परिवर्तनगामी कम्युनिष्टहरुले प्रतिक्रान्तिको कल्पनासमेत गर्नु हुँदैन । सोचीविचारी गरिएको विद्रोहको तागतले ठूला–ठूला राजा महाराजा, बादशाह ढलेको इतिहास छ ।
बेला–बेला कम्युनिष्ट पार्टीमा देखिएका उग्र भड्काव, आत्मकेन्द्रित चिन्तन, व्यक्ति केन्द्रित प्रवृत्ति भने सबभन्दा ठूलो रोग हो । इतिहास केलाउँदा विश्व कम्युनिष्ट आन्दोलनभित्र यस्ता प्रवृत्ति प्रशस्तै देखिने गरेका छन् ।
इतिहास पढ्दा सन् १८७१ को ‘कम्युन’ आन्दोलनमा यस्तै भड्काव देखिन्छ । प्रचारमा हेर्दा संसारभर कम्युन आन्दोलनले थुप्रै आशा र ऊर्जा जगाए पनि परिणाममा त्यो आन्दोलन भड्कावकै उपज थियो । त्यसैले त ७२ दिनमै कम्युन सत्ता ढल्यो ।
लहड, उत्तेजना, सनकमा गरिएका कामले यस्तै दुर्दशा निम्त्याउने गर्छ । कम्युन आन्दोलनबारे महान् दार्शनिक कार्लमाक्र्सले विमति जनाएका थिए । विद्रोहको वस्तुगत अवस्था ठीक छैन, पुँजीवादी सरकारका विरुद्धमा तत्काल धावा बोल्नु दुस्साहसवादी गल्ती हुन्छ, यसो नगरौं भन्दाभन्दै ब्लाँकीवादी र बाकुनिनवादीहरुले टेर्दै टेरेनन् । उनीहरु व्रिदोहमा होमिए । माक्र्सलाई यो कामको चित्त नबुझे पनि अन्ततः क्रान्तिप्रति नकरात्मक दृष्किोण राख्न हुँदैन भनेर समर्थन जनाए ।
कम्युन विद्रोहबाट संसारका क्रान्तिकारीले जति धेरै साहस बटुल्न सक्छन्, त्यसको उपलब्धि नियाल्दा उत्तिकै निरासा देखिन्छ । हजारौं मजदुरको कत्लेआम पार्ने काम प्रतिक्रान्तिका शासकहरुले गरे । समाजवादको बीउ रोप्ने फ्रान्समा क्रान्ति, पुनः प्रतिक्रान्ति, फेरि क्रान्ति, पुनः प्रतिक्रान्तिका थुप्रै उदाहरण छन् ।
विद्रोह अपरिपक्क ढंगले गर्न हुँदैन भन्ने शिक्षा विश्व कम्युनिष्ट आन्दोलनका विभिन्न घटना परिघटनाले देखाउँछ । तर सबै विद्रोह गलत पनि हुँदैन, सही पनि हुँदैनन् भन्ने उदाहरण प्रशस्त छन् ।
यहाँ उल्लेख गर्न खोजिएको प्रसंग पार्टी विद्रोहको हो । तत्कालीन नेकपा (एमाले) नेतृत्वमा देखिएको दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोह भयो । सात दशक लामो संघर्षपश्चात ल्याइएको संविधानलाई मास्ने, पटक–पटक संसद् विघटन गरेर अस्थिरता सिर्जना गर्न खोज्ने र पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले अंगीकार गरेका क्रान्तिका कार्यक्रम कुल्चिन खोजेपछि एमालेभित्र साँचो विद्रोह भएको हो ।
विद्रोह कुनै लहड र सनकमा भएको होइन । किनकि, एमाले अध्यक्ष केपी शर्मा ओलीका गतिविधिले त्यसको पुष्टि गर्छ । ओलीले चालेका गैरमाक्र्सवादी क्रियाकलापविरुद्ध २०७७ चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलाले दिएको म्याण्डेटअनुसार एमालेभित्र दुईलाइन संघर्ष चलेको थियो । ओली सच्चिएको खण्डमा पार्टी विभाजन नगर्ने, नसच्चिए सोच्नुपर्ने म्याण्डेट राष्ट्रिय कार्यकर्ता भेलाको थियो ।
एमालेका प्रभावशाली नेता र देशभरका कार्यकर्ता संलग्न भएको उक्त भेलाले ओलीविरुद्ध संगठनात्मकरुपले विद्रोह गरेको थियो भने, वैचारिक प्रश्न पनि उत्तिकै थिए ।
राष्ट्रिय कार्यकर्ता भेला भएको चार–पाँच महिनाको समयभित्र ओलीमा फिटिक्कै सुधार देखिएन । पार्टीभित्र विधि र प्रक्रियाको माग गर्ने नेताविरुद्ध ओली थप निरंकुश बन्दै गए । सिंगो एमाले सग्लो रहने स्थिति बनेन् । तर ओलीविरुद्धका हरेक संघर्षमा साथ दिँदै आएका केही नेताहरुमा एकाएक बदलाव देखियो । पार्टीमा विद्रोह जरुरी रहेको अवस्थामा तथाकथित १० भाइ ओलीसँग शरणमा परे ।
पार्टी विभाजनका लागि चाहिने कानुनतः ४० प्रतिशत संख्या पुगेन । आफ्नै नेताहरुले धोका दिँदा यो स्थिति बनेको हो । तर पनि कमरेड माधवकुमार नेपाल र झलनाथ खनालको अदम्य साहस र गाउँ–गाउँका कार्यकर्ताको सक्रिय साथले विद्रोहको बाटो तय भयो । विद्रोहबाट बनेको नेकपा (एकीकृत समाजवादी) नेपालको कम्युनिष्ट पार्टीको हैसियतमा तेस्रो र संसद्मा अंक गणितको हिसाबले चौथो पार्टी भयो ।
एमालेबाट विद्रोह गरी बनेको एकीकृत समाजवादीको यात्रा १६ महिनामात्र भएको छ । यो बीचमा स्थानीय तह, प्रदेश र संघका ठूला निर्वाचन भए । देशमा विद्यमान दलहरुबीच गठबन्धन भएर चुनाव भयो ।
चुनावबाट समाजवादीले आफ्नो शक्ति सञ्चय गर्न सफल भएको छ । नीति, सिद्धान्त र विधिका कुरा उठाएर भएको विद्रोहको पुष्टि गर्न समाजवादीलाई चुनौती भने छ । उत्तिकै कम्युनिष्ट आन्दोलनमा विद्रोहको स्वर्णिम इतिहास लेखाउने अवसर पनि छ । तर, कतिपय नेताहरुले पछिल्लो समय दिन थालेका अभिव्यक्ति निरासाका रेखा कोर्ने खालका छन् ।
एमालेभित्रका अनेकन अवसरलाई लत्याएर विद्रोहमा साथ दिएका कमरेडहरुलाई हौसला, साहस र आँट दिने बेलामा केही नेताबाट निरासा जगाउने क्रियाकलाप हुन थालेको छ । यसले समग्र पार्टी फुटको औचित्यमाथि गम्भीर प्रहार गर्ने पक्का छ । व्यक्तिगत स्वार्थ, सांसद, मन्त्रीजस्ता राजकीय सुविधा भोग गर्न नपाएको झोकमा पार्टी विद्रोहको नवीनतम अभ्यासमाथि गरिने तुषारापातलाई क्षमा दिन सकिँदैन ।
विद्रोह क्रान्तिकारीका लागि कर्णप्रिय शब्द हो । व्यक्तिमा यो शब्द सुन्दा जति ऊर्जा आउँछ त्यहीँ ऊर्जाले उसको व्यवहार बदल्छ । अनि व्यक्ति क्रान्तिमा होमिन्छ । जब मनै छुन नसक्ने शब्द छ भने कसरी शक्ति आउँछ र ?
समाजवादी पार्टी बनाउँदै गर्दा परिस्थितिको ठोस मूल्याङ्कन भएकै हो । एमालेमा कुनै सुधार आउँदैन भन्ने लागेकै हो । अन्तिम समयमा एमालेभित्र लत्रिएर गएका १० भाइमध्येका केहीको कन्त र हरिबिजोगले पनि धेरै कुराको पुष्टि गर्दछ । आँखै अगाडिको यो दृश्य नदेख्नु दृष्टोदोष छ भनेर बुझ्नुपर्छ ।
साँच्चिकै पार्टी विद्रोह भिरको डिलमा उभिएको छ । नेपालका पार्टीहरुको टुटफुटको शृङ्खला नियाल्दा फुट्नेहरु सकिएका प्रशस्तै उदाहरण छन् । ०४६ सालयता जति पार्टी फुटेका छन्, ती सकिएकै छन् । पटक–पटक पार्टी विभाजन भएका देखेका, भोगेका र सुनेका नेपाली जनताले एकीकृत समाजवादीको गठन प्रक्रियालाई पनि नजिकबाट नियालिरहेका छन् । यो नभुलौँ हिजो विद्रोह गर्न आँट, साहस र हौसला दिएका अनगिन्ती प्रयासहरु हाम्रो अनुभवमा छ ।
आफ्नै विगत नदेख्ने, भुल्ने र खाली स्वार्थ मात्र देख्ने सच्चा क्रान्तिकारी बन्न सक्दैनन् । खाली एक थान मन्त्रीका लागि समाजवादीसँगको आवद्धता हुँदै होइन । कार्लमाक्र्स कहिल्यै कुनै देशको राष्ट्रपति भएनन् । महात्मा गान्धीहरु कहिल्यै प्रधानमन्त्री भएनन् । मदन भण्डारी पनि कहिल्यै प्रधानमन्त्री, मन्त्री भएनन् ।
यो पनि भुल्न हुँदैन, पार्टी विभाजन केवल आत्मरतिका लागि मात्र हो । विचार, सिद्धान्त र माक्र्सवादी साहित्यमा जति पनि किताब लेख्ने, किताबमा मात्र क्रान्ति देख्ने तर काम फिटिक्कै नगर्ने । बढ्दा अवसरवादी र बढ्दा सिद्धान्तनिष्ठ पार्टी विभाजनमा दुवै घातक छन् । पार्टी निर्माणमा विचार, संगठन, नेतृत्व, मुद्दाहरु, राजनीतिक मूल्य, मान्यता र संस्कृति आदिको मिश्रण जरुरी छ ।
नेकपा (एस) बनाउने क्रममा गाउँगाउँ पुग्दा एउटा मात्र प्रश्न सुन्ने गरिन्थ्यो– पछि नेता मिलीहाल्छन् ! अहिले किन तपाईँतिर लाग्नु ? यो थाहा छ, फुटपछि नेपालका कम्युनिष्ट पार्टी कुनै सबल देखिएका छैनन् । यो जान्दाजान्दै विद्रोह त गरेकै हौं नि । हामी केही गर्न सक्छौं नै भनेर हाम्रो विद्रोह हो ।
फुट्नेहरु समाप्त भएको इतिहास
२०४६/४७ सालको जनआन्दोलनपश्चात् विभिन्न कम्युनिष्ट घटक मिलेर नेकपा (एकता केन्द्र) बन्यो । २०५१ को सशस्त्र विद्रोहको तयारी गर्दैगर्दा नारायणकाजी समूह छुट्टियो । यो समूह माओवादीमा सामेल भएन । पछि २०६५ मा पुगेर श्रेष्ठ समूह माओवादीसँग विलय भयो ।
२०५४ मा नेकपा एमालेमा विभाजनको रेखा कोरियो । विभाजनका हिसाबले यो ठूलो विभाजन थियो । केन्द्रदेखि गाउँ–गाउँसम्म विभाजन प्रभाव पर्यो । विभाजनको पुष्टि हुन नपाउँदै २०५८ मा आएर ठूलो समूह एमालेमा बिलायो । मालेको एक सानो समूह छ, जसको नेतृत्व सिपी मैनालीले अहिलेसम्म गरिरहेका छन् । उनी न अगाडि बढ्छन्, न कसैसँग मिल्न खोज्छन् ।
२०५९ मा नेपाली कांग्रेसमा विभाजन देखियो । शेरबहादुर देउवालाई गिरिजाप्रसाद कोइरालाले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेपछि देउवाले कांग्रेस फुटाले । नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाएका देउवा २०६४ मा कांग्रेसमा मिल्न पुगे । उनले खोलेको कांग्रेस प्रजातान्त्रिक सतहमै छैन ।
२०६९ सालमा देशको सबैभन्दा ठूलो दल एनेकपा (माओवादी) फुट्यो । मोहन वैद्य नेतृत्वमा फुटेको यो दलमा प्रभावशाली नेता थिए । वैद्य नेतृत्वको माओवादी पुनः २०७१ मा फुट्यो । नेत्रविक्रम चन्द्र ‘विप्लव’ले नेपाल कम्युनिष्ट पार्टी बनाए । वैद्यसँग भएका अधिकांश नेता प्रचण्ड नेतृत्वको माओवादीमा फर्किए । वैद्य माओवादीको खासै प्रभावकारी उपस्थिति देखिँदैन ।
२०७२ को संविधान जारी भएपश्चात बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति बनाए । यो दलले पनि प्रभाव छाड्न सकेन । मधेस केन्द्रित दलमा पनि विभाजनका रेखा कोरिए, तर फुटेका कुनै दल प्रभावकारी हुनसकेका छैनन्, फैलिन सकेका छैनन् ।
पार्टी फुटको ताजा इतिहास रहँदारहँदै २०७८ मा एमालेबाट विद्रोह गरी निर्माण भएको नेकपा (एकीकृत समाजवादी)प्रति धेरैको आशंका छ । समाजवादीले विद्रोहको पुष्टि गर्न जरुरी छ ।
अरु दलको फुटभन्दा एकीकृत समाजवादीको फुटमा अन्तर देखिन्छ । कुनै पनि फुटेका दल सायद निर्वाचनमा अस्तित्वमा आउन सकेका थिएनन् । विद्रोहपश्चात समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेको छ । यो संख्या संसद्को चौथो ठूलो संख्या हो । उत्तिकै मात्रामा प्रदेश सांसद जितेको छ भने, पोखरा महानगरपालिकाको मेयर समाजजादीले जितेको छ । हेटौँडाजस्तो उपमहानगरपालिकाको नेतृत्व पनि समाजवादी कै छ ।
नेपाली समाजको चरित्र फेरिएको छ । क्रान्तिको बाटो फेरिएको छ । पुँजीवादी जनवादी क्रान्ति सकिएर मुलुक समाजवादी क्रान्तिको दिशातिर अगाडि बढेको छ । समाजवादीले यसको अगुवाइ गर्ने बलियो आधार छ ।
राजनीतिक परिर्वतन भए पनि आर्थिक, सामाजिक परिवर्तन हुन नसक्दा पुराना दलहरूप्रति आम मतदाता खुसी छैनन् । यी मतदाताको मन जित्ने अपार सम्भावना पनि समाजवादीलाई छ ।
समाजवाद चाहने शक्तिसँग धु्रवीकरण गरी ठूलो शक्ति बनाउने सम्भावना पनि देखिन्छ । यी बीचमा तीन कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा समाहित भइसकेका छन् ।
राजनीतिमा विचार, संगठन, समाजको चरित्रको अगुवाइ गर्ने अनेकन सम्भावना रहँदारहँदै पनि समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न सकेन भने पार्टीभित्र मौलाउँदो अराजकता, भ्रष्टीकरण, व्यक्ति केन्द्रित निर्णय, तानशाही प्रवृत्तिविरुद्ध कसैले विद्रोहको आँट गर्न सक्ने छैनन् ।
गलत रवैयाका विरुद्ध विद्रोह जरुरी छ र यसको सुरुवात एकीकृत समाजवादीले गरेको हो भन्ने आगामी पुस्तालाई सिकाउनका लागि पनि विद्रोहको पुष्टि गर्नैपर्ने दबाब छ ।