Logo
Logo

एउटा मीठो संयोग पछि


7k
Shares

…कविता सुनेपछि फेरि अर्को एउटा नौलो ठाउँमा पुगेको महसुस भयो । त्यो त एउटा मीठो संयोग मात्र थियो ।

जीवनयात्रामा थरिथरिका अप्ठ्यारा आउँदा रहेछन्– द्विविधा, अन्योल, किंकर्तव्यविमुढता आदिका रूपमा पनि ती प्रकट हुँदा रहेछन् । पार गरिसकेपछि– ‘यो सब केही हैन’ जस्तो लाग्छ । तर, भोगिरहेकै बेला भने निर्णयमा पुग्नका निम्ति झेल्नुपर्ने कठिनाइ चानचुने हुँदैन ।

विवाहपूर्वको यस्तो अवस्थाले पनि बेस्सरी नै टाउको दुखाउँदो रहेछ । एउटा कविताको पुल तरेर अर्को किनारमा पुग्दा केही फरक दृश्यहरु देख्नु अस्वाभाविक होइन । त्यो बेला मनमा चलेको हुरीबतासले आफूलाई त असर पार्ने नै भयो, पार्टीमा पनि खबर पुगिसकेकाले सम्बन्धित संगठक कामरेडले डाक्टरलाई छुट्टै बोलाएर अन्तर्वार्ता नै लिएछन्– प्रेम र विवाहका बारेमा ।

प्रेम र विवाहबारे आफ्नो धारणासमेत राख्दै उनले–‘अहिले मेरो मनमा उठेको भावलाई प्रेम नै भन्न त अझै मिल्दैन होला । प्रेमतिर उन्मुख ‘प्रिप्राइमरी’ आकर्षणको आभास भने भइरहेछ …’ डाक्टरले भन्दा ती संगठक सुरुमा त केही अचम्भित भएछन् । अनि–‘बेलैमा भेटेर कुरा स्पष्ट गर्नु राम्रो’ भनेर सुझाव मात्रै दिएनन्–‘…कि म नै यो कुरा पुर्याइदिउँ ?’ भनेर समेत सोधेछन् ।

अब, कुराकानीको अर्को अध्याय सुरु भयो– त्यसपछिको कुराकानी कविता सुनाएजस्तो सजिलो थिएन । कविता लेख्नुजस्तो सपनामा बगेर मात्रै पुग्दैनथ्यो । दुवैका जीवनको भोगाइ, इतिहास, पृष्ठभूमि बिल्कुलै फरक, एकदमै फरक परिवेशमा हुर्केका दुई प्राणी थियौँ हामी ।

हाम्रो मातृभाषा, संस्कृति, पारिवारिक धर्म परम्परा, आदि सबै फरक थिए । र अब एउटै गन्तव्यतिर मोडिनुपर्ने चुनौती दुवैलाई थियो । एकअर्काबारे अझै स्पष्ट हुनु आवश्यक थियो । त्यो बेलासम्म बिल्कुलै खाका नकोरिएको योजना, दिशा र गन्तव्यबारे सुस्पष्टता प्राप्त गर्नुपर्ने थियो ।

डाक्टरलाई त मेरो साँचो नाम थरसम्म पनि थाहा थिएन । भूमिगत नाम मात्र थाहा थियो । छोटो भेटघाटमा लामो कुराकानी सम्भव पनि थिएन । भूमिगत अनुशासनमा सक्कली नाम सोध्न मन लागेरै पनि सोध्न सकेनन् होला ।

मैले भने उनको सक्कली नाम मात्र होइन, उनको कर्म नै देखिसकेकी थिएँ र अझ विदेशमा हुँदाको उनको पृष्ठभूमिसमेत खोतल्न भ्याइसकेकी थिएँ । तर उनको परिवारको कुरा सोध्न भने बाँकी नै थियो । त्यतिबेलासम्म समाजमा जात–भातको कुरा अहिलेभन्दा कैयौँ गुना चर्को थियो । विवाह गरेरै बस्न सक्ने हो–होइन, यति ठूलो प्रश्न नै सिंगै बाँकी थियो ।

पार्टी पनि त नयाँ नै थियो– हामी दुवैका निम्ति ! उनी विदेशबाट फर्केकै पनि धेरै भएको थिएन । यता म पनि पुरानो संगठनबाट छुट्टिएर नयाँ पार्टीसम्म पुग्दा सानो खोल्सा नदीमा मिस्सिएको जस्तो भएको थियो । तर पनि मन ढुक्क हुनसकेको भने थिएन ।

मजदुर आन्दोलन हाँक्ने भूमिगत नेताहरुले हाँकेको गाडी एकपल्ट गुल्टेको देखिसकेकी थिएँ । पार्टीको दिशा अन्ततः कता उन्मुख हुने हो भन्ने अनिश्चितताको भय अझै थियो । जब आफ्नै जीवन साथी रोज्ने र निर्णय नै गर्नुपर्ने क्षणमा समेत पुगेँ, अग्निपरीक्षा जस्तै नै भयो फेरि ।

धन्न त्यो बेलाका सम्बन्धित पार्टी संगठक विवाहित र अनुभवीमात्र होइन, विवेकी र समझदार परेकोले यो विषयलाई अलि संवेदनशील नै भएर पछि आउनसक्ने सम्भावनाका कुरा पनि बेलैमा भनिदिए ।

जातीय संस्कारका कुरा, पार्टीभित्रै तह नमिलेको कुरा अनि व्यक्तिगत जीवनमा साना कमजोरीले पनि पार्न सक्ने दुष्प्रभावका सम्भावना आदिलाई लिएर एक दिन मसँग छुट्टै कुरा भयो । व्यक्तिगत सम्बन्धमा समेत मन पर्दैमा मात्र नपुग्ने र पार्टीभित्र जिम्मेवारीको तहको कुरा पनि महत्वपूर्ण रहेछ भन्ने कुरा त्यहीबेला थाहा पाएँ ।

मैले त नेताहरु खोजेकै पनि थिइन । विचार मिल्ने र काम गर्न रोक नलाग्ने होस् भन्ने मात्र थियो । बाँकी कुरा त जीवनले नै सिकाउँदै लाने हो भन्ने लाग्थ्यो ।

फेरि एक दिन यही विषयलाई केन्द्र बनाएर पुनः डाक्टरसँग छुट्टै भेट भयो– वास्तवमा यो पार्टीकै सुझावअनुसारको भेट थियो । विचार मिलेर मात्र पनि पुग्दैन । घरसँगको सम्बन्धको कुरामा के गर्ने भन्ने सवाल प्रत्यक्ष र व्यवहारिक प्रश्न थियो । मलाई स्पष्टै थाहा थियो, हाम्रो सम्बन्धलाई घरले स्वीकार्ने र स्वागत गर्ने छैन भन्ने कुरा । त्यही मानसिकतामा– ‘घरले स्वागत नगरे बाहिरै बस्नु पर्छ …।’

आफ्नो जातजोरीसँग हुन लागेको विवाह छोडेर अगाडि बढिसकेकी मेरो निम्ति आफ्नै जातसँग जोडिने बाध्यता पटक्कै थिएन । तर पनि निर्णयमा पुग्नु अगाडि, हाम्रो सम्बन्धमा फेरि पनि जातकै कारणले अप्ठेरो पर्ने हो कि भनेर डाक्टरसँग पुनः सिधै कुराकानी गरेँ ।

यसबारेमा उनी मभन्दा पनि बढी उदार देखिए । घरबारे सोध्दा– उनले बढी नै सकारात्मक भएर भने–‘मेरी आमा एक जना हाकिमकी श्रीमती भए पनि उहाँका औँलाहरु फुटेका छन् । उहाँको परिश्रम, सोच र माया…कति फराकिलो छ, गहिरो छ…’ आमाबारे यति धेरै सकारात्मक सोच त अरुमा देख्न भ्याएकी पनि थिइन । यो कुराले म अझै बढी प्रभावित भएँ ।

महिला समानता र करुणाको कुरा त आफुले देखिपनि सकेकोले केही भन्नु नै थिएन । ‘बुवा भने अलि कट्टर ब्राह्मण ‘अर्थोडक्स’ टाइपको हुनुहुन्छ…। सुरुमा अलि अप्ठेरो होला, पछि त सबै बानी पर्दै जानेछ नि…’ भनेपछि त सबै कुरा सहज लाग्यो ।

… तर यथार्थ उनले भनेजस्तो सजिलो थिएन । विवाहको कुरा अलिअलि हुन थालेपछि डाक्टरको घरमा त भुकम्प नै जान थालेछ । अब भने संघर्ष गर्ने पालो थियो उनकै । विवाह गर्ने उमेरको सक्षम डाक्टर र ठूलै हाकिमको छोरालाई केटी दिन आउनेहरुको कमि थिएन । यो अन्तरजातीय विवाहको कुरा अपाच्य हुने नै भयो ।

मेरो घरमा भने आमा मेरो विवाहको कुरा गर्दागर्दा थाकिसक्नु भएकोले ‘आफैले रुचाएको कुनै राम्रो मान्छेसँग विवाह मात्रै गरिदेओस्’ भन्ने मनस्थितिमा पुगिसकेकोले त्यति गाह्रो भएन ।

एउटा रमाइलो कुरा के भयो भने मेरो संघर्षका बारेमा थाहा भइसकेको डाक्टरलाई एकपल्ट मेरै आमासँग भेटेर कुरा गर्न मन लागेछ । बहिनी पूर्णलक्ष्मीलाई लिएर मलाई थाहा नै नदिई मेरो घरमा पुगेछन् । आमा छक्क पर्नु भएछ ! अलिअलि कुरा पनि सुनिसक्नु भएकोले अनुमान गर्न गाह्रो भएन आमालाई ।

घरमा म नभएको बेला आउने पाउनासँग रिसाउनु पनि भएनछ । हुनेवाला ज्वाइँलाई सत्कारपूर्वक चिया पनि ख्वाउनु भएछ । म घर पुग्दा त आफै छक्क परेँ । मलाई ‘सरप्राइज’ दिएको पो रहेछ– म नहुने समय हेरेर भविष्यकी सासूआमालाई भेट्ने आँट गरेका रहेछन् !

प्रतिक्रिया दिनुहोस्