशन चलाउने शैलेस प्रजापतिमार्फत हुन्छ । प्रजापतिले सो कामको सहयोगका लागि पवन खड्कासँग थापाको भेट गराएका थिए । ‘लोभी स्वभावका’ थापा पछि बस्नेतलाई भेट्न जेलमा समेत गएका थिए । साथै सो योजनामा आफूले सहयोग गर्ने समेत कुरा गरेको अन्य व्यक्तिहरुले बयानमा उल्लेख गरेका छन् । जेलमा गएर अन्याय भएको रहेछ भनेर आफुले छुटाउन पहल गर्ने बताएको अनुसन्धानमा देखिन्छ ।

गृहमन्त्रीका भाइ थापाले यो योजनामा सहयोग गरेको कुरा अभियुक्त पवन खड्काले बयानमा खुलाएपछि उनलाई पक्राउ गर्न प्रहरी बाध्य भएको हो । पूर्व भारतीय गोर्खा सैनिक थापाको धेरै जसो खराब व्यक्तिहरुसँग संगत छ । गृहमन्त्रीको भाइको हकमा सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा भनिएको छ,‘प्रतिवादी नरेश बहादुर थापा भन्ने नरेश कुमार थापाले इन्कारी गरी बयान गरेता पनि प्रतिवादी समिरमानसिंह बस्नेतसँग कारागारमा भेटेको देखेको भन्ने प्रनि विपिन ओझाको बयान, निजहरुबीच भएको कोड संवाद पुष्टि हुने गरी अनुसन्धानबाट तयार भएको डिजिटल फरेन्सिक रिपोर्ट मा देखिएको संवाद समेतको आधार प्रमाणहरु एवं सहअभियुक्तको पोल बयानबाट उक्त अपराधिक लाभको कसुर संगठित रुपमा गर्नमा निज प्रतिवादी नरेश बहादुर थापाको संलग्नता पुष्टि भएको देखिन आयो ।’

पवन खड्काको बयानअनुसार थापाले ‘हामीले द्वन्द्वकालमा यस्तै नै गरेर चन्दा उठाएको, बैंक लुटेको हो । गरिबलाई मार्न हुन्न । धनी हुने खानेलाई अलिकति मारेर(पैसा उठाएर) केही हुन्न, तर अहिलेको अवस्थामा केही नगर्नु, म मन्त्रालय, पुलिस प्रशासन, राजनीतिक वृत्त सबै ठाउँमा मिलाउछु । त्यसपछि कल गरेर पैसा उठाउने र भाग बाँडेर लिने कुरा गरेको थियो,’ भनेका थिए । जुन कुरा अभियोगमा उल्लेख गरिएको छ । समिरमानसिंहको ठेकदारहरुसँग पैसा उठाउने योजना छ, यसमा तपाईको के विचार छ भनेर सोध्दा आफ्नै घरमा थापाले यस्तो जवाफ दिएको भनेर मिसिलमा उल्लेख गरिएको छ । तर, उनले आफूले सो समूहलाई सहयोग नगरेको बताएका छन् ।

फरार अभियुक्त रहेका जावेदले भने गोली हान्ने व्यक्तिहरुलाई एयरपोर्टबाट भगाउने जिम्मेवारी गृहमन्त्रीका थापाले लिएको भनेर एक कुराकानीमा उल्लेख गरेका छन् । तर, धम्कीमा प्रत्यक्ष रुपमा थापाको संलग्नताको प्रमाण भने प्रहरीले भेटाएको देखिन्न ।

गोलघरभित्रै मोबाइल

जेलभित्रैबाट अपराध गर्ने र अपराध गर्ने सम्भवना भएका कैदीबन्दीलाई जेलभित्रको जेल मानिने गोलघरमा राखिन्छ । तर, प्रहरी नै अपराधीको सहयोगी भएपछि गोलघरभित्रबाट समेत अपराध गर्न बस्नेतलाई गाह्रो भएन ।

गोलघरको डिउटीमा खटिएका प्रहरी जवान भट्टराईले जेलमा गुन्डा नाइके बस्नेतलाई मोबाइल पु¥याएका थिए । । जेलका अर्का कैदी मनबहादुर पुनमार्फत बस्नेतले सिमसहितको मोबाइल पाएका हुन् । सोही मोबाइल प्रयोग गरी स्काईपबाट गुन्डा नाइके बस्नेतले आफ्ना सहयोगीहरुलाई फोन गर्दै अपराधिक योजना बनाएका थिए । घटनाका सबै कुरा खुलाएर अनुसन्धानमा सहयोग गरेकाले अन्य अभियुक्तलाई भन्दा पवन खड्कालाई आधा सजाय छुट दिन सरकारी वकिल कार्यालयले माग लिएको छ ।

यसरी भयो अनुसन्धान

नेपालका ठूला निर्माण व्यवसायीलाई अननोअन, प्राइभेट तथा ८८८८८८८८ नम्बरबाट धम्कीपूर्ण फोन आएका थिए । ती सबै इन्टरनेट फोन थिए । जसको आईपी ठेगाना दुबई देखिएको थियो । स्काईप माध्यमबाट ती इन्टरनेट कल गरेको खुलेपछि अनुसन्धानका लागि सीआईबीले स्काईप कम्पनीसँग सहयोग मागेको थियो । धम्कीमा प्रयोग भएको स्काईप आईडीको ‘सिडिआर डिटेल’ प्राप्त भएको थियो । जसबाट सात सय ८४ पटक विभिन्न एक सय १९ वटा नम्बरमा सम्पर्क देखिएको थियो । ती नम्बरमध्ये ९८०३३९४५८५ नम्बरसँग समेत सम्पर्क देखिएको थियो । सोही नम्बरबाट गिरोहको बारेमा पत्ता लागेको हो । सोही नम्बर बस्नेतले केन्द्रीय कारागारमा प्रयोग गरेका थिए । जेलमा मोबाइल तथा इन्टरनेट प्रयोग गर्न प्रतिबन्ध छ ।

सात महिना लामो अनुसन्धान

सीआईबीले गत वर्ष फागुनदेखि नै यो घटनाको अनुसन्धान गर्दै आएको थियो । निर्माण व्यवसायीहरुले धम्कीको उजुरीबारे जानकारी गराएपछि गृह मन्त्रालयले नै यसको अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिएको थियो । धम्कीले आजित भएपछि निर्माण व्यवसायीहरु गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म पुगेका थिए ।

‘धम्कीमा इन्टरनेट कल प्रयोग भएकाले अनुसन्धानमा धेरै समय लागेको हो,’ अनुसन्धानमा आबद्ध सीआईबीका अधिकारीले भने,‘जब आईपी नम्बर पत्ता लाग्यो त्यसपछि समिरको संलग्नता प्रष्ट भएको हो ।’

अनुसन्धानको क्रममा सो समूहले कोहीसँग पनि पैसा भने उठाएको थिएन । धम्की लगत्तै प्रहरी एक्सनले पैसा उठाउन नपाएको सीआईबीका अधिकारीको दाबी छ । तर, एक व्यक्तिलाई गोली हान्ने तयारी गरेको भने देखिएको छ । पक्राउ परेकाहरुविरुद्ध निर्माण व्यवसायी जयराम लामिछाने लगायतले प्रहरीमा जाहेरी दिएका छन् ।

यो घटनाले गृहमन्त्री वादविवादमा परेका छन् । विगतमा छोरा प्रतिकले प्रहरी सरुवा बढुवामा अनाबश्यक चलखेल गरेको भनेर विवाद भएको थियो । सल्लाहकार सूर्य सुवेदीले वीर अस्पतालका चिकित्सकलाई गाडीमा राखेर गृह मन्त्रालयमा ल्याएर धम्काउँदा पनि उनी विवादमा परे ।

सोझा भनिएका गृहमन्त्री बादल आफ्नै भाइकै कारण विवादमा परेका छन् । राम्रो टिम बनाउन नसक्दा नै उनको छवी खस्कदै गएको छ ।

सीआईबीभित्र चलखेल, मन्त्रीलाई उन्मुक्ति, मन्त्रीका भाइलाई हत्कडी

यसरी गृहमन्त्रीकै भाइलाई पक्राउ गरेर थुनिएकोमा प्रहरी र सीआईबीको प्रशंसा भइरहेको छ । तर, कुनै रणनीति अन्र्तगत यसरी पक्राउ गरिएको चर्चा गृह मन्त्रालयमा छ । किनकि त्यही सीआईबी हो जसले भौतिक पूर्वाधार विकास मन्त्री खडगबहादुर क्षेत्रीलाई चलखेलका आधारमा जोगाएको थियो । न्यायधीशले मिसिल अध्ययन गरेपछि सीआईबी र सरकारी वकिलको बदमासी बाहिर आएको थियो ।

नक्कली बैंक ग्यारेन्टीका आधारमा मन्त्रीको कम्पनीले ठेक्का पाएको थियो । जसमा कर्मचारीलाई मुद्दा चलाएर मन्त्री खत्रीलाई आर्थिक चलखेलका आधारमा उन्मुक्ति दिइएको थियो । पछि उच्च अदालत पाटनले मन्त्री खत्रीलाई पक्राउको आदेश दिएपछि उनी बर्खास्तीमा परेका थिए । त्यसपछि मात्र सीआईबीको बदमासी बाहिर आएको हो । ठूला मुद्दामा सीआईबीमा यस्ता धेरै बदमासी भइरहेको स्रोत बताउँछ ।

मन्त्रीका भाइको भने प्रष्ट प्रमाण नभएपनि मुद्दा चलाएको भन्दै गृह मन्त्रालय रुष्ट बनेको बताइन्छ । स्रोतका अनुसार सुरुमा लिंक देखिएको भन्दै अनुसन्धानका लागि गृहमन्त्रीसँग अनुमति मागिएको हो, गृहमन्त्रीले अनुसन्धान गर्न भनेपछि पक्राउ गरेर सिधैं म्याद थप गरिएको हो । तर, नरेशविरुद्ध बलियो प्रमाण भने केही छैन । सहयोग गर्न खोजेको आशंका मात्र छ । सोधपुछका लागि भनेर बोलाएपछि थापा उनी आफैं सीआईबी गएका थिए । जसले पनि उनी योजनाबद्ध रुपमा नभई गलत संगतका कारण फसेको प्रष्ट हुन्छ ।

पछिल्लो केही वर्षयता सीआईबी खस्कदै गएको छ । सीआईबीमा ठूला आर्थिक चलखेल हुने गरेको स्रोत बताउँछ । निरज शाहीले समेत धेरै चलखेल गरेको खुलेपछि उनीमाथि छानबिनको तयारी भइरहेको स्रोत बताउँछ । खस्किएको छवी जोगाउनकै लागि सीआईबीले गृहमन्त्रीका भाइलाई पक्राउ गरेको चर्चा समेत प्रहरीमा छ ।

प्रतिक्रिया दिनुहोस्