Logo
Logo

एसएसपीको चुनौती– पैसा खाएको पत्ता लगाउनुस्, बर्दी फुकालिदिन्छु


- दृष्टि न्युज/संवाददाता

0
Shares

ललितपुर, २ असोज । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले आफूले एक रुपैयाँ पनि घुस नखाने प्रतिबद्धता व्यक्त गरेका छन् । एक रुपैयाँ घुस खाएको पत्ता लागेका दिन बर्दी फुकालेर प्रहरी सेवाबाटै बिदा हुने उनको चुनौती छ ।


बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले ललितपुरमा आफ्नो कार्यकाललाई स्मरणीय बनाउने बताए । ललितपुरको दक्षिण भेगमा भएको ढुंगा खानीबाट ललितपुरका प्रहरीले सेटिङ मिलाएर अवैध रुपमा खानी सञ्चालन हुने गरेको भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘अहिलेसम्म कसैबाट एक रुपैयाँ लिएको रेकर्ड छैन। र, लिने पनि छैन। मेरो स्ट्रेन्थ मध्येको यो पनि एक हो।’ ललितपुरमा हुने गरेको क्रसर तथा ढुंगा खानी कानुन बमोजिम सञ्चालन भएको पाइए प्रहरीले आफ्नो अधिकार प्रयोग गरेर कारबाही गर्ने उनले बताए।

प्रहरीकहाँ उजुरी दिने उजुरीकर्ताले उजुरी लेखेबापत लेखापढी गर्न बसेका व्यक्तिलाई पैसा तिर्दै आएकाले अब त्यो समस्या ललितपुरबाट हटाउने उनले प्रतिबद्धता जनाए। त्यसका लागि विभिन्न प्रकारका उजुरीका नमुना फाराम प्रहरीले नै कम्युटरबाट टाइप गरेर फोटोकपी गरेर राख्ने र सेवाग्राही आएका बेला उपलब्ध गराउने उनले बताए।
प्रहरीभित्रै हुने आन्तरिक शुद्धीकरणमा पनि आफू कटिबद्ध भएर लाग्ने एसएपी राईको भनाइ छ। आफूमा भएको असन्तुष्टि प्रहरीले सर्वसाधारण नागरिकमा पोख्न नहुने भन्दै त्यस्तो पाइए तत्कालै कारबाही गर्ने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्