काठमाडौं । सल्यान, कालिमाटी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय वडा नं. ७ स्थितमा आ.व. २०७७–०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत घुइयावारी (रिङरोड योजना) मुलसड्क विस्तार नाला सुधार तथा ग्रावेल योजनामा अनियमिततामा गाउँपालिका उपाध्यक्ष नसिल्ता वली डि.सीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कालिमाटी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर खत्री, इन्जिनियर टेक बहादुर के.सी. र योजना शाखा प्रमुख जयराम घर्तीले जिल्ला सल्यान कालिमाटी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय वडा नं. ७ मा निर्माण भएको घुइयावारी (रिङरोड योजना) मुल सड्क विस्तार, नाला सुधार तथा ग्रावेल योजनामा निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई पेश भएको झुट्टा बिल भरपाई स्वीकृत गरी भुक्तानीको लागि आदेश दिएर भ्रष्टाचार गरेका हुन् । कामदार तथा रोजगार उपभोक्ता समिति र प्राविधिकहरुको मिलिमतोमा झुट्टा बिल भरपाई र गलत कार्य सम्पन्न प्रतिवेदनकै आधारमा नभए नगरेको काममा समेत भए गरेको भनी झुट्टा बिल भरपाईसमेतका आधारमा अन्तिम भुक्तानीको लागि टिप्पणी पेश गरी बढी भुक्तानी दिने कार्य गरेको अख्तियारले जनाएको छ । उनीहरुलाई ५ लाख ६५ हजार बिगो कायम गरी मुद्दा दायर भएको छ ।
कालिमाटी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय सल्यानका तत्कालीन योजना अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक एवं कालिमाटी गाउँपालिका उपाध्यक्ष सनसिल्ता डि.सी., तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर खत्री, इन्जिनियर टेक बहादुर के.सी, योजना शाखा प्रमुख जयराम घर्ती, रोजगार संयोजक सुवाश वुढाथोकी, वडा नं. ७ का वडाअध्यक्ष नैन सिंह राना र सव–इन्जिनियर दिपेन्द्र बहादुर शाहीको हकमा जिल्ला सल्यान कालिमाटी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय वडा नं. ७ मा निर्माण भएको घुइयावारी (रिङरोड योजना) मुल सड्क विस्तार, नाला सुधार तथा ग्रावेल योजनामा बढी भुक्तानी भएको सरकारी रकम खाने मास्ने उद्देश्य लिई इस्टिमेट अनुसार काम सम्पन्न नभएको योजनालाई काम सम्पन्न भएको भनेर प्रतिवेदन दिएका थिए । कामदार तथा रोजगार उपभोक्ता समितिसँग मिलिमतो गरी भुक्तानीको लागि सिफारिस गरेको आयोगले जनाएको छ ।
साथै घुइयावारी (रिङरोड योजना) मुल सड्क विस्तार, नाला सुधार तथा ग्रावेल योजना रोजगार उपभोक्ता समितिका अध्यक्ष गणेश वुढा, सचिव कृष्णा सार्की र कोषाध्यक्ष गिता कुमारी वोहराले जिल्ला सल्यान कालिमाटी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय वडा नं. ७ मा निर्माण भएको घुइयावारी (रिङरोड योजना) मुल सड्क विस्तार, नाला सुधार तथा ग्रावेल योजनाको नापी किताव र कार्य सम्पन्न प्रतिवेदनमा उल्लेख भए अनुसारको नाप र परिमाणमा काम नभएको अबस्थामा इस्टिमेट बमोजिम काम भएको भन्ने निर्णय गराई भुक्तानीको लागि सिफारिससमेत गरी भ्रष्टाचार गरेकाले उनीहरुविरुद्ध समेत मुद्दा दायर भएको छ ।
मुद्दा खेप्ने उपमेयर डिसी एमाले नेतृ हुन् ।