Logo
Logo

‘नाम त कम्युनिष्ट छ, साँच्चै कम्युनिष्ट नै छौँ त ?’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सहाना प्रधान कम्युनिष्ट र राजनीतिक आन्दोलनमा अग्रणी नेता रहेका बताएका छन् । पाँचौँ सहाना स्मृति दिवसका अवसरमा सहाना प्रधान प्रतिष्ठानले सोमबार आयोजना गरेको कार्यक्रममा उनले प्रधानले गरेका योगदानका धेरै पक्ष रहेको बताए ।
‘समग्रमा उहाँ नेपाली कम्युनिष्ट आन्दोलन र राजनीतिक आन्दोलनको एउटा अग्रणी नेता हुनुहुन्थो’, उनले भने, ‘उहाँ नेपाली समाजको नेपाली रुपान्तरण र राजनीतिकलाई नेतृत्व गर्ने अगुवा नेताको रुपमा रहनुहुन्थ्यो ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले सहाना प्रधानजस्तो राजनीतिज्ञ, राणाशाही र तानाशाहीका विरुद्ध जीवनभर धेरै खालका अप्ठ्याराको सामन गरेर संघर्ष गर्ने नेतालाई सम्मान गर्दा आदर्शका कुरा भुल्न नहुने बताए ।
उनले पुष्पलालले नेपाली समाज र माक्सवादको राम्रो विश्लेषण गरेर पार्टी स्थापना गरी अगुवाइ गर्दै स्थापना गरेको कम्युनिष्ट पार्टीबाट नै नेपालमा क्रान्ति र परिवर्तनको प्रक्रियालाई शुरु गरिएको उल्लेख गरे । उनले पुष्पलाल र सहाना लगायत पुराना पिँढीका धेरै नेताले त्याग, तपस्या, निष्ठा, मिहिनेतको जीवन व्यतित गरे पनि व्यक्तिगत पद प्रतिष्ठा, फाइदाका निम्ति क्रान्तिलाई प्रयोग नगरेका बताए ।
‘नाम त अहिले कम्युनिष्ट नै छ के साँच्चै कम्युनिष्ट नै छौ त अहिले ?, भन्न त हामीले समाजवादको यात्रा शुरु गर्ने भनेको छौँ के हामीले समाजवादको यात्राका निम्ति योद्धा जस्तै छौँ त हामी ?, या हामी बिस्तारै कांग्रेस जस्ता र हिजोका निरंकुशतावादी जस्तै पद र प्रतिष्ठाका निम्ति लागेको छौँ’, अध्यक्ष दाहालले भने । हिजोका तानाशाहले पनि विकासको मूल फुटाउने कुरा गरेको उल्लेख गर्दै उनले भने, ‘भन्ने ठूलो कुरा होइन, ठूलो कुरा गर्ने भन्ने हो, हामीले के गर्ने भन्ने कुराको अर्थ र महत्व छ, हामीले के भन्ने त्यति अर्थ छैन ।’
कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सहाना प्रधान कम्युनिष्ट आन्दोलन, महिला मुक्ति आन्दोलन, महिलाले पनि पढ्न पाउनुपर्दछ भनेर सक्रिय भूमिका निर्वाह गरेको बताए । उनले पुष्पलालको निधनपछि उनले नै पार्टीको अगुवाइ गरेको भन्दै सहानाको योगदान अमर र अजर रहेको उललेख गरे । उनले पार्टीमा अझै पनि महिलाको सन्तुलन कायम गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य धनश्याम भुसालले कम्युनिष्ट बनाउनमा उनको दृढता र दृष्टिकोण व्यापकता रहेको बताए । अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले राजनीतिक र महिला आन्दोलनको अद्वितीय नेताका रुपमा प्रधान रहेको बताए । उनले सहानाले कहिल्यै व्यक्तिगत स्वार्थमा नलागी जनता र महिला मुक्तिका लागि त्याग र तपस्या गरेको बताए ।
कार्यक्रममा सहानाका छोरा उमेशलाल श्रेष्ठले आमाको योगदानलाई पार्टीले एक वर्षमा सम्झने गरेको बताए । प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्रीले प्रधानका विचारलाई पार्टीले आत्मसात् गर्नुपर्नेमा जोड दिइन् । विसं १९८४ मा जन्मिनुभएका प्रधानको आजैका दिन विसं २०७१ असोज ७ गते निधन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्