आफ्नै जीवनका अनेक संयोगहरुदेखि कहिलेकाहीँ अचम्म लाग्छ । आफँैले सयौँ कोसिस गर्दा पनि नपुगेका केही कुरा समयले आफैँ पूरा गरिदिँदोरहेछ । यस्तो लाग्छ– यो भौतिक संसारमा मानिसका इन्द्रीय र मनले नभ्याउने पनि केही कुरा हुँदारहेछन्, जसलाई बुझ्न स्कुलमा पढेको पाठले पुग्दैन ।
एउटा असल जीवनसाथीको आवश्यकता महसुस भइरहेकै बेला एउटा पूर्वाभास आएर कतै बाटो देखाउँदै थियो । केही समय अगाडि मात्र ‘महिला मुक्ति’ पत्रिकाको निम्ति मैले बिल्कुलै चिन्दै नचिनेको एक जना कविको हस्तलिखित कविताको शीर्षक र सुन्दर हस्ताक्षरले ममा एउटा जिज्ञासा जन्मेको थियो । त्यो कविता छापिइसक्दा समेत कविबारे केही थाहा थिएन । ‘त्यो कवि को होला ? एकपल्ट चिन्न पाए नि हुने’ भन्ने लागिरहेको थियो ।
त्यो ‘जीवन’ नामको कविसँग जीवनमा नजिकबाट भेट होला कि हुँदैन भनेर थाहा पनि थिएन । कर्तव्यपथमा हिँडिरहँदा अरु कविहरुसँग पनि भेट हुन्थ्यो । कतिले त कविता सुनाइ पनि हाल्थे । म पनि कविताप्रेमी थिएँ ।
त्यो बेला त झन् उमेरकै कारणले पनि होला– फूलमात्र होइन कुनै झारपात देख्दा पनि कविता कोर्न मन लाग्थ्यो । दुःख देख्दा खप्न सकिन भने कविता लेखेर नै मनलाई मल्हम लगाउने गर्थेँ ।
…उनी कविता पढ्न थाले । कविताको भाव प्रेम रहेछ– एक जना क्रान्तिकारी युवकको आफूजस्तै क्रान्तिकारी युवतीप्रतिको प्रेम ! वास्तवमा अरु कसैको प्रेमप्रसँगलाई लिएर लेखेको कविता रहेछ त्यो । तर त्यही दिन मलाई सुनाउन पुग्नु– कस्तो संयोग ?
बाहिरबाट हेर्दा क्रान्तिकारी, मन भने छिट्टै पग्लिने मैनजस्तो थियो । सानैदेखि साथी बनाएको कविताले ऊर्जा पनि दिन्थ्यो मलाई । तर त्यो त मलाई मात्र थाहा थियो ।
एक दिन मेरो पुरानो कर्मक्षेत्र बालाजुमाथि धर्मस्थलीमा महिलाहरुको एउटा बैठकमा जानु थियो । दिनभरि जस्तै उतै परेँ । दिउँसो ४ बजेतिर कमरेड डिबीसँग भेट्ने समय मिलाएकी थिएँ । तर त्यो दिनको पूर्वाभास अलि बेग्लै थियो । किन हो, ‘समयमा पुग्दिन कि’ भन्ने हतारो पनि थियो । भेट्ने ठाउँ थियो साथी पूर्णशोभाको घर न्यूरोडमा । मनले भनिरह्यो– ‘आज उनीसँगको भेट विशेष हुनसक्छ ।’
बाहिरबाट हतारमा फर्किएकाले खुट्टामा मात्र हैन कपडामा समेत जताततै हिलो लागेको थियो । साउन झरीको बेला गाउँको बाटो हिलाम्मे हुने नै भयो । घरमा गएर कपडा फेर्न पनि समय थिएन । खुट्टा धुनसम्म पनि भ्याइएन । सामान्य खद्दरको धोतीमा थिएँ । मनमा लाग्यो– ‘यतिबेला आवरण फेर्नु नै के जरुरी छ र ! जे हो त्यही रुपमा प्रस्तुत हुने हो । हेरुँ न एउटा जाँच नै हुन्छ… ।’
ढिलो भइसकेकाले हस्याङफस्याङ गर्दै पुगेँ । त्यही दिन अरु बेलाभन्दा अलि अगाडि नै आइपुगिसकेछन् कामरेड त । सासै पनि फेर्न नभ्याएजस्तै भयो । बसेर विषयमा प्रवेश नहुँदै– ‘आज तपाईँलाई एउटा कविता सुनाउँ है ? आजै मात्र लेखेको …’ भन्दै खल्तीबाट केही पानाको कागज निकाले । मलाई ‘अब के हुन लाग्यो’ जस्तो लाग्यो । तुरुन्तै ‘सुनुँ न…’ भनेँ ।
कविताको शीर्षक थियो– ‘हामी’ ! अनि थाहा पाएँ– हाम्रो प्रशिक्षक भएर आउने डाक्टर डिबी कामरेड त कवि पनि रहेछन् …। धेरै पछि मात्रै थाहा पाएँ– मैले खोजिरहेको ‘जीवन’ नामका कवि पनि उनै रहेछन् । जसले ‘जेल परेकी बहिनी’ शीर्षकमा कविता लेखेका थिए ।
…उनी कविता पढ्न थाले । प्रस्तुति पनि राम्रो थियो । कविताको भाव विषय भने प्रेम रहेछ– एक जना क्रान्तिकारी युवकको आफूजस्तै क्रान्तिकारी युवतीप्रतिको प्रेम ! वास्तवमा अरु कसैको प्रेमप्रसँगलाई लिएर लेखेको कविता रहेछ त्यो । तर त्यही दिन मलाई सुनाउन पुग्नु– कस्तो संयोग ?
अनि दिनभरिको मेरो कस्तो पूर्वाभास ! कविता सुनाउँदै गर्दा उनमा पनि एक किसिमको हडबडाहट देखेँ । कविता अलि लामै थियो । कविताको सुरुको अंशले नै छोइसकेको मनले कविताको पछिल्लो अंश त सुन्यो कि सुनेन थाहा नै भएन । कविता सकिनासाथ कवि आफँैलाई अप्ठेरो लागेछ क्यारे, अप्ठेरो मानी मानी ‘कस्तो लाग्यो कविता ?’ भनेर सोधे ।
अप्ठ्यारै मान्दै भनेँ ‘…राम्रो लाग्यो !’ अनि जुरुक्क उठेर– ‘आज मलाई अलि हतार छ है कामरेड, बाँकी कुरा पछि गरौँला …’ भनेर गर्नुपर्ने कुरा नै नगरी गए ।
कुरा सकियो । हैन, कुरा सकिएन बरु बल्ल पो सुरु भयो । मैले अनुभूत गरेको पूर्वाभाससँगै यो संयोगले धेरै प्रश्नहरु जन्मायो । ती प्रश्नले निदाउन पनि दिएन ।
कुनै बेला हाम्रै समुहकी दिदी जस्तै साथी शारदा कोइरालाले जिस्किँदै मसँग भनेको कुरा सम्झेँ– ‘तपाई त कविता मनपराउने मान्छे । कसैले प्रेम प्रस्ताव राख्दा पनि कवितामार्फत नै राख्छ होला । कविलाई नै मन पराउने होला ।’
तर म कविता मन पराउँछु भनेर न ती डाक्टरलाई थाहा थियो, न त उनी पनि कविता लेख्छन् भन्ने कुराकै केही जानकारी थियो मलाई !
उनी गइसकेपछि मेरो मनमा अचानक हुरी बतास चल्यो– किन यस्तो हुँदैछ ? एकपछि अर्को प्रश्न जन्मायो कविताले । केही समय अगाडि अष्टलक्षमीसँग भएको– विवाहको प्रसंगको कुरा सम्झेँ । अनि महेशदाइले मेरोबारेमा चिन्ता लिएर भन्नुभएको कुरा– मन मिल्ने साथी खोज्ने बेला भयो भन्ने कुरा पनि सम्झेँ ।
यी सबै कुरा यहाँनिर ठोकिन आएझैँ भयो । सोच्दासोच्दै रात बित्यो– ‘उनी त एक राम्रो डाक्टर ! अनि दर्शनको समेत ज्ञान भएको मान्छे । अझ कवि पनि रहेछन् …. तर विदेशबाट फर्केको युवा डाक्टर । त्यहाँ के थियो उनको स्थिति ?…’
अर्कोतिर मनले सम्झाउँदै पनि थियो– ‘प्रेम कविता सुनाउँदैमा त्यसैलाई प्रेम प्रस्ताव भन्न पनि त सकिन्न नि …’ जे भए पनि उनी विदेशमा छँदाको कुरा थाहा पाउनु जरुरी छ भन्ने लाग्यो । त्यो थाहा पाउने मैले चिनेको मान्छे त फेरि उही महेश दाइ मात्र हुनुहुन्थ्यो ।
महेशदाइका बारेमा ‘डिबी’सँग कुरा गर्दागर्दै ‘डिबी’कै बारे बुझ्न महेशदाइकहाँ जाने निर्णय गरेँ । यसपालि भने नबोलाइकनै पुगेँ– उहाँको घरमा ।
उहाँले चीनमा हुँदाको कुरा थाहापाए जति सबै भन्नु भयो ती डाक्टर कविको बारेमा । सकारात्मक कुरा मात्र हैन, कमजोरीहरु पनि जस्ताको तस्तै । ती मध्ये मनपरेको कुरा थियो– ‘… उनी त ‘देश’ भनेर फर्केर आएको मान्छे ! नत्र उतै बस्ने सम्भावना थियो ।’ यति सुनिसकेपछि भने धेरै सोधीखोजी गरेकोमा आफैँलाई लाज जस्तो भयो । म फर्कें ।
पार्टीभित्र विवाहको प्रसङ्ग चलिरहेकै थियो । ‘कसैप्रति झुकाव छ कि’ भनी सोधिँदा अष्टलक्ष्मी र पार्टी संगठकसँग भनेँ– ‘त्यो डाक्टरको कुरा आए म सोँच्न सक्छु ।’ यो त कसैले नसोचेको कुरा परेछ ।
तर मन पर्दैमा कुरा सकिने थिएन…