एजेन्सी । इरानले आफ्नो देशको रक्षा मन्त्रालयका निम्ति कुनै समय काम गरेका एकजना पूर्वमन्त्रीलाई बेलायतका लागि जासुसी गरेको अभियोगमा मृत्युदण्ड दिइएको बताएको छ । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा मृत्युदण्डको विरोध भए पनि इरानले उनलाई मृत्युदण्ड दिएको हो ।
इरान र बेलायतको दोहोरो नागरिकता लिएका भूतपूर्व रक्षा उपमन्त्री अलीरेजा अकबरीलाई बेलायतको गुप्तचर संस्था एमआई-६ का निम्ति जासुसी गरेकाले हालै फाँसी दिएको शनिबार घोषणा गरेको हो ।
गत बुधबार अकबरीको परिवारलाई उनलाई भेट्न कारागारमा जान भनिएको तथा उनका श्रीमतीले एकान्त कारागारमा आफ्ना पतिलाई सारिएको बताएका थिए । अकबरीलाई तीन वर्षअघि पक्राउ गरिएको थियो । जासुसीको आरोपमा उनलाई दोषी ठहर गरिएको थियो तर सबै आरोपको उनले अस्वीकार गरेका थिए ।
बेलायतले इरानलाई मृत्युदण्ड रोक्न तथा उनलाई तत्काल रिहा गर्न आग्रह गरेको थियो । बेलायतका विदेशमन्त्री जेम्स क्लिभरलीले मृत्युदण्डको सजाय मानव जीवनलाई पूर्णरूपमा बेवास्ता गर्ने बर्बर शासनद्वारा राजनीतिकरूपमा प्रेरित काम भएको टिप्पणी गरेका छन् ।
अमेरिकाले पनि इरानको उक्त कदमको आलोचना गरेको छ । अकबरीमाथि लगाइएको आरोप र मृत्युदण्डको सजायलाई ‘राजनीतिकरूपमा प्रेरित’ भन्दै हिरासतमा यातना दिएर आरोप स्वीकार गर्न बाध्य पारिएका खबरले चिन्तित तुल्याएको बताएको छ ।