Logo
Logo

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन २२ देखि २५ सम्म हुने


378
Shares

काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण-२०२३ जुन २२ देखि २५ सम्म आयोजना हुने भएको छ ।

अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्टन डिसी, महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने छैठौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरीबाट आवेदन खुला गरिएको आयोजकले जनाएको छ ।

चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र चलचित्रहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् ।

वासिङ्टन डीसी, मेरिल्यान्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत चलचित्रहरु प्रदर्शन हुनेछन् । स्थापना कालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिबल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका चलचित्रहरू यो वर्ष पनि समावेश हुने जनाइएको छ ।

महोत्सवका निर्देशक युवाकर राजकर्णिकारका अनुसार अन्तर्राष्ट्रिय चलचित्रकर्मीको समितिले आवेदन परेका मध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछ । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरुलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ ।

महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला समेत आयोजना हुनेछन् । चलचित्र प्रदर्शनपछि निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्