शान्त र शालिन व्यक्तित्व नारायणदास मानन्धर त्यतिबेला झस्किए, जतिबेला उनको टेबुलमा नेपाल राष्ट्र बैंकको एउटा निर्देशन आयो । २०७६ साउन २० गतेको त्यो निर्देशनमा बैंक तथा वित्तीय संस्थाका कार्यकारी प्रमुखको उमेरहद तोकिएको थियो । त्यसो त उमेरले ७५ वर्ष टेकेका मानन्धरले एक वर्ष अगाडि नै बैंकको जागिर छाड्ने मनस्थिति बनाएका थिए । तर, सञ्चालक समितिले नमानेको कारण प्राइम बैंकमा उनी तेस्रोपटक कार्यकारी प्रमुख बन्न बाध्य भए । आफूखुशी नै राजीनामा दिने मनस्थिति बनाएका मानन्धरलाई राष्ट्र बैंकको उक्त निर्देशनले हलुको त बनायो, तर एकैपटक यस्तो निर्देशन किन जारी ग¥यो भनेर झनक्क रिस पनि उठ्यो ।
उनी भन्छन्, त्यसपछि बैंकका साथीहरुसँग सल्लाह भयो । अन्य बैंकका साथीहरुले पनि फोन गरे । यो त अन्याय भयो । बिनासूचना एकैपटक निर्देशन जारी गरेर कार्यकारी प्रमुख र अध्यक्षको उमेरहद तोक्नु त ठिक भएन नि भने । बैंकहरुको अनुगमन, नियमन गर्ने निकाय राष्ट्र बैंक भए पनि निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकको शाखा त होइन नि, न त कार्यकारी प्रमुख भनेको स्थायी कर्मचारी नै हुन् । कार्यकारी प्रमुख भनेको त ‘करार’मा नियुक्त गरिने अस्थायी कर्मचारी हुन् । तिनै अस्थायी कर्मचारीलाई पनि उमेरहद तोक्नु त ठिक भएन नि भने । धेरैले यस विषयमा अदालत जाने सल्लाह दिए ।
बैंकिङ क्षेत्रमा पाँच दशक लामो समय बिताएका मानन्धर पछिल्लो समय बैंकिङ क्षेत्रमा विकृति बढेको प्रति चिन्तित छन् । अस्वस्थ प्रतिस्पर्धाले बैंकिङ क्षेत्रलाई गाँजेको छ । क्षणिक फाइदाका लागि गरिने होडबाजीले बैंकिङ क्षेत्रको वातावरण धुमिल भएको उनी बताउँछन् । वल्ड बैंक, आईएमएफजस्ता वैदेशिक निकायको प्रभावमा सरकार, केन्द्रीय बैंक छ । उनीहरुको निर्देशनमा बैंकिङ क्षेत्र सञ्चालन गर्दा बैंकिङ क्षेत्र अस्थिर भएको छ । केन्द्रीय बैंकको काम नियमन भए पनि हरेक महिना नयाँ–नयाँ निर्देशन जारी गर्ने काम केन्द्रीय बैंकले गरेको छ । यस्तो निर्देशन बेला–बेला विवाद आउने गरेको छ । नीति, नियम नक्कल होइन, मौलिक बनाउनुपर्छ उनी भन्छन् ।
म सोझो मान्छे, ठिकै छ भनेर अदालत गएँ । अदालतले न्याय दियो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले गत साउन २८ गते अन्तरिम आदेश दिएपछि म पुनः कार्यकारी प्रमुखमा फर्किएँ मानन्धर भन्छन् ।
नेपाल राष्ट्र बैंकले एकैपटक यस्तो निर्देशन जारी गर्नु कत्तिको ठिक हो ? भन्ने हाम्रो प्रश्नको जवाफमा मानन्धर भन्छन्– केन्द्रीय बैंक हो । उसको निर्देशन हामीले मान्न बाध्य हुनुपर्छ । केन्द्रीय बैंकसँग निहुँ खोज्नु हुन्न । तर पनि बैंक तथा वित्तीय संस्थाहरुलाई दूरगामी असर पार्ने खालका निर्देशन गर्दा संविधान, ऐन, कानूनको पनि ख्याल गर्नुपर्छ । राष्ट्र बैंकले उमेरहदसम्बन्धी जारी गरेको निर्देशनले त्यतातिर ध्यान पु¥याएको देखिएन । सर्वोच्च अदालतको अन्तरिम आदेशमा पनि ‘संवैधानिक अधिकार नै कुण्ठित हुने गरी विपक्षीबाट भएको उक्त परिपत्रले निवेदकको मौलिक हकको प्रचलनमा अवरोध पुग्न गएको प्राथमिक रुपमा देखिन आयो’ भनिएको छ ।
जागिरे जीवनको ५० वर्ष बैंक तथा वित्तीय संस्थामा बिताएका मानन्धरले सुरुमा भूमिसुधार तथा बचत संस्थामा जागिर खाए । त्यो सहकारी संस्था कृषि विकास बैंकमा गाभिएपछि उनी पनि कृषि विकास बैंकमा कार्यरत भए । त्यसपछि वाणिज्य बैंकको कार्यकारी निर्देशकमा उनको नियुक्ति भयो । लुम्विनी बैंकको खराब अवस्था सुधार्न राष्ट्र बैंकले उनलाई जिम्मेवारी दियो । लुम्विनी बैंक सुधारेपछि उनलाई चुप लागेर बस्न दिएनन् । प्राइम बैंकको जिम्मा दिइयो । प्राइम बैंकको उनी संस्थापक कार्यकारी प्रमुख हुन् । बैंकिङ क्षेत्रमा लामो अनुभव सँगालेका कारणले पनि प्राइमका सञ्चालकहरुले पाका कार्यकारीलाई छाड्ने कुरा थिएन । साथीभाइले भनेपछि ‘हुन्न’ भन्न नसक्ने स्वभावका कारण प्राइममा उनले झण्डै १२ वर्ष बिताए । प्राइम बैंकमा अहिले ८७ अर्ब निक्षेप, ८१ अर्ब लगानी छ । ११२ वटा शाखा छन् । ४० प्रतिशत महिला कर्मचारी छन् ।
८५० जना कर्मचारीको नेतृत्व गरिरहेका मानन्धरले आफ्नो कार्यकक्षमा खप्तड बाबाको मूर्ति पनि राखेका छन् । २०२८ साल खप्तड बाबासँग भेटेपछि उनलाई जीवनको छुट्टै आनन्द आयो । त्यसैले खप्तड बाबाको मूर्तिलाई उनको अगाडिको दराजमा सजाइएको छ । जीवन भनेको सरल हुनुपर्दछ, स्वभाव भनेको शान्त हुनुपर्छ, दुःख सुख जीवनको साथी हो, त्यसमा रमाउनु पर्छ । दिमागमा नकारात्मक सोचलाई स्थान दिनु हुन्न । आफूसँग जे छ त्यसैमा सन्तोष गर्नुपर्छ मानन्धर भन्छन् । सायद, खप्तड बाबासँगको प्रभावले उनीमा यो सन्त स्वभाव आएको हुनुपर्छ । पेशाले जागिरे भए पनि स्वभावले उनी जोगी जस्तै छन् । कसैलाई चित्त दुखाउने स्वभाव उनीमा छैन । बैंकका उनी अभिभावकजस्ता छन् । उनको टेबुलमा बैंकको फाइल बोकेर आउने कर्मचारीलाई उनले परिवारकै सदस्यजस्तो व्यवहार गर्छन् । काम सिकाउँछन् । अनुभव बाँड्छन् । हौसला दिन्छन् । उनको कार्यकक्षमा पुग्दा हरेकले नयाँ ऊर्जा प्राप्त गरेको अनुभव हुन्छ ।
बैंकिङ क्षेत्रमा पाँच दशक लामो समय बिताएका मानन्धर पछिल्लो समय बैंकिङ क्षेत्रमा विकृति बढेको प्रति चिन्तित छन् । अस्वस्थ प्रतिस्पर्धाले बैंकिङ क्षेत्रलाई गाँजेको छ । क्षणिक फाइदाका लागि गरिने होडबाजीले बैंकिङ क्षेत्रको वातावरण धुमिल भएको उनी बताउँछन् । वल्ड बैंक, आईएमएफजस्ता वैदेशिक निकायको प्रभावमा सरकार, केन्द्रीय बैंक छ । उनीहरुको निर्देशनमा बैंकिङ क्षेत्र सञ्चालन गर्दा बैंकिङ क्षेत्र अस्थिर भएको छ । केन्द्रीय बैंकको काम नियमन भए पनि हरेक महिना नयाँ–नयाँ निर्देशन जारी गर्ने काम केन्द्रीय बैंकले गरेको छ । यस्तो निर्देशन बेला–बेला विवाद आउने गरेको छ । नीति, नियम नक्कल होइन, मौलिक बनाउनुपर्छ उनी भन्छन् ।
श्रीमती, एक छोरा, दुई छोरीका बुबा उमेरले ७५ वर्ष पुगे पनि जोश जाँगर १८ वर्षे युवाको भन्दा कम छैन । सकारात्मक सोचले नै उनलाई ऊर्जा दिएको छ । गरिबी हटाउन बैंकले धेरै काम गर्न सक्छ । तर, त्यतातिर बैंकहरु केन्द्रित नभएको उनको अनुभव छ । योग्यता, क्षमता, सीप भएर पनि काम नगरी बस्ने युवा जमात नेपालमा धेरै छ । त्यो जमातलाई संगठित गरेर उद्यमी बनाउनेतिर हामी लाग्नुपर्छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने भन्ने कुरा त्यति सजिलो छैन । त्यसका लागि गाउँगाउँमा पुगेका बैंक तथा वित्तीय संस्थाहरुले ती क्षेत्रका उत्पादन के–के हुन् भन्ने कुराको पहिचान गर्नुपर्छ । सीप भएकालाई उद्यमी बनाउन सहयोग गर्नुपर्छ । सीप भएकालाइृ उद्यमी बनाउन सहयोग गर्नुपर्छ । सीप नभएकालाई सीप दिएर सबल बनाउनुपर्छ । बैंकहरुलाई मुनाफा कमाउने संस्थाभन्दा पनि देश र जनताप्रति समर्पित संस्था बनाउनुपर्छ ।
यस्तो सकारात्मक सोच राख्ने मानन्धरले सुरुमा जिरीमा चौरी गाईपालन, ललितपुरका गाउँगाउँमा हस्तकलाका सामग्री निर्माण गर्न प्रोत्साहित गरेका छन् । मनकामना दर्शन गर्न आउने भक्तजनलाई फूलमाला, फलफूल र बोका, कुखुरा, हाँस, स्थानीय तहमै उत्पादन गर्ने कोसिस गरे पनि सफल नभएकोमा उनी दुःखी बनेका छन् । तर, स्थानीय उत्पादनलाई निरन्तर जोड दिँदै गयौँ भने सम्भव मात्र होइन, सफल हुने कुरामा उनी आशावादी छन् ।