Logo
Logo

उपत्यकामा बढाइएको ट्राफिक जरिवाना घट्ने


3.2k
Shares


काठमाडौं । ट्राफिक नियम उल्लंघनका १६ वटा कसुरमा पहिलोपटक नै एक हजार पाँच सय जरिवाना गराउन थालेको उपत्यका ट्राफिक प्रहरीले यससम्बन्धि प्रावधान संशोधन गर्ने भएको छ । त्यसविरुद्ध उजुरीहरू परेको र कानुनसँग नमिलेपछि जरिवानाको दर संशोधन गर्न लागिएको हो ।


यातायात व्यवस्था विभागले दिएको अधिकार प्रयोग गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत ३ पुसदेखि १६ वटा कसुरमा एक हजार पाँच सय जरिवाना हुने प्रावधान लागू गरेको थियो । त्यो प्रावधान सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ सँग बाझिएपछि संशोधन गर्न लागिएको हो । सो दफामा २० वटा कसुरमा सुरुमा पाँच सय, दोस्रो पटक एक हजार र तेस्रोपटक एक हजार पाँच सय जरिवाना गर्ने प्रावधान छ । अब त्यहीअनुसार जरिवाना प्रणाली लागू गर्न लागिएको छ । त्यसका लागि तयारी भइरहेको ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । ‘अहिलेलाई एक हजार पाँच सय नै जरिवाना छ,’ उनले भने,‘त्यसविरुद्ध उजुरी परेपछि हामीले ऐनअुनसार मिलाउन लागेका छौं ।’


२०७५ सालमा विभागले १६ वटा कसुरमा अधिकतम जरिवाना गर्न ट्राफिक प्रहरीलाई अधिकार प्रत्यायोजन गरेको थियो । सो प्रावधान हालै कार्यान्वायन भएपछि सर्वसाधरणले यातायात व्यवस्थापन विभागमा उजुरी गरेका थिए । सरोकारवालासँग छलफलपछि विभागले नै जरिवानासम्बन्धि प्रावधान संशोधन गर्न ट्राफिक प्रहरीलाई आग्रह गरेको स्रोत बताउँछ । ट्राफिक नियममा कडाई गरिएको यातायात व्यवसायी तथा मजदुरहरुले विरोध गर्दै आएका छन् । ट्राफिक प्रहरी अधिकारी भने ट्राफिक नियम पालना गराउन र दुर्घटना घटाउन कडाई गर्नुपर्ने बाध्यता रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्