Logo
Logo

किसान नेता अब संगठनको होइन, उत्पादनको नुमना बन्नुपर्छ


- केपी शर्मा ओली

0
Shares

– केपी शर्मा ओली

देशमा ठूलो राजनीतिक परिवर्तन भएको छ । दुई हिसाबले राजनीतिक परिवर्तन भएको छ । एकातिर हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं । यत्ति भन्दा कति परिवर्तन भएको छ यी शब्दहरु भित्र हामी बुझ्न सक्छौं । निरङ्कुशतन्त्र, निरङ्कुश राजतन्त्र, सामन्ती राजनीतिक प्रणाली त्यसलाई हामीले फालेका छौं । तर, सङघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं । यो लामो बलिदानपूर्ण संर्घषको परिणाम हो । यसले ठूलो परिवर्तन देशमा ल्याएको छ । तर, यो मात्र परिवर्तन देशमा आएको होइन । नेपालमा एउटा नयाँ ढंगको विश्वमै नयाँ प्रकारको कम्युनिष्ट आन्दोलनले, वामपन्थी आन्दोलनले समयानुकूुल बाटो लिएको छ । र, त्यो बाटोले सफलता प्राप्त गरेको छ ।

व्यवस्था परिवर्तन सँगसँंगै यहाँ, प्रणाली परिवर्तन सँगसँगै यहाँ स्पष्टतः मानव जातिको न्याय र समानतायुक्त, न्याय र समानतायुक्त सुरक्षित, सम्मानपूर्वक त्यस्तो समाज । जुन समाज समृद्ध पनि होस् । अर्थात् समाजवादी प्रणालीतर्फ लोककल्याणकारी राज्यका अवधारणाअनुसार केही मान्छे धनी हुने, केही मान्छे फेरि गरिबै हुने, केही मान्छे घरबिहीन, रोजगारीबिहीन, आम्दानीबिहीन, अवसरबिहीन गरिबै हुने, अभावग्रस्तै जिन्दगी बिताउनु पर्ने र केही मान्छेहरुले अकुत सम्पति कमाउने र त्यस अकुत सम्पति कमाएको बाट देश कति माथि पुग्यो भनेर धनीहरुको सम्पति जोडेर प्रतिव्यक्ति सरदर आम्दानी राष्ट्रिय समग्र उत्पादनसँग जोडिने तर, समाजको एउटा हिस्सा भोकै पर्ने त्यस्तो प्रणाली होइन । सिंगै समाजलाई उठाउने, सिंगै समाज सम्पन्न हुने प्रणाली हामीले लिएका छौं ।

यस प्रणालीमा जानका लागि कम्युनिष्ट पार्टीको नेतृत्व चाहिन्छ । कम्युनिष्ट पार्टीले सही ढंगले नेतृत्व, सही विचारका साथ सशक्त संगठन, गतिशील संगठन मार्फत एकताबद्ध र अनुशासित संगठन मार्फत सही नीतिहरुका साथ देशलाई अगाडि बढाउने काममा अगुवाई र नेतृत्व गर्नुपर्छ । र, शान्तिपूर्ण ढंगले चुनावको माध्यमबाट जनताको मन जितेर सरकारमा जान सकिन्छ र देशको हितको पक्षमा राष्ट्रियतालाई मजबुत गर्न, राष्ट्रिय स्वाभिमानलाई माथि उठाउन, राष्ट्रिय स्वाधीनताको वास्तविक अर्थमा प्रयोग गर्न सकिन्छ । त्यसैगरी विकासका अभियानलाई जनताको हितका पक्षमा, समन्यायिक पक्षमा अगाडि बढाउन सकिन्छ भनेर हामीले त्यस ढंगले आन्दोलनलाई अगाडि बढायौं ।

यहाँहरुलाई थाहा छ, दुनियाँमा कम्युनिष्ट आन्दोलन जतिबेला अप्ठ्यारोमा थियो । त्यसबेला हामीले दुनियाँमा कम्युनिष्ट आन्दोलन समाप्त हुन लागेका बेला ठिक नीतिका साथ कम्युनिष्ट आन्दोलनलाई अगाडि बढायौं, जोगायौं र आज सफलतामा पु¥यायौं ।

कम्युनिष्टहरु झगडा गर्न जान्दछन्, फुट्न जान्दछन् भन्ने अवस्थाबाट देशको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनायौं । अहिले हाम्रो देशमा कायम रहेको निर्वाचन प्रणालीबाट बहुमत प्राप्त गर्न सजिलो छैन्, साह्रै कठिन छ । यो बहुमत आउँने प्रणाली होइन । यो देशमा अस्थिरता आउने खालको प्रणाली हो , यसमा सजिलोसँग बहुमत आउँदैन । तर, जे भएपनि हामीले सुदृढ बहुमतसहितको सरकार कायम गरेका छौं । हामीसँग सुदृढ बहुमत छ ।

आज संघीय संसद्मा ६४ प्रतिशत बहुमतमा हाम्रो पार्टी एक्लै छ । सातमध्ये छ वटामा हामीले प्रदेश सरकार सुदृढ सरकार बनाएका छौं । कमजोर रहेको प्रदेश २ मा पनि हामी प्रमुख शक्तिको रुपमा छौं र हामी विकासका संकल्पहरु लिएर अगाडि बढिरहेका छौं ।

पार्टीको एकीकरण भइसकेपछि पनि त्यसलाई तलसम्म पु¥याउँन ढिला भयो । विभिन्न कारणले एकता र एकीकरणको प्रक्रिया ढिला हुँदा हाम्रा थुप्रै कामहरुमा गतिरोध उत्पन्न भयो । र हामी आलोचित हुने स्थति पनि बन्यो । तर अब हामीले एकता, एकीकरणको प्रक्रियालाई टुङ्ग्याएका छौं र अब पार्टीलाई गतिशील ढंगले अगाडि बढाउनुपर्छ । कतिपय कारणहरुले हामीले सरकारले गर्नुपर्ने, पहिले नै गरिसक्नु पर्ने कामहरु पनि केही पर सारेका छौं । त्यसको लागि समय लाग्ने होइन, तर हामी गर्छाैँ । देशको परिस्थिति र यस परिस्थिलाई उपयुक्त ढंगले अगाडि बढाइन्छ ।

हामी देशको अर्थतन्त्रलाई, देशको सामाजिक व्यवस्थालाई सुशासन र विकासको बाटोमा तीव्रताका साथ अगाडि बढाउन चाहन्छौं । विकासको बाटोमा अगाडि बढाउँन चाहन्छौं भने झण्डै दुईतिहाइ जनसंख्या कृषिमा आधारित छ । कृषिको उत्पादनलाई नबढाइकन र बढाएपनि राष्ट्रिय उत्पादनको अंशको रुपमा कृषिको योगदान कमै हुन्छ । किनभने हामी उद्योग, व्यापार, पर्यटन र सेवाका क्षेत्रहरुलाई अगाडि बढाउँछौं । ती क्षेत्रहरुले ठूलो अंश ओगट्छन । तर अब हामी कृषिलाई यसैगरी पछाडि परिरहन दिन सक्दैनौं । त्यसकारण प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम हामीले अगाडि बढाउन खोजेका छौं । तर, हामीसँग भएको संयन्त्र, हाम्रा विज्ञहरुको अध्ययन, अब हामीले गर्न खोजेको कुरा तपाईंहरुले अध्ययन गर्नुभएको होला । त्यसकारण अब नयाँ प्रविधिका साथ उत्पादनका क्षेत्रमा प्रविधिको प्रयोग गर्दै अगाडि बढ्नु पर्ने । र, कुनै पनि ठाउँ, कुनै पनि समय केही पनि खेर जान नदिनु पर्ने सदुपयोगको सिद्धान्तः जमिनको सदुपयोग । कुनै जमिनको कुनै टुक्रो खाली नरहोस्, अनुत्पादक नरहोस् । हाम्रो कुनै समय, कुनै शक्ति, कुनै सामथ्र्य अनुत्पादक र खेर जाने नहोस् । सबैको सदुपयोग गरेर हामी अगाडि जान सकौं । र, कृषिको आधुनिकीकरणका साथ अगाडि जान सकौं । जमिनलाई सकेसम्म अब चाक्लाबन्दी वा सामुहिक खेती जसबाट एकै प्रकारको एक ठाउँमा ठूलो मात्राको उत्पादन हुन सकोस् । नत्र भने हामी निर्यात पनि गर्न सक्दैनौँ, उत्पादन वृद्धि पनि गर्न सक्दैनौँ । ठूलो मात्रामा उत्पादन भएपछि तद्नुसार त्यहाँ प्राविधिक सहायता प्राप्त गर्ने यी सबै काम पनि हामी गर्न सक्छौँ । समयमा मलखाद होस् । उन्नत जातको विउविजन, त्यसमा रोगव्यादीको रोकथाम अथवा त्यसको नस्ल सुधार आदिका कुराहरु स–साना स्तरमा हुँदा खेरी त्यो गर्न सकिदैन । जब ठूलोस्तरमा हामी खेती गर्न थाल्छौँ, तब मात्रै हामी ति कामहरु गर्न सक्छौँ । त्यसकारण हामीले अबको कृषि सहकारीमार्फत भएपनि अथवा आफू आफू मिलेर भएपनि बाली चाहिँ एउटै लगाउने खालको प्रणालीमा जानुपर्छ । एक ठाउँमा एउटा बाली, एउटा गाउँपालिका एउटा बाली अथवा एक कमसेकम हजार, दुई हजार विघा, १० –२० हजार रोपनी, कमसेकम एउटा बाली होस् । त्यसो गर्दा खेरी त्यसलाई बजार पाइएन भन्ने समस्या हुँदैन । दुई डोका कुनै चिज उत्पादन गरेको छ भने कहाँ पु¥याएर बेच्ने ? समस्या हुन्छ । तर, २ ट्रक भयो भने बजार पाउने समस्या हुँदैन । त्यसले बजार पाउन सक्छ । २ सय ट्रक भयो भने त्यसले विदेशमा बजार पाउँछ र त्यसको राम्रो आम्दानी हुन्छ । त्यसकारण हामीले एक ठाउँमा एउटा बाली र चाक्लाबन्दीको हिसाबले जान जरुरी छ ।

हामी अब विभिन्न स्थानहरुमा कृषिसम्बन्धी विज्ञहरु रहेको तालिम केन्द्रहरु वा अहिलेको प्रविधि किसानहरुलाई सिकाउने र त्यस अनुसारको खेती गर्ने गर्नुपर्छ । किसानका खेतहरुमा गएर प्राविधिकहरुले प्राविधिक पढाई पनि कृषिको खेतमा, किसानको खेतमा गएर गर्ने र प्राविधिकहरुका प्रयोग पनि किसानका खेतमा गएर गर्ने सोचेका छौँ । त्यस प्रकारको विधि मार्फत किसानको चेतना पनि आधुनिकीकरण गर्ने कृषिसम्बन्धी र प्रविधि पनि सिकाउनुपर्छ । यी सबै कामहरुको पनि योजना हामी गरिरहेका छौँ । र, त्यस अनुसार हामी, हामीले सुरु गर्दा खेरी नै गत वर्ष कृषिमा ६ प्रतिशत भन्दा बढी समग्रतामा उत्पादन वृद्धि गरेका छौँ । गत वर्ष हामाीले धान उत्पादनमा ९ प्रतिशत वृद्धि गरेका छौँ । यस वर्ष सुरुमा पानी नपरेर अलिकति धान जस्ता उत्पादनहरुमा केही प्रतिकुलता थपिएको छ । तर पनि मलाई के विश्वास छ भने, हामी जुन ढंगले अगाडि बढिरहेका छौँ, यसले यस वर्षको उत्पादनमा पनि राम्रै वृद्धि हुने छ र आगामी वर्षका लागि हामीले अरु योजनाहरु बनाउने र गम्भीर ढंगले काम अगाडि बढाउने कोसिस गरिरहेका छौँ ।

हामीले कृषिमा अनुदान राहत उपलब्ध गराई रहेका छौँ–सरकारको तर्फबाट । फेरि पनि सरकारले कृषि औजार या मलखाद इत्यादीमा अनुदानको नीति कायमै राख्नेछ । तर, सम्पूर्ण अनुदानमा मात्रै वितरण गर्न सम्भव हुँदैन । किनभने त्यसलाई सन्तुलन पनि राख्नु प¥यो अरु क्षेत्रमा पनि ।

हिजो मात्रै पनि हामीले छलफल ग¥यौँ । ऊखुमा हामी प्रतिक्वीन्टल ६५ रुपैँया अनुदान पनि दिइराखेका छौँ । धान गहुँ भन्दा बढी उत्पादन हुन्छ र बढी लाभ हुन्छ भनेरै उखुमा लगानी गरिएको हो । धान खेती वा अरु खेतीहरु धान, गहुँ, मकै खेतीमा प्रतिविघा ८ हजार अनुदान जाने गरेको छ । मलखाद समेत ८ हजार अनुदान जाने गरेको छ । ऊखुमा प्रतिबिघा २० हजार भन्दा बढी अनुदान जाने गरेको छ । थप ६५ रुपैया भन्दा बढी, प्रतिक्विइन्टल अनुदान दिने गरिएको छ । तैपनि त्यसमा समस्या छ, घाटा छ । यो विचित्रको भएको छ ! नाफा हुन्छ भनेर कृषिमा धानबाली, गहुँ अरु नगरेर ऊखुमा जाने, ऊखुलाई २० हजार प्रतिबिघा अनुदान दिने, तैपनि नपुगेर ६५ रुपैया प्रतिक्विइन्टल अनुदान दिने, तैपनि भएन सधै घाटा ! समस्यै समस्याग्रस्त हो भने हामीले ऊखुखेती तर्फ अलिकति सावधानी हुनु पर्ने हुन्छ । हामीले यसको लेखाजोखा हामी गर्दैछौँ । कति जमिनमा हामीलाई चिनी कति चाहिने हो ? त्यसका लागि कति बिघा जमिनमा ऊखु उत्पादन गर्ने, लगाउने हो ? र कति ऊखु लगाउँदा त्यसको प्रतिफल कति हुन्छ ? कृषिसँग, अरु क्षेत्रसँग तुलना गरेर त्यसमा सुविधा–सौलिहियत दिने कुरा हुन सक्छ । अब अहिले त एक ढंगले भन्ने हो भने ऊखुँ बढी उत्पादक, बढी उत्पादन दिने क्षेत्र मानिन्छ । तर, त्यहाँ सरकारको लगानी अन्यत्र भन्दा धेरै बढी छ । जे होस् हामी यस्ता नगदे बालीहरु तर्फ ध्यान नदिने होइन, ध्यान दिन्छाँै । र कृषिमा सबभन्दा मुख्य कुरा जीवनसँग सम्बन्धित, जीवन निर्वाहसँग सम्बन्धित कृषिलाई आत्मनिर्भरताको बाटोमा लाने त्यो काम हामी गर्छौँ ।

अर्को–कृषिलाई केबल उत्पान बढाउने जस्तो भए पनि होइन । खाली खान पुग्ने र खान पु¥याउने मात्रै होइन । स्वस्थ्य रहनका लागि स्वस्थ्यकर खाने कुरा ( विषादीयुक्त होइन, मिसावटयुक्त, पेस्टीसाईटको अत्यन्त अत्याधिक प्रयोग गरिएको विषादीयुक्त खानेकुरा होइन) । हामीले स्वच्छ खानेकुरा, स्वस्थ्य खानुपर्छ, जसले स्वास्थ्यका लागि राम्रो सकारात्मक भूमिका खेल्न सकोस् । खाना खायो, त्यो अनेक प्रकारका विषादीयुक्त छ र स्वास्थ्यका लागि हितकर छैन भने त्यसले अनेक रोगव्यादी जन्माउँछ । सस्तो किनेर खायो भने पनि त्यसले पछि औषधि उपचार र अरु कुराहरुमा खर्च हुँदा त्यो भन्दा बढी महंगो पर्छ । त्यसकारण हामी स्वस्थ्यकर खानातर्फ अबको ध्यान जानुपर्छ । हाम्रा बालबालिकाहरुलाई कुनै पनि हालतमा अस्वस्थ्यकर खाना बच्चैदेखि उनीहरुले अस्वस्थ्यकर खाना खान नपरोस् । जसबाट उनीहरुको शारीरिक, मानसिक वृद्धि र विकासमा व्यवधान नपुगोस् भन्ने कुरामा पनि हामीले ध्यान दिन्छौँ । यो सबै कुरा हामीले किसानहरुलाई सचेत गराउनु, किसानहरुलाई सजग गराउनु आवश्यक छ । सँगसँगै कृषि बजारका निम्ति हामीले जिल्ला जिल्लामा, सदरमुकाममा अथवा प्रमुख बजारमा कृषि बजार केन्द्र यस्ता विभिन्न स्थापना गरिरहेका छौँ । बजारहरु र थोक बजारहरु स्थापना गरिरहेका छौँ । यो क्रमलाई हामी अझ अगाडि बढाउछौँ । जसबाट किसानले आफूले उत्पादन गरेको चिज विक्री वितरण गर्न पाइएन अथवा खेर जाओस् भन्ने स्थिति नहोस् । त्यसकारण स्वस्थ्य उत्पादन वृद्धि, उत्पादन र उत्पादकत्व वृद्धि, बजारको व्यवस्था, प्राविधिक सहायता र बिउ–बिजन, मलखाद आदिको समयमा र समुचित ढंगले उपलब्धता जस्ता कुराहरुमा सरकारको ध्यान गएको छ र यहाँहरुलाई थाहा छ, म आफै हलो जोतेर, कोदालो खनेर खेती गरेर आएको मान्छे भएको हुनाले कृषिसम्बन्धी मलाई थाहा पनि छ । मैले आफैले मकै धान देखि लिएर सागसब्जी देखि लिएर सबै लगाएको पनि छु । त्यस कारण कृषिको समस्या के हो ? किसानहरुका समस्या के हुन् ? यसका निम्ति सिँचाईका प्रवन्धहरु कसरी अत्यधिक कृषियोग्य जमिनमा जहाँ सिंचाइ सम्भव छ ? नयाँनयाँ प्रविधिहरुको समेत प्रयोग गरेर र जहाँ सिंचाइ सम्भव छैन त्यहाँ थोरै पानीले बढी फल्ने खालका त्यस्तो प्रकारका जातहरुको विकास वा अन्यत्रबाट पनि त्यस्तो जातका बिउ बिजनहरु ल्याएर त्यो लगाउँने खालका कुराहरु र हामीले अरु कसरी सदुपयोग गर्ने जमिन ? भन्ने विभिन्न ठाउँबाट एक आपसमा पनि सिक्न जरुरी छ ।

कतिवटा जिल्लाहरुले सानो ठाउँबाट धेरै लाभ लिइरहेका छन् । इलामले सबभन्दा बढी संघन ढंगले जमिनको प्रयोग गरेको देखिन्छ । इलामले अलिकति कान्नो पायो भने त्यहाँ इस्कुस लगाएर त्यसबाटै प्रशस्तै फाइदा लिएको छ, लाभ लिएको हुन्छ । अलिकति भीर देख्यो भने त्यसमा अम्रिसो लगाएर त्यसबाट लाभ लिएको हुन्छ । अलिकति सम्म पायो भने आलु लगाएको हुन्छ । खेत पायो भने धान लगाएको हुन्छ । भैँसी, गाई केही पाल्न पायो भने त्यो पनि गरिराखेको हुन्छ । जे लगाउन सकिन्छ त्यहाँ, त्यो चिजहरु उसले गरेको हुन्छ र जमिन खेर जान नदिने, हरेक जमिनको सदुपयोग गर्ने गरेको हुन्छ । सायद, नेपालमा सबभन्दा गरिबी कम भएको जिल्ला इलाम नै होला । इलाममा खान लाउनै नपाउने भन्ने त्यस्तो गरिब र त्यस्तो गरिबी छैन किन भने त्यहाँ जनतामा जागरण छ र जमिनको सदुपयोग गरिएको छ । मान्छेले त्यसो भएपछि रोगजारी पनि प्राप्त गर्छ । कुनै न कुनै हिसाबले रोजगारी प्राप्त गर्छ, आम्दानी बढाउँछ र हामीले त्यसैगरी समय, जमिन, साधन, स्रोतहरुको सदुपयोग गर्नुपर्दछ । जसले रोजगारीका अवसरहरु सिर्जना गर्छ । जसले आम्दानीका बाटाहरु बनाउँछ जसबाट हामी बालबालिकाहरुको शिक्षादेखि लिएर ज्येष्ठ नागरिकहरुको हेरविचारसम्म गर्न सक्ने अवस्थामा हुन्छौँ । त्यसकारण कृषिको आधुनिकीकरण अत्यन्त महत्वपूर्ण विषय हो र यसको नेतृत्व गर्ने तपाई साथीहरुले नै हो ।

तपाईहरुले किसान संगठनमा संगठित भइयो भनेर बस्ने होइन । तपाईँहरु नमुना किसान हुनुपर्छ । तपाईको बारीमा धेरै घोगा मकै फल्नुपर्छ । अलिक ठूलो घोगा मकै फल्न पर्छ । अलिक झपक्क खुर्सानी फल्न पर्छ । झपक्क टमाटर फल्नु पर्छ । ठूलै टमाटर फल्नु पर्छ । तपाईका धानका बालाहरुभन्दा झपक्क लामा र धेरै दाना फलेका हुनु पर्छ । कसरी लगाउने भन्ने ? त्यो तपाईले सिक्नु पर्छ । सब्जिको तपाईकोमा कुनै अभाव हुनु हुँदैन । त्यो सिजन अनुसार के लगाउन सकिन्छ ? त्यो नमुना किसान, किसान नेताहरुले नमुना किसान हुनुपर्छ । संगठनको नमुना होइन, उत्पादनको नुमना बन्नुपर्छ तपाईँहरु । संगठनको नमुना पनि तपाईहरु हुनुपर्छ । तर संगठनको नमुना मात्रै होइन, किसान नेता भनेको उत्पादनको नमुना हुनु पर्दछ । त्यस कारण म यहाँहरुलाई आग्रह गर्न चाहन्छु, उत्पादनको नमुना बन्ने प्रयास गर्नुस् । मेरो शुभकामना पनि छ, उत्पादनको लागि नमुना बन्ने काम गर्नुस् ।

हामी एउटा नयाँ चरणमा कम्युनिस्ट पार्टीले नेतृत्व गरेर देश बनाउने अभियानमा जुटिरहेको, कम्युनिस्ट पार्टीको अगुवाइमै ठूलो परिवर्तनभन्दा पछिको समयमा हामी छौँ । यस समयमा हाम्रो काधमा गहन जिम्मेवारी छ । चुनौतीहरु पनि छन् । तर, ती चुनौतीहरुको हामी सामाना गर्न सक्छौँ र हाम्रा लागि जनताले जुन विश्वास गरेर दिएको छ त्यस अनुसार सालिनताका साथ त्यस विश्वासलाई हामीले लिएका छौँ र हामी आफ्नो जिम्मेवारी त्यसै गरी अगाडि बढाउछौँ ।

म स्थानीय तहहरुसँग मिलेर, स्थानीय तहका जनप्रतिनिधिसँग मिलेर, जनप्रतिनिधि र स्थानीय तहका पार्टी कार्यकर्तासँग मिलेर, सबैसँग मिलेर विकासको अभियानलाई अगाडि बढाउन सबै साथीहरुलाई आग्रह गर्छु र यस काममा सफलता मिलोस् भनेर हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । फेरि एक पल्ट तपाईहरु सबैलाई बधाई र धन्यवाद भन्न चाहन्छु ।

(सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज ८ असोज, २०७६ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासंघको प्रथम केन्द्रीय कमिटीको बैठक तथा सपथ ग्रहण समारोहमा व्यक्त गर्नुभएको विचार )

प्रतिक्रिया दिनुहोस्