काठमाडौं । भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका एक डिएसपी र दुई इन्सपेक्टरलाई कैद सजाय भएको छ । लाइसेन्स वितरणमा अनियमितता गरेको मुद्दामा बिशेष अदालतले दोषी ठहर गरेको छ ।
तत्कालिन डिएसपी नवराज थापा र इन्सपेक्टर मुरारी मिश्रलाई कैद सजाय भएको छ । उनीहरु उपत्यका ट्राफिकमा रहँदा
सवारी चालक अनुमतिपत्रको परीक्षाको परिणाम फेरबदल गरेको अभियोग थियो । दुवैलाई ६ महिना कैद र ८ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ । त्यस्तै एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कार्यालयका प्रमुख आनन्दकेशरी पोखरेललाई ८ महिना कैद र ९ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । उनले लाइसेन्सको ट्रायलमा फेल भएका तथा अनुपस्थित रहेकाहरुलाई पास गराएको, फेल भएको तीन महिना नपुग्दै पुनः ट्रायलमा समावेश गराएको तथा नयाँ लाइसेन्स बाँड्दा सरकारी राजस्व रकम समेत लिएका थिएनन् ।
शाखा अधिकृत राममणि पोखरेलका साथै शाखा अधिकृतहरु शम्भुप्रसाद थपलिाय र ईश्वरराज रेग्मीलाई ४÷४ महिना कैद र जनही ६ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । राजस्व चुहावट गरी राज्यलाई नोक्सान पु¥याएको तथा भ्रष्टााचार गरेको भन्दै विशेषमा ८ मंसिर २०७६ मा मुद्दा दायर भएको थियो ।
त्यस्तै लाइसेन्समै अनियमितता मुद्दामा तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठलाई ५ महिना कैद र ६ हजार रुपैयाँ जरिवानाको सजाय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ पुस २०७६ मा उनीविरुद्ध दर्ता गराएको थियो । यातायात व्यवस्था कार्यालय बुटवलमा परीक्षाको परिणाममा फेरबदल गरी उपसचिव पोखरेल र इन्सपेक्टर श्रेष्ठले मिलेमतोमा ७१ जनालाई उत्तीर्ण गराएको र लाइसेन्स दिएको आरोप उनीहरुमाथि थियो ।
दोषी ठहर भएका डिएसपी र इन्सपेक्टरहरु यसअघि नै निलम्बनमा परेका थिए ।