काठमाडौं । भारतको सर्वोच्च अदालतले नरेन्द्र मोदी सरकारले सन् २०१६ मा गरेको ‘नोटबन्दी’ गर्ने निर्णय सही भएको फैसला गरेको छ ।
भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार सर्वोच्चको संवैधानिक इजलासले आज (सोमबार) सो फैसला सुनाएको हो । सन् २०१६, नोभेम्बर ८ मा मोदी सरकारले ५ सय र १ हजार रुपैयाँ दरका नोटमाथि प्रतिबन्ध गरेको थियो ।
सरकारको उक्त कदममाथि परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेका पाँच जना न्यायाधीशमध्ये बहुमतका आधारमा यो निर्णय भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
सर्वोच्चले भारतीय केन्द्रीय बैंक आरबिआईले एक्लै नोटबन्दीको निर्णय गर्न नसक्ने उल्लेख गर्दै ६ वर्षअघिको नोटबन्दी केन्द्र सरकार र आरबिआईबीचको सल्लाहमा भएको देखिएको जनाएको छ ।
उक्त निर्णयपछि भारतीय नागरिकले सास्ती खेप्दै नोट साटेका थिए । त्यतिबेला नेपालमा रहेको करोडौं भारतीय रुपैयाँ अहिलेसम्म साट्न सकिएको छैन ।