Logo
Logo

लागूऔषध कारोबारीविरुद्ध झापा प्रहरीको बिशेष अभियान


- दृष्टि न्युज/संवाददाता

0
Shares

झापा, १ असोज ।
लागूऔषध कारोबारीविरुद्ध झापा प्रहरीले बिशेष अभियान सुरु गरेको छ । झापा जिल्लामा एक वर्षमा दुई सय जना लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा प्रहरीले भारतीय नागरिकसहित दुई सय जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये सात जना भारतीय भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले बताए । ‘लागूऔषध नियन्त्रणलाई हामीले बिशेष प्राथमिकतामा राखेका छौं,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा एसपी मैनालीले भने,‘सीमा क्षेत्रमा निगरानी बढाएका छौं ।’ लागूऔषध तस्करीमा बालकहरुलाई समेत प्रयोग गर्ने प्रवृत्ती देखिएको प्रहरीले जनाएको छ ।
लागूऔषध दुव्र्यसनीहरु बढ्दै गएको र त्यसबाट समाजको शान्ति सुरक्षामा समेत चुनौती बढेको भन्दै प्रहरीले यसविरुद्ध बिशेष अभियान सुरु गरेको हो ।

नागरिकता प्रकरणमा कर्मचारीसहित पाँच पक्राउ
झापा– १६ विदेशीलाई नेपाली नागरिकता दिएको अभियोगमा खरिदारसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय, झापाका खरिदार तेजिन्द्र न्यौपाने र वडा सचिव लोकराज बरालसहितका व्यक्तिहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्ने अन्यमा टेकबहादुर गुरुङ, प्रेमराज तिमल्सिना, भिमराज लिम्बु छन् । जिल्ला प्रशासन कार्यालयका अधिकृत गौरव ढुंगेलसहितको टोलीले १६ जना विदेशीलाई नेपाली नागरिक दिएको गृह मन्त्रालयको छानबिनमा खुलेपछि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सोही अनुसार पाँच जनालाई पक्राउ गरी अनुसन्धन अघि बढाईएको झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले बताए । सो घटनामा संलग्न अधिकृत ढुंगेल, नासु मेघराज निरौला, भद्रपुर– ९ का वडाअध्यक्ष शनिलाल राजवंशी तथा बिर्तामोड– ८ का वडाअध्यक्ष अजय कार्की फरार छन् । आर्थिक चलखेलका आधारमा भारतीय र भुटानीलाई नागरिकता दिएको अनुसन्धानमा खुलेको छ । त्यसरी वितरण गरिएका नागरिकता रद्दको प्रक्रिया अघि बढाइएको छ ।

विप्लवका नेताहरु फन्दामा
झापामा प्रेसर कुकुर बम बिष्फोटमा संलग्न नेत्रबिक्रम चन्द ‘विप्लव’ समूहका नेताहरु पक्राउ परेका छन् । टिका पोखरेल, प्रविण मिश्र र अनुल सारु मगरलाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
उनीहरुले गत २२ भदौ गौरदह नगरपालिकामा बिष्फोट गराएका थिए । त्यसअघि पनि झापामा चन्दा माग्ने र नदिए बिष्फोट गर्दै आएका थिए । उनीहरुबाट विभिन्न कागजपत्र समेत बरामद भएको प्रहरीले जनाएको छ । उनीहरु पक्राउ परेपछि विप्लवको आतंक रोकिने स्थानीयको विश्वास छ ।

चाडपर्व लक्षित सुरक्षा योजना
झापामा दशैं, तिहार, छठ लगायत चाडपर्वलाई सुरक्षित बनाउन झापा प्रहरीले बिशेष सुरक्षा योजना बनाई लागू गरेको छ । यो अवधिमा एक हजार दुई सय ३५ जना प्रहरी परिचालन हुने छन् । सात वटा राजमार्ग गस्तीमा खटिने र ४० वटा चेक प्वाइन्ट राखिने एसपी मैनालीले बताए । त्यस्तै बैंक तथा वित्तिय क्षेत्रक लागि बिशेष सुरक्षा योजना बनाएर प्रहरीले लागू गरेको छ ।
दमक, काँकडभित्ता र बिर्तामोडमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरुलाई सहजीकरण गरिने प्रहरीले जनाएको छ । प्रहरी सक्रियता बढेपछि झापामा शान्ति सुरक्षामा सुधार आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्