काठमाडौं । शेरबहादुर देउवा सरकारको पालामा सेटिङ मिलाएर प्रदेश इन्चार्ज भएका डिआइजीहरूलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले फिर्ता बोलाउने तयारी गरेको छ । उनीहरूको भ्रष्ट कार्यशैली रहेको गुनासोका आधारमा सरुवा हुन लागेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका डिआइजीको सरुवा हुन लागेको स्रोतले जनाएको छ । प्रदेश नम्बर १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा कार्यरत दुवै संगठनका डिआजीहरू कमाउने धन्दामा लागेको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ ।
प्रदेश नम्बर १ मा नेपाल प्रहरीका सुदीप गिरी तथा सशस्त्र प्रहरी बलका कमल गिरी कार्यरत छन् । सुदीप तत्कालिन गृहमन्त्री बालकृष्ण खाणसँग सेटिङ मिलाएर प्रदेश गएका हुन् । काठमाडौंको एसएसपी भएकै बेला उनीले डिआइजीमा बढुवा भएलगत्तै प्रदेश इन्चार्ज पाएका थिए ।
प्रदेश नम्बर १ मा सुपारी तस्करीमा उनको सेटिङ प्रष्ट भइसकेको छ । सेटिङ नमिल्दा भारततर्फ पुगिसकेको सुपारी बरामद गरिएको थियो भने पछि त्यसलाई कारबाही बिनै छाडिएको थियो ।
सशस्त्र प्रहरीका डिआइजी गिरीको कार्यकाल पनि एक वर्ष भन्दा धेरै भइसकेको छ । उनी कांग्रेस नेता ज्ञानेन्द्र कार्कीसँगको सेटिङमा लामो समय काम गर्ने अवसर पाएका हुन् । प्रदेश नम्बर १ का दुवै जनालाई हटाउने नयाँ सरकारको तयारी छ ।
मधेस प्रदेशमा सबैभन्दा धेरै विकृति छ । जहाँ नेपाल प्रहरीका मसउद आलम खाँ छन् । तत्कालिन गृहमन्त्री खाण र नेता महेन्द्र यादवको सेटिङमा उनी त्यहाँ गएका हुन् । आठौँ जिल्लामा प्रदेश कार्यालयबाट घुमुवा खटाएर उनले चुनावको मौकामा तस्करी खोलेका थिए । त्यस्तै, एक वर्ष भन्दा लामो समयदेखि कार्यरत सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडा मगर पनि पटक–पटक विवादमा पर्दै आएका छन् ।
लुम्बिनी प्रदेशका डिआइजी नलप्रसाद उपाध्याय पनि अनेक काण्डमा मुछिसकेका छन् । उनी पनि खाणकै समूहको सेटिङअनुसार प्रदेशमा गएका थिए । तस्करीकै पैसाबाट उनी एआइजी हुने दाउमा लागेका छन् । ‘पुराना डिआइजीहरूका कारण प्रदेशमा विकृति बढ्यो भन्ने उजुरी आएका छन्,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘उनीहरूलाई हटाउनेबारे छलफल भइरहेको छ ।’
डिआइजी सरुवाको अधिकार गृहमन्त्रीलाई छ । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले सरुवा गर्दा कति निष्पक्षताका आधारमा गर्छन् भन्ने पनि धेरैको चासो छ ।