राजनीतिशास्त्रमा एउटा सदावहार प्रश्न छ– नीति कि नेता प्रधान ? राजनीतिक दलका सन्दर्भमा गरिने यो प्रश्नको उत्तरमा अपवादलाई छोडेर सबैले नीतिप्रधान नै भन्छन् । हुनुपर्ने पनि त्यही हो । तर, यथार्थमा त्यस्तो हुँदैन, अधिकांश राजनीतिक दल नीतिप्रधान नभएर नेताप्रधान नै भएको धेरै उदाहरण छन् ।
वैचारिक नेताहरूको सन्दर्भमा नेताप्रधान दल पनि हुन सक्छन्, हुन्छन् । तर, त्यस्तो अवस्था यदाकदा मात्र हुन्छ । पछिल्लो समय विश्व राजनीतिमै त्यस्तो अवस्था देखिएको छैन भन्दा पनि हुन्छ । तर, पनि दलहरू नीति होइन नेता प्रधान हँुदै गएका छन् ।
जब नीति होइन, नेता प्रधान हुन्छ, त्यहाँ दल होइन, व्यक्ति हाबी हुन्छ । त्यस्तो राज्यव्यवस्थामा दल हुनु र नहुनुको पनि खासै अर्थ हँुदैन । नेपालको सन्दर्भमा कुरा गर्दा अहिले दलीय व्यवस्था छ, प्रभावको हिसाबले ठूला–साना गरेर सयौंको संख्या दल छन् । तर, ती दल मुलतः व्यक्तिको व्यवस्थापनकै लागि खोलिएका छन् । थोरै चलाइएका छन् भने धेरै त थपना मात्रै थापिएका छन् ।
नेपालमा अहिलेको दलीय व्यवस्था हुनुअघि निर्दलीय व्यवस्था थियो । पञ्चायती व्यवस्था भनिने त्यो व्यवस्थामा दल प्रतिबन्धित थिए, व्यक्ति नै दलजस्ता थिए । माथिदेखि तलैसम्म गुट हुन्थ्यो । ती गुटहरूको साइनो दरबारसम्म हुन्थ्यो । दरबारमा बलियो हुने भारदारको आधारमा राजनीतिक चित वा पोट हुन्थ्यो ।
दुःखका साथ भन्नुपर्छ– हामीसँग ल्याकत भएका र नियत सफा भएका नेता नै भएनन् । हामीले निरंकुश चरित्रका नालायकहरूलाई पार्टीको मठाधीश बनायौँ । र, ती मठाधीशलाई यो वा त्यो नामका नेताको पगरी भिराएर गलत संकथन निर्माण गर्याैं ।
त्यसैको आधारमा प्रधानमन्त्री र मन्त्रीहरू नियुक्त हुन्थे । उनीहरू जनताप्रति होइन, रूपमा राजा र सारमा उनीहरूलाई सेटिङ गर्ने भारदारप्रति जवाफदेही हुन्थे । पञ्चायतको अन्तिम समयमा भूमिगत गिरोह भनेर सांकेतिकरूपमा भारदारहरूलाई भन्न थालिएको पनि थियो ।
त्यो निर्दलीय व्यवस्था संसारमा चलेको उदारवादको हावासँग तालमेल खाएन । यही बीचमा नेपालमा पनि परिवर्तनको पक्षमा सयौँ जनताले बलिदानी दिए, हजारौँले कष्टसाध्य जीवन बिताए । प्रकारान्तरमा हामीले एक थान बहुदलीय व्यवस्था पायौं । यो साँवा थियो भने ब्याजका रूपमा खासै परिश्रम नगरी गणतन्त्र आयो । त्योसँगै जोडिएर धर्मनिरपेक्षता आयो, समावेशिता आयो, संघीय संरचना आयो ।
जगजाहेर छ, अहिले हामी यी सबै विशेषतासज्जित बहुदलीय गणतन्त्र व्यवस्थाको अभ्यास गरिरहेका छौँ । तर, प्रश्न के भने हामी बहुदलीय व्यवस्थाअनुसारकै आचरण गरिरहेका छौँ त ? हाम्रा कर्महरूले यो बहुदलीय व्यवस्था पुलकित हँुदैछ त ? विश्वकै सबैभन्दा उम्दा भनिएको यो व्यवस्थाबाट जनता लाभान्वित भइरहेका छन् त ?
यी तमाम प्रश्नहरूको उत्तर ‘छैन’ भन्ने आउँछ । आम मान्छेले ठाडै छैन भन्छन् । जो यसका लागि जिम्मेवार विशेष मान्छे हुन्, उनीहरू पनि छैन त भन्छन् तर त्यसका लागि तर, आदि इत्यादि लगाउँछन् । केही छुट लिन्छन्, केही बहानाबाजी गर्छन् ।
आखिर किन यस्तो भयो ? यसका अनेक उत्तर हुन सक्छन् । तर, मूल जवाफ हामीसँग नेता नभएर हो । पार्टीका अध्यक्ष वा सभापतिदेखि अनेक पदमा मान्छे छन्, तर ती पदाधिकारी मात्र भए, नेता भएनन् । नेता हुनु भनेको भीडबाट निर्देशित हुनु होइन, भीडलाई निर्देशन गरेर गन्तव्यमा पुर्याउनु हो ।
हुन त यसबीचमा कसैले नेतामा जन थपेर जननेता भनाए, कसैले राज थपेर राजनेता पनि भनाए तर यथार्थमा हामीसँग कोही नेतामात्रै पनि भएन ।
नेता एक बहुआयामिक व्यक्तित्व हो । यसलाई अनेक आयाममा परिभाषित गर्न सकिन्छ, व्याख्या र विश्लेषण गर्न सकिन्छ । त्यही आधारमा यसका विशेताहरू पनि उल्लेख गर्न सकिन्छ । तर, अमेरिकी राजनीतिका एक पण्डित रूजबेल्टले भनेका छन्– नेता हुन मुलतः दुई विशेषता चाहिन्छ– ल्याकत र नियत ।
ल्याकत भन्नाले क्षमताको समष्टी रूप हो । उनका अनुसार सैद्धान्तिकरूपमा पढेर र त्यसलाई व्यवहारिकरूपमा प्रयोगमा ल्याएर ल्याकत स्थापित गर्न सकिन्छ । नियत भन्नाले एक किसिमको दृष्टिकोणको समष्टिगत रूप हो । राम्रो गर्ने कि नराम्रो गर्ने, त्यसको छिनोफानो गर्ने ब्रम्ह–चिन्तन हो नियत । उनका अनुसार, नेताको नियत राम्रो हुनुपर्छ । उसलाई नराम्रो गर्ने छुट कतैबाट, कहिल्यै पनि हुँदैन र हुनुहुन्न ।
नेतामा ल्याकत हुनसक्छ तर त्यो नै सबै कुरा होइन । नियत सफा भएन भने त्यो ल्याकतले दुष्परिणाम ल्याउँछ । निश्चित व्यक्ति वा समूहमात्रै उभो लाग्छ, समग्रताको हित हँुदैन ।
अब नेपालका नेताको कुरा गरौँ– पहिलो त उनीहरूले जे चाहिने हो, त्यो पढेकै छैनन् । रूजवेल्टका अनुसार नेता हुन मुलतः राजनीतिशास्त्र र समाजशास्त्र पढेको हुनुपर्छ । त्यो पनि कर्मकाण्डी होइन, अद्यावधिक र समयसापेक्ष । हाम्रो देशको कुन पार्टीको अध्यक्ष वा सभापति वा त्यस्तै उपल्लो पदाधिकारीले त्यो मानकको शिक्षा लिएको छ ?
यस प्रश्नको उत्तर अत्यन्त निराशाजनक छ । तर, कोही त्यस्ता तथाकथित नेता त्यो सत्य स्वीकार्न तयार छैनन् । या त उनीहरू आफूलाई सर्वज्ञानी देखाउन अण्टसण्ट बोलिरहेका छन् या त अरू पढेलेखेका मानिसको खोइरो खनिरहेका छन् । विश्वले मानेका केही मानक शैक्षिक योग्यतालाई समेत नेपालमा होच्याउने वा खिसिट्युरीको विषय बनाउने गरिन्छ । सम्बन्धित विषयको विज्ञलाई सम्मान गर्ने, उसको विशेषज्ञताको उपयोग गर्नेजस्ता केही काम नै हँुदैन । एक किसिमको छोइछिटोमा पारिन्छन् उनीहरू ।
अब नियतको कुरा गरौँ– नेपालका तथाकथित नेताहरूको नियत नै सफा देखिएन । आफू, आफ्ना नातेदार, आफ्नो गुट, आफ्नो दल यीभन्दा माथि उठ्ने कदको नेता नै छैन । धेरै माथि उठेमा आफ्नो निर्वाचन क्षेत्र, आफ्नो जिल्ला । त्योभन्दा माथि देश हुन्छ, देशवासी हुन्छन् । त्यो कोणबाट सोच्ने मस्तिष्क नै छैन नेपाली नेतामा । ‘मै खाउँ, मै लाउँ सुख–सयल मै गरू’ भन्ने सोचभन्दा माथि उठ्नै सकेनन् । आफूले गरेर मात्र पुगेन, आफ्ना नालायक उत्तराधिकारीको बोझ थपेर बैतरणी तर्छन् ।
जब ल्याकत हुँदैन, नियत सफा हुँदैन तब कोही नेता हुन सक्दैन । तर, दुर्भाग्य नेपालमा यस्तै ल्याकत नभएका र नियत सफा नभएका व्यक्तिहरू दल र देश हाँक्ने ठाउँमा छन् । परिणाम सबैका सामु छ, हामी सबैखाले मापदण्डमा पछाडि धकेलिरहेका छौँ, देश पछाडि धेकलिरहेको छ ।
अहिले नेपालका ठूला दलका ठूला नेतामा को कतिपटक पार्टी अध्यक्ष वा सभापति हुने, प्रधानमन्त्री हुने भन्ने होड चलेको छ । तर, उनीहरूले त्यहाँ पुगेर के गरे भन्नेचाहिँ कसैले हेक्का राखेका छैनन् । शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री भए, के गरे यति धेरैपटक प्रधानमन्त्री भएर ? देशले के पायो ? प्रचण्ड तीनपटक प्रधानमन्त्री भए, केपी ओली दुईपटक भए, तेस्रो चोटिका लागि खुट्टा उचालिराखेका छन् ।
आखिर उनीहरू जतिपटक प्रधानमन्त्री भए पनि त्यही नभएको ल्याकत देखिने हो, गलत नियत उजागर हुने हो । जसको भुक्तमान नेपाल र नेपाली भोगिरहेका छन् । अहिले नेपालमा भएकै यही हो ।
हुन त राजनीतिमा दोस्रो पुस्ता, तेस्रो पुस्ताको कुरा पनि उचालिँदै आएको छ । तर, यी उमेरमा कान्छाहरूले पुस्तान्तरणका नाममा खोजेको पनि सत्ता नै हो । उनीहरूको ल्याकत र नियत पनि उन्नाइस–बीस मात्र हो, लगभग उस्तै छ । यद्यपि, उमेरजन्य कारणले केही फरक होला भन्ने अपेक्षा गर्न सकिन्छ ।
नेताको ल्याकत र नियतको कुरा मात्र होइन, चरित्रको कुरा पनि हो । नेता आफैँमा रोलमोडल पनि हो । तर, हाम्रा नेताहरू कोही पनि रोलमोडल बनाउन लायक छैनन् । देउवालाई केका लागि रोलमोडल बनाउने, ओलीलाई केका लागि बनाउने ? अनि प्रचण्डलाई केका लागि रोलमोडल बनाउने ? कोही पनि सचेत नेपाली उनीहरू जस्तो बन्न तयार छैनन्, उनीहरू जस्तो सन्तान बनाउन पनि राजी छैनन् । केही अपवाद होलान्, त्यो बेग्लै पाटो भयो, त्यसलाई सामान्यीकरण नगरौँ ।
नेपाली नेताको व्यवहारले नेपालको दलीय व्यवस्थाको पनि चरित्रहरण भयो । दललाई त्यस्तै ल्याकत नभएका र नियत सफा नभएका नेताहरूलाई सत्तामा चढाउने प्राविधिक भर्याङ मात्र बनाइयो । जो दलका प्रमुख छन्, उनीहरूले प्राविधिक बहुमत बनाएर दल नै कब्जा गरे ।
पछिल्लो सत्तागठबन्धन विघटन किन भयो ? त्यसको उत्तर नै पर्याप्त छ । जगजाहेर छ, देउवाले पहिलो कार्यकालको प्रधानमन्त्री छोडेनन्, प्रचण्डलाई त्यो नभई भएन । देउवा मरिगए नदिने, प्रचण्ड मरिगए नछोड्ने । यो नितान्त दुई व्यक्तिको स्वार्थको टकराब थियो । यहाँ कांग्रेस र माओवादीको प्रश्नै थिएन । यो रस्साकस्सीका लागि पार्टीका बैठक आदि–इत्यादि त प्राविधिक पक्ष थिए, देखाउने दाँतजस्ता । चुरो कुरो, यी दुई महत्वाकांक्षी व्यक्तिलाई पहिलो कार्यकाल प्रधानमन्त्री चाहिएको हो ।
परिणामतः केही दिनअघि चुनावमा सँगै यात्रा गर्ने वाचा खाएका सँग छुट्टिने र एकअर्काको उछित्तो काढ्दै हारजित गर्नेहरूसँग भने नयाँ यात्रा थालिने अस्वाभाविक परिस्थिति सिर्जना भयो । पूर्व जान हिँडेका दुई यात्री बीचबाटोमा पुगेपछि एउटा उत्तर र अर्को दक्षिण लाग्यो । एउटा पूर्व अर्को पश्चिम लागेको भए पनि केही कुरा त मिल्थ्यो । यो त उत्तर र दक्षिण लाग्ने कुरा भयो ।
यसमा कसलाई नाफा वा नोक्सान भयो, यो गौढ कुरा हो । नदिने देउवा गलत कि नलिइ नछोड्ने प्रचण्ड गलत, यो पनि कुनै महत्वको कुरा होइन । चुरो कुरो त, हामी कस्तो राजनीतिलाई मलजल गरेर दलका नाममा कस्तो निर्दलीय चरित्र र पात्र हुर्काइरहेका छौँ भन्ने हो ।
दुःखका साथ भन्नुपर्छ, हामीसँग ल्याकत भएका र नियत सफा भएका नेता नै भएनन् । हामीले निरंकुश चरित्रका नालायकहरूलाई पार्टीको मठाधीश बनायौँ । र, ती मठाधीशलाई यो वा त्यो नामका नेताको पगरी भिराएर गलत संकथन निर्माण गर्याैं । जनता त भीड थिएँ, अहिले पनि भीड नै छन् । आशा गरौँ, जनता जनार्दन भएको दिन ल्याकत पर्याप्त भएका र नियत सफा भएका नेता आउँलान् ।
आखिर आशामै त जीवन छ !