काठमाडौं । प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा एकीकृत समाजवादीलाई सहभागी गराउने प्रयास त जारी नै छ । र, सरकारमा सहभागी हुने या नहुने भन्नेबारे स्थायी कमिटी बैठकबाट एकीकृत समाजवादीले निर्णय गर्नेछ ।
बजारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपति बन्ने चर्चा पनि व्यापक छ । के अहिलेकै अवस्थामा त्यो सम्भव छ त ? यो प्रश्नको जवाफ चाहिँ आइतबार सम्ममा पाइनेछ । किनकी, समाजवादीले आइतबार सम्ममा सरकारमा सहभागी हुने या नहुने भन्नेबारे निर्णय गर्ने छ ।
एकीकृत समाजवादीको जारी स्थायी कमिटी बैठककै बेला प्रवक्ता जगन्नाथ खतिवडाले दिएको अभिव्यक्तिले भने एक तहबाट माधव राष्ट्रपति हुने चर्चा निस्तेज पारेको छ । उनले अहिलेसम्म अध्यक्ष नेपाललाई राष्ट्रपतिको प्रस्ताव कसैबाट नआएको प्रतिकृया दिएका छन् । तर, सम्भावना सकियो भन्ने होइन ।
एकीकृत समाजवादीभित्र सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा दुई धार छ । त्यसमा पनि सहभागी हुनुपर्छ भन्ने धार ठूलो छ । उनीहरु सरकारबाट मात्रै जनताको सेवा गर्न सकिन्छ भन्ने पक्षमा छन् । तर, सानो भए पनि एउटा जमात भने एमाले सम्मिलित वर्तमान सत्ता गठबन्धनमा सहभागी भए विद्रोहको औचित्य समाप्त हुने अडानमा छन् ।
ओली–माधव संवादको प्रयास
यसैबीच, एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विषेश जोड गरेका छन् । सत्तासाझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि प्रचण्डको जोडमा सहमत छन् । तर, एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने उचित बहाना कसैले पनि भेटेका छैनन् ।
एकीकृत समाजवादी सरकारमा सहभागी हुनका लागि पहिलो कदमका रुपमा केपी शर्मा ओली र माधवकुमार नेपालबीच संवादको वातावरण बन्नुपर्ने हुन्छ । पछिल्लो समय दुई वर्ष लामो संवादहीनता तोडिए पनि औपचारिक संवादको वातावरण बनेको छैन । त्यसैले, ओली–नेपालबीच संवादको वातावरण बनाउने प्रयास जारी छ ।
ओली–नेपालबीच संवादका लागि दुवै तर्फका नेताहरू सक्रिय छन् । ओलीले त देखिने गरी नै महेश बस्नेत लगायतका नेतालाई माधवसँग संवाद गराएका छन् । त्यसरी नै माधवको तर्फबाट पनि भित्रभित्रै ओलीसँग छलफलको वातावरण तय गर्न दोस्रो तहका नेताहरू सक्रिय रहेको बुझिन्छ ।
संवादको वातावरण बनाएर दुई वर्ष अघि छुटिएका ओली–नेपाललाई सहकार्यको अवस्थासम्म ल्याउन पहिलो चरणको प्रयास रहेको बुझिन्छ । सहकार्यबाट सम्बन्धमा थप सुधार आए पार्टी एकतासम्मको प्रयास गर्नुपर्ने समेत मध्यमार्गी भूमिकामा रहेका नेताहरूले सोचेका छन् । तर, संवादकै वातावरण बन्न सकेको छैन ।
माधवलाई राष्ट्रपति बनाउन ओली सहमत
पछिल्लो समय ओली र प्रचण्डबीच एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने सन्दर्भमा विभिन्न चरणमा छलफल भएको छ । यदि, सरकारमा सहभागी हुन माधव तयार भए भागबन्डा कसरी मिलाउने भन्ने विषयमा पनि यी दुई नेताबीच छलफल भएको छ ।
खुमलटार स्रोतका अनुसार राष्ट्रपति र केही महत्वपूर्ण मन्त्रालय दिँदै संघीय सरकारमा एकीकृत समाजवादीलाई सहभागी गराउन ओली–प्रचण्डबीच आधारभूत तहमा छलफल भएको छ । प्रचण्डको आग्रहपछि एकीकृत समाजवादीलाई राष्ट्रपति दिन ओली तयार छन् ।
ओली–प्रचण्डबीच यसरी भएको छलफलकै आधारमा माधव नेपाल राष्ट्रपति बन्ने चर्चा चलेको हो । तर, एकीकृत समाजवादीमा राष्ट्रपतिका उम्मेदवार भने सम्मानित नेता झलनाथ खनाल हुन् । पार्टीको बैठकले नै झलनाथलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
एकीकृत समाजवादीले झलनाथलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सारेको भए पनि त्यो निर्वतमान गठबन्धन रहँदाको कुरा हो । तर, अहिले परिस्थिति फेरिएको छ । अहिले सत्ताको बागडोर सम्हालेका ओली र प्रचण्डले भने माधवलाई राष्ट्रपति बनाउने मनसाय बनाएका छन् । त्यसैले माधव राष्ट्रपति बन्ने चर्चा चलेको हो ।
ओली र प्रचण्डबीच छलफल भएपछि प्रचण्ड र माधवबीच पनि छलफल भएको छ । स्रोतका अनुसार प्रचण्डले माधवलाई ओलीसँग छलफल भएका विषयहरू सुनाइसकेका छन् । र, माधव पनि यस विषयमा सकारात्मक नै छन् । तर, माधवले प्रचण्डसँग ‘के भनेर एमाले सम्मिलित सरकारमा सहभागी हुने ?’ भन्दै प्रश्न गरेका छन् ।
वाम सहकार्य र एकताको प्रसंग
माधवले बारम्बार ‘कांग्रेसले सारै हेप्यो’ भन्दै आएका छन् । प्रधानमन्त्री बन्ने दिनसम्म आइपुग्दा प्रचण्डले पनि कांग्रेसको अति हेपाहा प्रवृत्ति मज्जाले थाहा पाइसकेका छन् ।
कांग्रेसको हेपाइबाट आजित प्रचण्ड–माधव कुनै न कुनै रुपमा वाम सहकार्यको पक्षमा पुगिसकेका छन् । तर, प्रचण्ड–माधवले यसको प्रस्थानविन्दु भेटिसकेका छैनन् । र, ओली पनि कसरी अघि बढ्ने भन्नेमा प्रष्ट भइसकेका छैनन् ।
यसबीचमा, विगतको समीक्षा गर्दै वाम सहकार्यको विषय भित्रभित्रै सुरु भएको छ । तीन वाम शक्तिका दोस्रो तहका नेताहरु यसको गृहकार्यमा जुटेका छन् ।
एमालेका एक नेताले भने– ‘विभाजित अवस्थामै भए पनि जनताले नेपालका वाम शक्तिलाई सम्मानजनक मत दिएका छन् । यस्तो अवस्थामा वामहरु मिलेर अघि बढ्नु उपयुक्त हुन्छ । एमाले–माओवादीको सहकार्यमा सरकार बनेपछि यसको बाटो अलि सहज भएको छ । अब एकीकृत समाजवादीलाई पनि यो प्रकृयामा समावेश गर्न सके राम्रो हुन्छ । हामी त्यो प्रयत्नमा लागेका छौं ।’
ति नेताका अनुसार अहिलेको अवस्थामा आधारभूत सहकार्यको वातावरण बनाउने प्रयास हो । यदि, सहकार्य भएको खण्डमा पार्टी एकताका लागि पुनः वातावरण बन्ने उनको बुझाइ छ ।
के गर्न सक्छ एकीकृत समाजवादीले ?
भर्खरै विभाजन भएको पार्टी समेत सहभागी भएको सरकारमा सहभागी हुन एकीकृत समाजवादीका लागि सहज छैन । तर, सरकारमा सहभागी नहुने पाँच वर्षसम्म संघ र प्रदेशमा सत्ताविहीन हुने चिन्ता पनि छ ।
एकीकृत समाजवादीमा सत्ता गुमाउनु हुँदैन भन्ने पक्षले अहिलेकै अवस्थामा एक जुक्ति निकालेका छन् । त्यो हो– एमाले–माओवादी सरकारलाई नभइ प्रधानमन्त्री प्रचण्डलाई सहयोग गर्ने ।
एकीकृत समाजवादीले मित्र शक्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बनेको सरकारलाई सफल बनाउन सहयोग गर्ने नीति अवलम्बन गर्न सक्ने बुझिन्छ ।
तर, यसका पनि दुई धार देखिन्छ । एक, समर्थन गरेर प्रचण्डलाई विश्वासको मत दिने वा सरकारमै सहभागी भएर सहयोग गर्ने भन्ने दुई खालको मत देखिन्छ ।
एउटा समूहले सरकारमै सहभागी हुने मत राख्नै आएका छन् भने अर्को समूहले प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई विश्वासको मत मात्र दिनुपर्ने मत राखेको छ ।
एकीकृत समाजवादीमा देखिएको दुई धार आइतबारसम्ममा टुंगो लाग्ने देखिन्छ । त्यसपछि मात्र एकीकृत समाजवादीको थप यात्रा स्पष्ट हुनेछ ।
माधव राष्ट्रपति बन्न तयार होलान् ?
यदि, एकीकृत समाजवादी सरकारमा सहभागी हुने अवस्था आएमा माधव राष्ट्रपति बन्लान् ? भन्ने प्रश्न रहेको छ ।
एकीकृत समाजवादीभित्र सरकारमै सहभागी हुने हो र राष्ट्रपति पाएको खण्डमा को हुने भन्ने विषयमा पनि अनौपचारिक रुपमा छलफल हुने गरेको छ ।
अनौपचारिक रुपमा भइरहेका छलफलहरूमा पार्टी अध्यक्ष राष्ट्रपति भएर थन्को लाग्ने विषय सोच्न नसकिने धेरैको मत रहेको छ ।
भर्खरै बनेको पार्टीका अध्यक्ष प्रत्यक्ष राजनीति छोडेर निष्कृय भूमिकामा रहने कुरा उचित नहुने धेरैको मत छ । पार्टी अध्यक्ष निष्कृय भएको खण्डमा पार्टी नै विघटन हुने धेरैको मत छ ।
माधव स्वयम् पनि अहिले नै राष्ट्रपति भएर थन्को लाग्ने पक्षमा नरहेको निकट नेताहरू बताउँछन् । अहिलेकै अवस्थामा पार्टीबाट बिदा लिए पार्टीमा सर्वस्वीकार्य नेता कोही नहुने भएकाले पार्टी नै छिन्नभिन्न हुने उनको चिन्ता रहेको बुझिन्छ ।
तर, पार्टी सरकारमा सहभागी हुने र राष्ट्रपति पाउने सन्दर्भमा राष्ट्रपतिको रुपमा अध्यक्ष माधवको नाममा सहमति जुटे सम्मानित नेता खनाललाई पार्टीको नेतृत्व जिम्मा लाएर माधव राष्ट्रपति बने हुने विकल्पमा पनि उनीहरूबीच छलफल हुँदै आएको छ ।